पुन:निर्मित भौतिक संरचना गुणस्तरहीन

इलाम, २३ चैत । शान्ति तथा पुन:निर्माण मन्त्रालयअन्तर्गत निर्माण गरिएका जिल्लाका अधिकांश भौतिक संरचना गुणस्तरहीन भेटिएको छ ।

स्थानीय शान्ति समितिको अगुवाइमा भएको टोलीले संरचनाको गुणस्तर सन्तोषजनक नभएको जनाएको छ । शान्ति समितिका पदाधिकारी, सञ्चारकर्मी र प्राविधिकको संयुक्त टोलीले जिल्लाको लुम्दे र गजुरमुखी उपस्वास्थ्य चौकी तथा धुसेनी र सोयाङ गाविसको भवन अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही भवन म्याद थप गरी निर्माण भइरहेको र निर्माण सम्पन्न भएका केहीमा गुणस्तरहीन भएको टोलीले जनाएको छ ।
मन्त्रालयअन्तर्गत निर्माण भएको लुम्दे उपस्वास्थ्य चौकी चालु आर्थिक वर्षको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्न म्याद थप गरिएको भए पनि हालसम्म निर्माण थालिएको छैन । गत असार मसान्तमा नै निर्माण गरिसक्ने सम्झौता भए पनि पिलर हालेपछि नै निर्माण रोकिएको स्थानीय गोपाल भट्टराईले बताए । भवनको निर्माण कार्य रोकिनुको कारणबारे आफूहरूलाई थाहा नभएको स्थानीय सुदीप आले बताउँछन् । ‘हामीलाई उपस्वास्थ्य चौकी भवन चाहिएको हो, तर किन निर्माण हुन सकेन यसबारे केही जानकारी छैन’ उनले भने । २० लाख चार हजार रुपियाँको लागतमा पाँच कोठे पक्की भवन बन्नेछ । भवन निर्माण कार्य रोकिएपछि प्रमुख जिल्ला अधिकारीलाई लिखित जानकारी दिए पनि कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ ।
मन्त्रालयकै २४ लाख दुई हजार रुपियाँको लागतमा निर्माण भएको गजुरमुखी उपस्वास्थ्य चौकी गुणस्तरहीन छ । गत वर्ष नै निर्माण सम्पन्न भएको चार कोठे पक्की भवनको एक कोठामा पानी चुहिएको र झ्यालमा ग्रिल नभएको, बत्ती र पानीको धारासमेत जडान गरिएको छैन । भवन गुणस्तरहीन भएको भन्दै स्थानीयले लिन मानेका छैनन् । भवन गुणस्तरहीन भएकाले आफूहरूले जिम्मा नलिएको स्थानीय भीमप्रसाद भट्टराईले बताए । यता १८ लाख ९० हजार लागतमा निर्माण भएको धुसेनी गाविस भवनसमेत तीन ठाउँमा चकिर्एको छ । अनुगमन टोलीमा संलग्न रुद्र साङपाङका अनुसार निर्माण सकिने बित्तिकै यसरी चकिर्नुलाई राम्रो मानिदैन ।
निर्माणधीन भवन अनुगमनका लागि गएको प्राविधकसहितको शान्ति समितिकै टोलीले भवनको गाह्रोको गुणस्तर राम्रो नभएको बताएको छ । टोलीमा संलग्न सब–इन्जिनियर ठकन सहनी मलाहले भने, ‘एकापट्टिको गाह्रोमा लिनटेल लगाइएको छैन, त्यस्तो कमसल हुन्छ ।’ १५ लाख २२ हजारको लागतमा निर्माण सम्झौता भएको सो भवन गत असार मसान्तमा सम्पन्न नभएपछि एक वर्षका लागि म्याद थप गरिएको थियो । यता जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर हुतराज चौहानले दायित्व नसकिएकाले काम गर्न बाँकी भएको बताए । ‘निर्माण सम्पन्न भए पनि दायित्व नसकिएकोले एक वर्षसम्म मर्मत सम्भार गरिनेछ’ उनले भने, ‘गजुरमुखी उपस्वास्थ्य चौकीको झ्यालमा ग्रील स्टिमेटमा नभए पनि अन्य काम पूरा गर्न बाँकी रहेको छ ।’

प्रतिक्रिया