विधान संशोधनप्रति विद्यार्थी संगठनहरूको असहमति

TUकाठमाडौ, २० चैत । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको विधानमा गरेको परिमार्जनप्रति विद्यार्थी संगठनले असहमति जनाएका छन् । त्रिविले आफूखुसी विधान परिमार्जन गरेको आरोप उनीहरूले लगाएका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु(क्रान्तिकारी)ले विधानमा व्यवस्था गरिएको निर्वाचन प्रणाली, उम्मेदवारको उमेर हदबन्दी र पदावधिलगायत विषयमा असहमति जनाएका छन् । तीनवटै संगठनले आइतबार त्रिविले परिमार्जन गरेका विधानमा असहमति जनाउँदै संशोधन प्रस्तावसमेत पेस गरेका छन् । त्रिविले भने स्ववियुलाई चुस्त र विद्यार्थी हकहितमा केन्द्रित बनाउन विधान परिमार्जन गरेको जनाएको छ ।
नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले त्रिवि परिषद्ले गरेको विधान परिमार्जन ठाडै अस्वीकार गरेको छ भने अनेरास्ववियु क्रान्तिकारी केही लचिलो देखिएको छ । विद्यार्थी संघसंगठनसित छलफल नै नगरी विधान परिमार्जन गरेकाले त्यसमा विमति जनाएको उनीहरूले बताएका छन् । नेविसंघबाट त्रिविसभाका सदस्य लालकुमारी पोखरेल र अनेरास्ववियुबाट गुणराज आचार्यले संशोधनको प्रस्ताव पेस गरेका हुन् ।
केही दिनअघि त्रिवि कार्यकारी परिषद्ले स्ववियुको विधान परिमार्जन गर्दै विभिन्न बँदामा संशोधन गरेको थियो । दुई वर्षदेखि हुन नसकेको स्ववियु चुनाव वैशाख अन्तिम साता गर्ने तयारीका साथ विधान परिमार्जन गरिएको थियो । परिमार्जित विधानमा उम्मेदवारको उमेर ३२ वर्ष माथि नहुनुपर्ने, मिश्रित चुनाव प्रणाली, स्ववियुमा चुनिएका पदाधिकारीको सैद्धान्तिक परीक्षा सकिएलगत्तै स्वत: पद समाप्त हुने व्यवस्था गरिएको छ ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य लेखनाथ पोखरेलले त्रिविले स्ववियु चुनाव नगराउने उद्देश्यले आफूखुसी विधान परिमार्जन गरेको बताए । ‘हामीसँग कुनै छलफलै नगरी उमेर हदबन्दी, निर्वाचन प्रणालीजस्तो विषय संशोधन गरिएको छ,’ उनले सौर्यसँग भने, ‘यो फेरि पनि चुनाव नगराउने कुरा हो, हामीलाई मान्य छैन ।’
नेविसंघ र अनेरास्ववियुले ३ बुँदामा एउटै किसिमको असहमति प्रस्ताव पेस गरेका छन् । दुवै संगठनले प्रत्यक्ष निर्वाचन हुनुपर्ने, उमेरको हदबन्दी तोक्न नपाइने र स्ववियुमा चुनिएका पदाधिकारीको पदावधि अर्को निर्वाचन नभएसम्मका लागि कायम हुनुपर्ने माग राखेका छन् ।
अनेरास्ववियु क्रान्तिकारीले नेविसंघ र अनेरास्ववियुले पेस गरेभन्दा फरक संशोधनको प्रस्ताव पेस गरेको छ । उसले उमेरको हदबन्दी झनै खुम्च्याउन माग गरेको छ । क्रान्तिकारीले स्ववियु उम्मेदवारमा स्नातक तह २६ र स्नातकोत्तर तहमा २८ वर्ष तोक्न माग गरेको छ । त्यस्तै, परिषद्ले पास गरेको मिश्रित निर्वाचनमा पनि क्रान्तिकारीले असहमति जनाएको छ ।
क्रान्तिकारीले सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष तथा उपसभापति र सहसचिव समानुपातिक र सबै सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुनुपर्ने माग गरेको छ । क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले परिषद्ले एकोहोरो रूपमा विधान संशोधन गरेको बताए । ‘विद्यार्थी संगठनसँग कुनै पनि छलफल नगरी आफूखुसी परिमार्जन गर्न थालिएको छ,’ उनले भने, ‘विधान परिमार्जनको निर्णय हामीसँग गर्ने सहमति भएको थियो तर एक्कासि नसोधी गरियो ।’
त्रिविका निर्देशनात्मक प्रमुख गंगाबहादुर थापाले भने विद्यार्थी संगठनसित छलफल गरेरै विधान संशोधन गरिएको बताए । उनले संशोधित विधानमा फेरि पनि विद्यार्थी संगठनले विवाद झिके निर्वाचन हुन नसक्ने बताए ।

प्रतिक्रिया