मतदाता नामावली संकलन रोकियो

काठमाडौं : निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलन कार्य तत्कालका लागि स्थगन गरेको छ । आयोगले सोमबार नै यसबारे जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।
आयोग स्रोतका अनुसार नेकपा–माओवादीलगायत दल र जातीय मोर्चाहरूको अवरोधका कारण तत्कालका लागि मतदाता नामावली संकलन कार्य स्थगन गरिएको हो । तर, निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने दलहरूको विरोधका कारण नभई नयाँ ऐनअनुसार अघि बढ्ने भएकाले नामावली संकलन कार्य रोकिएको दाबी गरे । ‘आयोगले निर्वाचन ऐन संशोधन मस्यौदा सोमबार मात्र सरकारलाई पेस गरेको छ, त्यो स्वीकृत भएर आएलगत्तै नयाँ ढंगबाट काम अघि बढ्छ,’ उनले भने ।
यसअघि कर्मचारीको तहबाट निर्णय भएर मतदाता नामावली संकलन कार्य सुरु भएको यादवले बताए । ‘अब आयोगको निर्णयअनुसार काम अघि बढ्ने भएकाले पनि यसअघि भएका काम केही समयका लागि स्थगन हुन्छन्,’ उनले भने । यादवका अनुसार गृह मन्त्रालय मातहतको टोलीले नागरिकता अभियान सञ्चालन गर्नुपर्ने र त्यसपछि पुन: मतदाता नामावली संकलन गर्नुपर्ने भएकाले दुवै अभियान एकसाथ र एउटै खर्चमा अघि बढाउने उद्देश्यका साथ तत्कालका लागि नामावली संकलन कार्य रोकिएको हो । (सौस)

प्रतिक्रिया