चौथो इपिएस भाषा परीक्षाको तयारी

सोल, २३ चैत । कोरिया सरकारले नेपालका लागि चौथो इपिएस भाषा परीक्षा सेप्टेम्बरमा गर्ने तयारी गरेको छ । केही दिनभित्रै सूचना सार्वजनिक गरिने मानव संसाधन विकास संस्था (एचआरडी) ले जनाएको छ ।

साना तथा घरेलु उद्योग, कृषि तथा पशुपालन, मत्स्य, कन्स्ट्रक्सन र सेवा क्षेत्रका लागि एकैपल्ट परीक्षा सञ्चालन गर्ने तयारी गरेको एचआरडी कोरियाका सहायक प्रबन्धक किम हो यनले जानकारी दिए । उनका अनुसार सबै तयारी पूरा भएपछि चाँडै परीक्षा आवेदन खुलाइने छ । परीक्षामा उत्पादन मुलक क्षेत्र र कृषि तथा पशुपालन र अन्य क्षेत्रमा कति–कति उत्तीर्ण गराउने भन्ने संख्या भने तोकिएको छैन ।
इपिएस भाषा परीक्षा पास गरी श्रम संझौताको प्रतिक्षामा रहेका नेपाली कामदारका लागि आउँदो अप्रिल पहिलो साताबाट पुन: श्रम संझौता आउने भएको छ । कोरिया सरकारले यो वर्षका लागि छुट्याएको पहिलो चरणको कोटा समाप्त भएपछि दोस्रो चरणका लागि नयाँ कोटा वितरण गर्ने पनि जनाएको छ । श्रमले यो वर्षका लागि वितरण गरेको दोस्रो चरणका लागि १३ हजार तीन सय ५० कोटा छुट्याएको छ । जसमध्ये औद्योगिक उत्पादन क्षेत्रका लागि ११ हजार तीन सय, कृषि तथा पशुपालन क्षेत्रका लागि १४ सय र मत्स्यपालन क्षेत्रका लागि ६ सय ५० कोटा रहेका छन । वितरित कोटा इपिएस लागू भएका १५ वटै देशको लागि हो । सन् २०१३ का लागि वितरण गरेको ६२ हजार कोटा मध्ये पहिलो चरणको १७ हजार ६ सय ५० कोटा केही साताअघि समाप्त भएको हो ।
कोरियाका साना तथा मझौला घरेलु उद्योगमा आप्रवाशी कामदारको माग वृद्धि भएको भन्दै रोजगार तथा श्रम मन्त्रालयले सो कोटाबाट २०१२ मानै ६ हजार कोटा वितरण गरेको थियो । बाँकी ४६ हजार कोटा निर्धारण समितिले गत जनवरीमा चार चरणमा प्रदान गरिसकेको छ ।
मन्त्रालयको तालिका अनुसार तेस्रो चरणका लागि जुलाईबाट वितरण हुनेछ । जसमा उत्पादनमुलक क्षेत्रका लागि ७ हजार ५ सय कोटा निर्धारण गरेको छ भने अन्तिम चरणको कोटा अक्टोबरबाट वितरण हुनेछ । अन्तिम चरणमा कृषि तथा पशुपालन, मत्स्यपालन, कन्स्ट्रक्सन र सेवा क्षेत्रमा कोटा छुट्याएको छैन । मन्त्रालयले मुलुकको आर्थिक अवस्था र आन्तरिक श्रम बजारको मूल्यांकनको आधारमा कोटा निर्धारण गर्दछ ।
इपिएसका अनुसार ०६८ साउनमा लिइएको तेस्रो भाषा परीक्षा पास गरेका १५ हजार ६ सय ७८ मध्ये हालसम्म ७ हजार २ सयको श्रम सम्झौता भइसकेको छ । बाँकी ७ हजार ५ सयमध्ये यसवर्ष पाँच हजार नौ सय नेपाली कामदार कोरिया ल्याइने मानव संसाधन विकास(एचआडी)ले जनाएको छ । एकपल्ट भाषा परीक्षा उत्तीर्ण परिक्षार्थी रोजगारका लागि दुई वर्षसम्म योग्य हुने रोजगार तथा श्रम मन्त्रालयले जनाउँदै आएको छ । पछिल्लो समय नेपाली युवाका लागि वैदेशिक रोजगारीको मूख्य आकर्षण बनेको दक्षिण कोरियामा मासिक ९० हजारसम्म कमाइ हुने गरेको छ ।

प्रतिक्रिया