थ्रिडी भिजिलान्ते र किसान

deepshikha-khadkaकाठमाडौं : नेपाली दर्शकले आज शुक्रबारबाट दुई नयाँ चलचित्र हेर्न पाउने भएका छन् । ती हुन्, भिजिलान्ते र किसान । अघिल्लो साता ‘नाइन ओ क्लक’ र ‘अल्झेछ क्यार पछ्यौरी’ प्रदर्शनमा आएका थिए तर यी दुबै चलचित्रको व्यवसाय सन्तोषजनक रहेन । ‘भिजिलान्ते’को निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् भने किसानका निर्देशक हुन् विमल पौडेल ।
‘भिजिलान्ते’ नेपालमा बनेको पहिलो थ्रिडी चलचित्र हो । विदेशी मुलुकमा धेरै अघि प्रयोग भएको थ्रिडी प्रविधि यसै चलचित्रमार्फत नेपाल भित्रिएको छ । फरक शैलीका चलचित्र खेजिरहेका नेपाली दर्शकका लागि ‘भिजिलान्ते’ एउटा नयाँ स्वाद हुनेछ’, निर्देशक दीपेन्द्र के खनालले भने । विदेशी मुलुकमा व्यवसाय ओरालो लागेको समयमा भित्रिएका यस्ता थ्रिडी चलचित्रले व्यवसायलाई सुधारेका उदाहरणहरू प्रशस्त भेटिन्छन् । ‘भिजिलान्ते’ले पनि ओरालो लागेको हाम्रो देशको चलचित्र व्यवसायलाई उकास्ने उनले दाबी गरे । चलचित्रको व्यवसाय सुध्रिए चलचित्रक्षेत्रमा आºनो एउटा छुट्टै योगदान हुने उनले बताए । दि युगदेखि युगसम्मबाट निर्देशनको क्षेत्रमा पाइला बढाएका खनालले यस अघि बनाएको चलचित्र ‘चपली हाइट’ पनि सफल भएको थियो ।
समाजमा रहेका कुरीति र दण्डहीनताका विषयलाई चलचित्रमा मनोवैज्ञानिक ढंगले प्रस्तुत गरिएको छ । लामो अध्ययनपछि मात्र यो चलचित्रमा निर्देशकले थ्रिडी प्रविधिको प्रयोग गरेका हुन् ।
प्रियंका कार्की, राज घिमिरे, दीपशिखा शाही, मेनुका प्रधान, शंकर आचार्यलगायतका कलाकारको अभिनय चलचित्रमा छ । शान बस्नेतको कथा, पुरुषोत्तम प्रधानको छायांकन , सूर्य थोकरको द्वन्द्व, भुप्रन्द्र खड्काको गीत र सुरेश राईको संगीत यसमा समावेश छ । क्युएफक्स र एफक्युब लगायतका हलमा थ्रिडी प्रविधि र थ्रिडी प्रविधि नभएका हलमा चलचित्र टुडीमा प्रदर्शनमा आउने छ । क्युएफक्स र एफक्युबका हलमा चलचित्र हेर्न दर्शकले हिन्दी चलचित्र हेरेजस्तो अनुभूति लिनसक्ने निर्देशक खनालले बताए ।
‘भिजिलान्ते’ नेपालमै निर्मित पहिलो थ्रिडी चलचित्र भएकाले यसले राम्रो व्यवसाय गर्ने विश्वास निर्माणपक्षले लिएको छ । चलचित्रका प्रचार–प्रसारका लागि चलचित्र–युनिटले देश–दौडाहालगायत कुनै कसुर बाँकी राखेको छैन ।
केही दिनअघि पत्रकारमाझ यसको विशेष प्रर्दशनसमेत गरिएको थियो । उक्त सो हेर्न अधिकांश दर्शकले चलचित्रमा प्रयोग गरिएको थ्रिडी सफल भएको टिप्पणी समेत गरेका थिए ।
समाजमा विद्यमान कुरीति र दण्डहीनताको विषयलाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको छ । त्यस्तै ‘किसान’ चलचित्रमा किसानकै सुख–दु:खलाई विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । सामूहिक कृिषप्रणाली, एउटै विचारधाराका किसानसमूह र उनीहरूले आºना उत्पादनको विक्रीका लागि कल्पना गरेको बजार आदि विषयहरू चलचित्रमा समाविष्ट छन् । किसानलाई जागरुक र अन्यलाई सचेत गराउने उद्देश्यले ‘किसान’ बनाएको निर्देशक विमल पौडेलले बताए ।
चलचित्रले प्रदर्शनको दुई दिनअघि बुधबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गरेको थियो । कार्यक्रममा कलाकारहरू मौसमी मल्ल ,राजेश हमाल ,रमेश बुढाथोकीलगायतले किसानको अभिनय आºना लागि नौलो अनुभव भएको बताए । उनीहरूले चलचित्रमा देशप्रेमको पूर्ण भावना भेटिने तर्क पनि राखे ।
चलचित्रमा अभिनेता हमालले देशका कृषकहरूको आवाजलाई प्रतिनिधित्व गरेका छन् । चलचित्रमा हमालका अलावा नीर शाह, नन्दिता के.सी, नीता ढुंगाना, निर्देशक पौडेल, मौसमी मल्ल ,रमेश बुढाथोकी आदिको मुख्य भूमिकामा अभिनय रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व र चेतन सापकोटाको संगीत यसमा समेटिएको छ । चलचित्रको अधिकांश छायांकन चितवनमा गरिएको छ ।

प्रतिक्रिया