सञ्चालन जोखिम न्यूनीकरण अभियानमा बैंक

काठमाडौं, २२ चैत । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले सञ्चालन जोखिम न्यूनीकरणमा ध्यान दिन थालेका छन् । सञ्चालन जोखिमले पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा समस्या देखिन थालेपछि त्यस्तो जोखिम बैंकको प्राथमिकतामा परेको हो । विगतमा ऋण जोखिम र बजार जोखिमलाई मात्र प्राथमिकता दिन थालिएकोमा पछिल्लो समय सञ्चालन जोखिम बढ्न थालेपछि उक्त जोखिम कम गर्न बैंकरहरू लागेका हुन् ।

सञ्चालन जोखिमलाई प्राथमिकता दिएकै कारण मर्जरमा गएका अधिकांश वित्तीय संस्थाले यस्तो जोखिम कम गर्न समिति नै बनाएर अगाडि बढेका छन् । वित्तीय संस्थाले पनि विशेष समिति गठन गरेर यस्तो जोखिम कम गर्न सुरु गरेका छन् । मनकामना डेभलभमेन्ट बैंक, इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक, यती फाइनान्स र भ्याली फाइनान्स आपसमा गाभिँदै छन् । सोही क्रममा कर्मचारी समायोजनलगायत बैंक सञ्चालनका क्रममा हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल गौतमको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
हामा मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र एनडिइपी डेभलपमेन्ट बैंक पनि गाभिँदै छन् । यो जोडीले पनि सञ्चालन जोखिम न्यूनीकरणका लागि विशेष समिति बनाएर काम गरिरहेको एनडिइपी डेभलपमेन्ट बैंकका एक अधिकारीले बताए । बैंक तथा वित्तीय संस्थाले पहिलेदेखि नै सञ्चालन जोखिममा ध्यान दिँदै आए पनि हाल विशेष प्रक्रिया नै सुरु गरेको नेपाल बैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारीले बताए । त्यस्ता जोखिम न्यूनीकरणका लागि बैंकर्स एसोसिएसनले आफ्ना सदस्यलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सचेत गराउँदै आएको बताए । अर्धदक्ष वा अदक्ष कर्मचारीले भन्दा सबै कुरा जानेबुझेकाले नै गल्ती गर्ने भएकाले त्यसतर्फ बैंक सचेत हुनुपर्ने एक बैकर्सले बताए । पछिल्लो समयमा बैंकहरू सञ्चालन जोखिम न्यूनीकरणमा चनाखो बन्दै आएकाले बैंकले चेक एन्ड ब्यालेन्स प्रणालीकै आधारमा महत्त्वपूर्ण जिम्मेवारी एकभन्दा बढी व्यक्तिलाई दिँदै आएका ती अधिकारीले बताए । सञ्चालन जोखिम न्यूनीकरणमा ध्यान नदिएकै कारण एचएन्डबी डेभलपमेन्ट बैंकमा अर्बांैको गुड फर पेमेन्ट चेक घोटाला कान्ड भयो । हिमालयन बैंकमा सूचना प्रविधि विज्ञकै कारण पूरै डेबिट कार्ड नै परिवर्तन गर्नुपर्ने अवस्था आयो ।
कम्पनी लामो समयसम्म राम्रो अवस्थामा सञ्चालनका लागि मानव साधन स्रोतमा बढी ध्यान दिनुपर्ने भएकाले अहिले बंैकहरूले त्यसलाई प्राथमिकता दिँदै आएको उनले बताए । स्वनियमन, आन्तरिक नियन्त्रण, एकभन्दा धेरै व्यक्तिद्वारा निरीक्षण, कर्मचारीको नैतिक व्यवहारमा सुधार गरेमा सञ्चालन जोखिम धेरै हदसम्म कम हुनेमा ती अधिकारीले जोड दिए ।
पछिल्लो समय सञ्चालन जोखिमका कारण समस्या देखिएपछि त्यसको निराकरणमा बैंक तथा वित्तीय संस्थाले विशेष ध्यान दिँदै आएको नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बताए । उनका अनुसार कमजोर संस्थागत सुशासन तथा समग्र जोखिम व्यवस्थापनमा हुने कमीले सञ्चालन जोखिम आउने भएकाले त्यस्त ा समस्या निराकरणका लागि बैंकहरू लागेका छन् । जोखिम व्यवस्थापनका नीति, निर्देशन नेपाल राष्ट्र बैंकले जारी गरे पनि व्यवसायमा निहीत जोखिमअनुरूपको व्यवस्थापन तथा पद्धतिको विकास गर्ने काम बैंकहरूकै भएको उनले बताए ।
धेरै गुमाउनेमा इन्स्योरेन्स
काठमाडौं : सेयर बजारले बुधबार सेयरधनीहरूलाई पुन: निराश बनाएको छ । बुधबार बैंकिङ समूह, इन्स्योरेन्स समूह र नेपाल टेलिकमको सेयरमा गिरावट आउँदा नेप्से परिसूचक शून्य दशमलव ९२ अंकले ओरालो लागेको छ ।
बुधबार नेपाल स्टक एक्स्चेञ्जमा कारोबार गर्ने ८२ वटा कम्पनीमध्ये ४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बैंकिङ समूह, होटेल समूह, हाइड्रोपावर समूह, फाइनान्स र अन्य समूहको कारोबारमा गिरावट आएको छ । विकास बैंक र फाइनान्स समूहको कारोबारमा भने बुधबार सामान्य सुधार आएको छ ।
बुधबार नेपाल टेलिकमको सेयर २ रुपियाँले घटेर ५ सय ७८ रुपियाँमा कारोबार भएको छ । टेलिकमको सेयरले समग्र नेप्से परिसूचकमा समेत प्रभाव पारेको छ । नागरिक लगानी कोषको सेयर मूल्य १० रुपियाँ घटेर १४ सय रुपियाँमा कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कम्पनीको सेयर १३ रुपियाँ बढेर १ हजार १३ रुपियाँमा कारोबार भएको छ । नबिल बैंक लिमिटेड संस्थापक सेयर १७ रुपियाँ घटेर १ हजार ८८ रुपियाँमा, एनआइडिसी क्यापिटल मार्केटको १४ रुपियाँ घटेर १ सय २७ रुपियाँमा, नेपाल लाइफ इन्स्योरेन्सको १५ रुपियाँ घटेर १ हजार ९ सय ६५ रुपियाँमा, प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य १५ रुपियाँ बढेर २ सय ९३ रुपियाँमा कारोबार भयो,सृजना फाइनान्सको सेयर मूल्य १० रुपियाँ घटेर १ सय १० रुपियाँमा कारोबार भएको छ ।

प्रतिक्रिया