च्याम्पियन थ्री–स्टार आर्मीद्वारा पराजित

3starकाठमाडौ, २० चैत । लिगविजेता थ्रीस्टार क्लब अन्तिम ४० सेकेन्ड सम्हालिन नसक्दा नेपाल आर्मी क्लब रेडबुल ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा तेस्रो स्थान हात पार्न सफल भएको छ । सोमबार भएको लिगको अन्तिम खेलमा आर्मी क्लबले थ्रीस्टारलाई ३–२ ले पराजित गर्‍यो । आर्मीका लागि भरत खवासले ४० सेकेन्ड बाँकी रहँदा गोल गरे । यसअघि थ्रीस्टारका लागि सन्तोष साहुखलले दुवै गोल गरे । यसैगरी, आर्मीका लागि टेकबहादुर बुढाथोकी र सन्तोष नेपालीले गोल गरे ।

विजयी टोली तथा खेलाडीलाई सोमबार नै पुरस्कार प्रदान गरियो । विजेता थ्रीस्टार क्लबले ७५ लाख रुपियाँ पुरस्कार पायो । यस वर्षको लिगमा नेपालबाहिरका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि आयोजकले सबै उपाधि नेपाली खेलाडीलाई नै प्रदान गर्‍यो । उत्कृष्ट खेलाडीको पुरस्कार भनिए पनि देशबाहिरका खेलाडीलाई नदिने खेल भावनाविपरीत परम्पराले भने यसपटक पनि निरन्तरता पायो ।
थ्रीस्टारका विराज मर्हजन निर्विवाद रूपमा उत्कृष्ट रक्षक घोषित भए । सबै विदेशी फरवार्डले उत्कृष्ट प्रदर्शन गरेपछि आर्मीका भरत खवासलाई उत्कृष्ट फरवार्डको उपाधि दिइयो । सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने तीन गोलरक्षक नेपाली नागरिक नभएका कारण थ्रीस्टारकै किरण चेम्जोङलाई उत्कृष्ट गोलपिकरको अवार्ड दिइयो । फ्रेन्ड्सका जगजित श्रेष्ठले उत्कृष्ट मिडफिल्डरको उपाधि पाए । लिगविजेता टोलीका प्रशिक्षकलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड दिने प्रचलनअनुसार प्रदीप हुमागाईंले उत्कृष्ट प्रशिक्षकको अवार्ड पाए ।
आठ जना राष्ट्रिय खेलाडी भएको थ्रीस्टार क्लबले पहिलो खेलमा सरस्वती क्लबसँग पराजयको सामना गरेको थियो । सुरुवाती चार खेलमा निरश प्रदर्शन गरेको थ्रीस्टार जासफाव फेमीसहित चार विदेशी खेलाडी भित्र्याएपछि लयमा रहेको थियो । खासै चर्चित खेलाडी नरहेको ध्रुव केसीको प्रशिक्षणमा रहेको सरस्वती क्लबले नाम चलेका क्लबलाई हराएर सनसनी फैलाएको थियो भने सुपर एट प्रवेशबाट एक अंकले चुकेको थियो । हिमालयन शेर्पा दुई अंकले चुकेपछि फ्रेन्ड्स क्लब हेर्न पुगेका मेघराज केसीका कारण क्लबको प्रदर्शन परिवर्तन भएको थियो ।
यसपटक लिग विजेता थ्रीस्टार क्ललबे कुनै नयाँ स्टार जन्माउन सकेन । मेघराजको प्रशिक्षणमा प्रकाश बुढाथोकीले उत्कृष्ट प्रदर्शन गरेका थिए । यसैगरी, डिकेन सुवालको प्रशिक्षणमा एनआरटीका लागि सुवास गुरुङले गरेको प्रदर्शन पनि सराहनीय रह्यो ।
सोमबारै भएको पुरस्कार वितरणमा सुपर लिगको उपविजेता मनाङ–मस्र्याङ्दी क्लबले ३५ लाख रुपियाँ, तेस्रो स्थान प्राप्त गर्ने आर्मी क्लबले १५ लाख, चौथो स्थानमा रहन सफल फ्रेन्ड्स क्लबले सात लाख रुपियाँ प्राप्त गरे । मच्छिन्द्र क्लबले फेयर प्ले अवार्डका साथै एक लाख रुपियाँ नगद प्राप्त गर्‍यो ।

प्रतिक्रिया