दोहोरो नागरिकता भएका नेता झा एमाओवादीमा

Ramchandra_Jhaकाठमाडौं, २५ चैत । नेपाल र भारतको दोहोरो नागरिकता बोकिरहेका एमाले नेता तथा पूर्वमन्त्री रामचन्द्र एमाओवादीमा प्रवेश गरेका छन् । शनिबार अध्यक्ष पुष्पकमल दाहालले उनलाई स्वागत गरे ।

स्रोतका अनुसार झाको भारतीय मतदाता सूचीमा समेत नाम छ । भारतीय कानुन अनुसार नागरिकता भएको व्यक्तिको मात्रै मतदाता सूचीमा नाम रहने गर्छ । झन्डै अढाइ दशकदेखि नेपाली वामपन्थी राजनीतिमा सक्रिय झाको भारत मधुवनी जिल्ला, हरखाली करणा पञ्चायतको मतदाता सूचीमा नाम छ । मतदाता नामावलीमा उनको नाम क्रम संख्या ४ सय ७६ मा रहेको स्रोतको दाबी छ ।
नेता झासित भारतीय नागरिकता पनि कायमै छ । उनले मधुवनी जिल्लाबाट नागरिकता लिएका थिए । भारतीय नागरिकता त्याग गरेको बताउँदै उनले २४ वर्षअघि धनुषा जिल्लाबाट वंशजका आधारमा नेपाली नागरिकता लिएका थिए । भारतीय मतदाता नामावलीमा नाम रहेका कारण उनको दोहोरो नागरिकता पनि कायमै रहेको पुष्टी हुन्छ ।
‘अझै पनि भारतीय मतदाताको नामावलीमा उनको नाम समावेश छ भने उनी भारतीय नागरिक भएको ठहर्छ, भारतको कानुनअनुसार भारतीय नागरिकको नाम मात्र मतदाता नामावलीमा समावेश हुने व्यवस्था छ’, अधिवक्ता गोविन्द बन्दीले भने । ५ चैत ०४५ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको झाको नेपाली नागरिकता नम्बर ५६१४२२०५ हो ।
झा नेपाली राजनीतिज्ञ भए पनि उनी भारतीय नागरिक भएको जिकिर गर्दै सर्वाेच्च अदालतमा रिट समेत दायर भएको छ । ३ माघ ०६५ मा दायर भएको रिटमा झा भारतीय नागरिक भएको जिकिर गरिएको थियो । त्यसबारे बुझ्न सर्वाेच्चले धनुषा जिल्ला प्रशासन कार्यालयसित लिखित जवाफ मागेको थियो । जिल्ला प्रशासनले झा नेपाली नागरिक भएको दाबी गर्दै सर्वाेच्चलाई जवाफ दिएको थियो । जिल्ला प्रशासनको जवाफमा झा नेपाली नागरिक भएको बताइए पनि उनले भारतीय नागरिकता त्याग गरे/नगरेको भने खुलाइएको थिएन ।
गत २९ भदौमा न्यायाधीश भरतराज उप्रेती र भरतबहादुर कार्कीको संयुक्त इजलासले धनुषा जिल्ला प्रशासन कार्यालयको लिखित जवाफमा असन्तुष्टी जनाउँदै सक्कली फाइल पेस गर्न आदेश दिएको थियो । साथै झालाई नागरिकताका विषयमा बुझ्न अदालतमा उपस्थित हुन आदेश पनि दिएको थियो । अदालतको आदेश अनुसार झा उपस्थित पनि भइसकेका छन् ।
झाका बाबु पुलकित झाले भारत मधुवनीबाट विवाह गरेपछि उनी पनि भारतमा बस्दै आएका थिए । नेपाली नागरिकता त्याग गरी उनका बाबु पुलकितले भारतीय नागरिकता दिएको दाबी रिटमा गरिएको थियो । देवचन्द्र यादवले झा र उनका भाइ मदनचन्द्रलाई वंशजका आधारमा नेपाली नागरिकता दिँदा उनका बाबु भारतीय नागरिक भएको जिकिर गरेका थिए ।
झाको स्वागतमा गएनन् एमाओवादीका मधेसी नेता
गत साता एमाले परित्याग गरेका नेता रामचन्द्र झा शनिबार एमाओवादीमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा झा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको हातबाट टीका र माला लगाएर उक्त पार्टीमा प्रवेश गरेका हुन् ।
एमाओवादी प्रवेशका क्रममा झाले आफू काममै प्रतिस्पर्धा गरेर देखाउन एमाओवादीमा लागेको बताए । राजनीतिमा सानो उदार चित्तले काम गर्नुपर्ने उल्लेख गर्दै उनले आफ्नो प्रवेशबाट असन्तुष्ट रहेका एमाओवादी नेतालाई आफूलाई प्रतिस्पर्धामा पराजित गर्न चेतावनीसमेत दिए । झाको प्रवेशबाट एमाओवादीका असन्तुष्ट मधेसी नेता भने प्रवेश कार्यक्रममा उपस्थित भएनन् । झालाई पार्टी प्रवेश गराउने कार्यक्रममा पुगेका केन्द्रीय सदस्य तथा गत चुनावमा झासँग धनुषा १ मा पराजित भएका श्रवण यादव मञ्चमा प्रवेशै गरेनन् । दाहाललगायत नेताले पटक–पटक आग्रह गर्दा पनि मञ्चमा नगएका यादव कार्यालय परिसरको चउरमै बसेका थिए । झाको प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य प्रभु साह र रामरिझन यादव पनि उपस्थित भएनन् । झाले राजनीति छोटो चित्तले नचल्ने बताएका थिए । असन्तुष्ट एमाओवादीका मधेसी नेताप्रति लक्षित गर्दै झाले भने, ‘क्षमता छ भने मसँग प्रतिस्पर्धा गरेर अगाडि बढ्नुस्, म काममा प्रतिस्पर्धा गर्न आएको हुँ । मसँग काममा प्रतिस्पर्धा गरे हुन्छ ।’

प्रतिक्रिया