राजीनामा माग्दै जग्गा कब्जा

Brdiyaबर्दिया, २२ चैत । नेकपा–माओवादीका कार्यकर्ताले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसहित अन्य तीनको १ सय १५ बिघा जग्गा कब्जा गरेका छन् ।

नेकपा–माओवादीका कार्यकर्ताले बुधबार बिहान ५ बजे खैरीचन्दनपुर–८ भगतपुरमा रहेको मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको १५ बिघा, उनका ससुरा लक्ष्मीप्रसाद शर्माको ३५ बिघा र स्थानीय युवराज शर्मा ज्ञवालीको ६५ बिघा जग्गामा झन्डा गाडेर कब्जाको घोषणा गरेका हुन् ।
परिषद्का अध्यक्ष रेग्मीले पद नछाडेसम्म जग्गा फिर्ता नगर्ने बताउँदै नेकपा–माओवादी बर्दियाका सेक्रेटरी द्रव्य शाहले रेग्मीका नाममा देशभरि भएको अन्य सम्पत्ति पनि खोजबिन गरेर कब्जा गर्ने बताए । उनले भने, ‘विवादित अवस्थामा मन्त्रिपरिषद्का अध्यक्ष भएर निरंकुश सरकार सञ्चालन गरिरहेकाले जग्गा कब्जा गरिएको हो ।’ आफ्नो पार्टीको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै रेग्मीले राजीनामा नदिई निर्दलीय सरकार सञ्चालन गरेपछि यस्तो कदम चाल्न बाध्य भएको सेक्रेटरी शाहले बताए । उनले भने, ‘जग्गा कब्जा गर्ने काम बर्दियाबाट सुरु गरेका छाँै । अभियान देशभर नै सञ्चालन हुनेछ ।’ उनले केही समयअघि पार्टीको सम्पन्न पोलिटब्युरो बैठकको निर्णयअनुसार नै अध्यक्ष रेग्मी र उनका नातेदारको जग्गा कब्जा गरिएको दाबी गरे ।
सिडिओ धु्रवराज जोशीले कब्जा जग्गामा गाडेको झन्डा हटाइसकेको बताए । उनले जग्गा कब्जाको विषय सामान्य भएको प्रतिक्रिया दिए । यता स्थानीय माधवकुमार निगमले नेकपा–माओवादीले कब्जा गरिएको भनिएको रेग्मीको जग्गा उनको नभई उनकी पत्नी शान्ता रेग्मीको भएको बताए । उनका अनुसार शान्तालाई उनका बुबा लक्ष्मीप्रसादले जग्गा दिएका हुन् । स्थानीयका अनुसार युवराज शर्माको जग्गा सबै बिक्री भइसकेको छ । शर्माको मृत्युपछि उनका छोरा श्यामसुन्दरले सबै जग्गा बिक्री गरिसकेका हुन् ।
०५८ सालदेखि माओवादीकै कब्जामा रहेको अध्यक्ष रेग्मीको जग्गा शान्तिवार्तापछि फिर्ता भएको थियो । फिर्तापछि रेग्मीले जग्गा आम्दानी बुझ्दै आएका थिए । स्थानीयका अनुसार एक वर्षयता रेग्मी र उनका ससुरा लक्ष्मीप्रसादले जग्गा लिजमा दिएका छन् । जग्गामा अहिले लहरे पिपल लगाइएको छ ।

प्रतिक्रिया