तस्करीमा संलग्न एसएसपी श्रेष्ठ बर्खास्त

SSPकाठमाडौं, २४ चैत । सरकारले विदेशी मुद्रा तस्करीमा संलग्न देखिएका नेपाल प्रहरीका एसएसपी रविराज श्रेष्ठलाई बर्खास्त गरेको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रबार एसएसपी श्रेष्ठलाई सरकारी नोकरीमा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको हो । फ्लाई दुबई एयरवेजबाट १ करोड २४ लाख मूल्यबराबर विभिन्न मुलुकका मुद्रा एसएसपी श्रेष्ठकै निर्देशनमा तस्करी भएको पुष्टि भएपछि उनी बर्खास्तीमा परेका हुन् । भारतीय नागरिक विनोदकुमार सोनी १९ असोजमा तस्करी गर्न लागेको रकमसहित पक्राउ परेपछि प्रहरीले श्रेष्ठमाथि अनुसन्धान गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षागार्डका सह–प्रमुखसमेत रहेका श्रेष्ठमाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआइजी भिष्म प्रसाईंको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । केही दिनको अनुसन्धानपछि नै समितिले मुद्रा तस्करीमा श्रेष्ठको संलग्नता रहेको प्रतिवेदन प्रहरी महानिरीक्षक कुवेरसिंह रानासमक्ष बुझाएको थियो । प्रतिवेदनमा हवल्दार शोभित कार्की र असई हीराकाजी कुमालको पनि संलग्नता रहेको उल्लेख छ । हवल्दार कार्की श्रेष्ठका सवारीचालक हुन् भने असई कुमाल कार्यालय सहयोगी हुन् ।
मुद्रा तस्करीमा पक्राउ परेका कार्की र कुमालले सबै काम श्रेष्ठकै निर्देशनमा भएको बयान दिएका थिए । प्रारम्भिक बयानमै पोलिएपछि प्रहरीले श्रेष्ठ र तस्कर सोनीबीचको सम्बन्धबारे अनुसन्धान गरेको थियो । टेलिफोन डिटेल्सका आधारमा श्रेष्ठले नै कार्कीलाई उक्त मुद्रा विमानस्थलभित्र लैजान आदेश दिएको र सोनीसँग उनको टेलिफोन सम्पर्क रहेको प्रमाण भेटिएको थियो । अनुसन्धानमा प्रभाव पर्ने देखिएपछि श्रेष्ठलाई तत्काल प्रधान कार्यालयस्थित जगेडापुलमा तानिएको थियो । घटनामा श्रेष्ठको संलग्नता रहेको प्रमाण भेटिँदै गएपछि प्रधान कार्यालयले तीन महिनाका लागि निलम्बन नै गरेको थियो ।
अनुसन्धानका क्रममा उनले उक्त रकम सुन तस्करीका लागि पठाएको खुलेको थियो । प्रहरीका अनुसार उक्त रकम हुन्डीका कारोबारी मुरारी गोयल जमालिया र पवन अग्रवालको हो । जमालिया दरबारमार्गमा इसुबिसी सुन पसलका सञ्चालक हुन् । अग्रवालको महाबौद्धस्थित इलेक्ट्रोनिक सामानको पसल छ । उनीहरूले लामो समयदेखि नेपालमा संकलित विदेशी मुद्रा दुबई पठाउने र त्यहाँबाट सुन तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
उनीहरूको उक्त काममा श्रेष्ठले सघाउने गरेका थिए । प्रहरी निरीक्षकदेखि एसएसपी हुँदासम्म चारपटक त्रिभुवन विमानस्थलस्थिल सुरक्षागार्डमा पुगेका उनले १०औँ पटक सोही तबरले मुद्रा तस्करी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
यसरी भएको थियो तस्करी
एसएसपी श्रेष्ठका सवारीचालक कार्की विदेशी मुद्रा बन्डल ‘कम्ब्याट ड्रेस’भित्र लुकाई विमानस्थलभित्र साँझ ६ बजे प्रवेश गरेका थिए । ‘डोमेस्टिक’ उडानतर्फको गेटबाट विमानस्थल छिरेका उनी सिधै अन्तर्राष्ट्रिय उडानतर्फको ‘स्टेराइल’ हलतर्फ अघि बढेका थिए ।
प्रहरी पोसाकमा रहेका कारण उनलाई सुरक्षाकर्मीले वास्ता गरेनन् । उनी सरासर ‘स्टेराइल’ हलमा प्रवेश गरे । दायाँबायाँ चलाखीपूर्वक हेरे । उनी हलकै केही बाहिर रहेको ‘ट्वाइलेट’भित्र साझ ६:११ मा छिरे । त्यसको २ मिनेटअघि अर्थात् ६:०९ मा भारतीय नागरिक विनोदकुमार सोनी पनि सोही ‘ट्वाइलेट’मा प्रवेश गरिसकेका थिए । केही बरेपछि कार्की ट्वाइलेटबाट ‘स्टेराइल’ हल हँुदै बाहिरिएलगतै सोनी पनि कालो झोला लिएर बाहिरिएका थिए ।
विमानस्थलको पाँचवटा चेकजाँच प्वाइन्ट छलेर पुर्‍याइएको उक्त रकम सोनीले दुबई जान ठिक्क परेको विमानभित्र लगे । आफू बस्ने सिटनजिकै राखे र आफू पनि आनन्दपूर्वक सिटमा बसे । उड्ने तयारी हुँदै गरेको बेला विमानभित्र बम रहेको हल्ला फैलियो । सुरक्षाकर्मी विमानभित्र प्रवेश गरे । यात्रुलाई उतारियो । विमानभित्रको प्रत्येक लगेज चेक गरियो । प्रहरीले विमानभित्र बम त फेला पारेन तर तस्करका लागि ठिक्क पारिएको १ करोड २४ लाख मूल्य बराबरको विदेशी मुद्राचाहिँ भेट्यो । कार्टुन टेपले पेपरमा बेरी बन्डल बनाइएको बरामद रकम युरो ४४ लाख ४९ हजार तीन सय ९०, कतारी रियाल १२ लाख ७२ हजार तीन सय ५९, साउदी अरबियन रियाल ४० लाख ४७ हजार आठ सय, युनाइटेड अरब रियाल ४ लाख १५ हजार पाँच सय १०, ब्रिटिस पाउन्ड ६ लाख ५२ हजार ६ सय ३७, ओमानी रियाल ८१ हजार ८ सय, कुबेती रियाल ५ लाख ६६ हजार सय, बहराइन दिनार ८१ हजार गरी १ करोड २३ लाख ४० हजार तीन सय ८९ थियो ।

प्रतिक्रिया