बोक्सी आरोपमा दिसा खुवाइयो, गुप्तांगमा लठ्ठीले घोचियो

boधनगढी, २४ चैत । बोक्सीको आरोपमा कैलालीकी एक थारू महिलालाई क्रूर यातना दिइएको छ । उनलाई निर्वस्त्र बनाएर गुप्तांगमा लठ्ठीले घोच्ने र दिसा खुवाउनुका साथै निर्घात कुटपिट गरिएको छ । धनगढीस्थित सेती अञ्चल अस्पतालमा उनी जीवन–मरणको दोसाँधमा छिन् ।

धनगढी नगरपालिसँगै जोडिएको बेलादेवीपुर गाविस–८ घोडसुवाकी ६५ वर्षीया राजकुमारी रानालाई बोक्सीको आरोपमा निर्मम यातना दिइएको हो । छिमेकी वडा नम्बर ७ घर भएकी २४ वर्षीया नीरा राना, वडा नम्बर ८ की २८ वर्षीया रामकुमारी राना र रामसिंह रानाले उनलाई दिसा खुवाएर निर्वस्त्र बनाई यातना दिएका हुन् ।
नीराले ८/९ वर्षअघि आफ्नो छोरालाई बोक्सी लगाएर मारेको आरोप राजकुमारीलाई लगाएकी छिन् । शुक्रबार बिहान काप्दै घरमा आएकी नीराले राजकुमारीलाई कुटपिट गर्न सुरु गरेकी थिइन् । ‘यो बोक्सी हो, यसलाई मार्नुपर्छ’ भन्दै उनलाई रामकुमारी र रामसिंहले पनि साथ दिएका थिए । राजकुमारीका घरका सदस्यलाई ‘बचाउन आए ज्यान मार्ने’ धम्की उनीहरूले दिएका थिए । दर्शक बनेका छिमेकीले पनि राजकुमारीको उद्धार गरेनन् ।
सुरुमा कुटपिट गर्दै उनीहरूले राजकुमारीलाई मुण्डन गरे । त्यसपछि लगाएका लुगा खोलेर सर्वांग बनाए । अनि, दिसा खुवाउनुका साथै गुप्तांगमा लठ्ठीसमेत कोचे । राजकुमारी मरेको ठानेर मात्रै उनीहरूले छाडे । धम्कीका कारण आफूहरू मूकदर्शक बनेर बसेको राजकुमारीका छोरा दलबहादुरले बताए ।
‘गाउँमा बोक्सी छ, आज यसलाई मार्नुपर्छ भन्दै गाउँलेहरूलाई घरघरबाट बाहिर आउन आग्रह गरेर नीरा हाम्रा घर आइन् । सबैको अगाडि उनले वृद्ध आमालाई एकोहोरो निर्घात कुटिरहेको दृश्य हेरेर बस्न म बाध्य भएँ । आमालाई नपिट्न र बचाउन आग्रह गर्दा उल्टै बोक्सीलाई बचाउन खोज्ने भन्दै मलाई पनि आमाकै जस्तो हालत बनाइदिने धम्की दिए,’ दलबहादुरले भने । दुई वर्षअघि पनि नीराले आफ्नी आमालाई बोक्सी भन्दै कुटपिट गरेको उनले बताए । त्यतिबेलाको घटना गाउँकै भलमन्सा(थारू समुदायको पञ्चायत)मा मिलाएको थियो ।
दिसा खुवाएर कुटपिट गरिएकी राजकुमारीको शरीरभर नीलडाम छ भने अनुहार सुन्निएको छ । कुटपिटबाट उनका माथिल्ला दाँत भाँचिएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार ‘यो बोक्सी हो, यसलाई गाउँबाट निकाल्नुपर्छ’ भन्दै उनीहरूले राजकुमारीको गुप्तांगमा लठ्ठी कोचे । जसका कारण उनको गुप्तांगबाट रगत बगिरहेको छ ।
सेती अञ्चल अस्पतालका अनुसार राजकुमारीको गुप्तांग र मुखबाट रगत बगिरहेको छ । यद्यपि, उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । अस्पतालको बेडमा निक्कै सकस गरेर बोलेकी राजकुमारीले कुटपिट गर्दै लुगासमेत फुकालेर आफूलाई मुण्डन गरिएको र त्यसपछि दिसा खुवाउँदै थप कुटपिट गरिएको बताइन् ।
शुक्रबारको घटना पनि गाउँकै भलमन्सा बसेर मिलाउने प्रयास भइरहेको थियो । तर, प्रहरी टोली घटनास्थल पुगेर घाइतेको उद्धार गर्नुका साथै नीरा र रामकुमारीलाई पक्राउ गरेको छ । घटनामा संलग्न रामसिंह भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भलमन्साको रोहबरमा घटनालाई मिलाउने तयारी भइरहेका बेला नीरा फेरि काँपेर सोही ठाउँका ६० वर्षीय बन्दी रानालाई पनि बोक्सो हो भन्दै कुटपिट गरेकी थिइन् । कुटपिटबाट बन्दीको टाउको र दायाँ हातमा गम्भीर चोट लागेको छ । बन्दीको पनि सेती अञ्चल अस्पतालमै उपचार भइरहेको छ । बोक्सीको आरोपमा अमानवीय घटना भएको भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने कैलाली प्रहरीका सहप्रवक्ता प्रहरी निरीक्षक कुलदीप चन्दले बताए ।
जिल्लास्थित अधिकारकर्मीले एक्काइसौँ शताब्दीमा पनि कथित बोक्साबोक्सीको आरोपमा दिसा खुवाई कुटपिट हुनु मानवकलंक भएको बताएका छन् । उनीहरूले घटनामा संलग्न र रमिते बनेर घटनालाई प्रश्रय दिनेलाई कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया