दैवी शक्तिले गर्दा मलमुत्र खुवाएको दाबी

news photo 2 kailali 24

धनगढी, २४ चैत । कैलालीको बेलादेवीपुर गाविस वडा नम्वर ८, घुर्सुवामा बोक्साबोक्सीको आरोपमा बृद्धालाई निर्घात कुटपिट गर्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
कैलाली प्रहरीले आज पत्रकार सम्मेलनमा गरेर कुटपिटमा संलग्न स्थानीय २७ वर्षीया निरा राना र ३२ वर्षीया रामकुमारी रानालाई सार्वजनिक गरेको हो । घटनामा संलग्न निराका पति मुन्नी भनिने रामसिंह राना र धर्मसिंह राना फरार छन् ।
फरार दुबैको खोजी कार्य जारी भइरहेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले जानकारी दिए । घटनाबारे ढिलो थाहा पाएको बताएका उनले भने, ‘सूचना पाउना साथै पीडित महिलाको उद्धार गरेका हौं ।’
घरमा सुतिरहेकी ६० वर्षीया राजकुमारी रानालाई शुक्रबार घरबाहिर निकालेर अमानवीय तरिकाले कुटपिट भएको थियो । उनको कपाल मुण्डन गर्नुका साथै गुप्ताङगमा लठ्ठी कोचेर मलमूत्र खुवाई निर्बस्त्र बनाईएको प्रहरी भनाई छ ।
यसैगरी, ६० वर्षीय बन्दी रानालाई गाउँकै भलमन्सामा कुरा मिलाउन लागिरहेका बेला पनि निर्घात कुटपिट भएको थियो । राजकुमारीलाई लठ्ठीका साथै चप्पलले समेत कुटपिट भएको प्रहरीले उल्लेख गरेको छ ।
दुई वर्षअघि पनि निराले आफ्नो छोरालाई जन्मिने बित्तिकै राजकुमारीले बोक्सो लगाएर मारेको भन्दै कुटपिट गरेकी थिइन् । त्यतिबेला सो घटना भलमन्साले गाउँमै मिलाएका थिए ।
घाइते राजकुमारीको अवस्था गम्भीर रहेकाले बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । घाईतेको उपचार खर्च सरकारले ब्यहोर्ने प्रहरीले जनाएको छ ।
निरा र रामकुमारीले आफूहरुमा दैबी शक्ति प्रवेश गरे पछि राजकुमारीलाई कुटपिट गरेर मलमूत्र खुवाएको दाबी गरेका छन् । जानाजान नभई दैबी शक्तिका कारण सो घटना भएको भन्दै उनीहरुले माफीको माग गरेका छन् ।

प्रतिक्रिया