कार्टरको गाडीमा “अवैध” हतियार

Jimmy-Carterकाठमाडौं, १९ चैत । पाँच वर्षअघि नेपाल भ्रमणमा रहेका बेला अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर चढेको कारमा अमेरिकी सुरक्षाकर्मीले नै हतियार राखेको रहस्य खुलेको छ । नेपाली सुरक्षा व्यवस्थालाई ‘चेक’ गर्न आºनै पूर्वराष्ट्रपतिको कारमा हतियार राखेको घटना अहिलेसम्म पनि दुवै देशले ‘अति गोप्य’ राखेका छन् ।

अघिल्लो संविधानसभा चुनावको पूर्वसन्ध्यामा कार्टर नेपाल आएका थिए । सोल्टी होटलस्थित पार्किङमा राखिएको उनी चढ्ने कारमा ७ मंसिर ०६४ मा अत्याधुनिक हतियार भेटिएको थियो । कार्टरको सुरक्षामा खटिएको नेपाल प्रहरीको टोलीले कुकुरको माध्यमबाट कारमा हतियार रहेको पत्ता लगाएको थियो ।
कार्टरको सुरक्षामा खटिएका दूतावासमा कार्यरत अमेरिकी सुरक्षाकर्मीले नेपालको सुरक्षा व्यवस्था परीक्षण गर्ने उद्देश्यले जानाजान कारमा अत्याधुनिक हतियार राखेको स्रोतले जनाएको छ । जुन, प्रहरीले अनुसन्धानपछि मात्रै थाहा पाएको थियो । आफू चढ्ने कारमा हतियार राखिएको जानकारी कार्टरलाई समेत नभएको स्रोतले बतायो ।
‘हाम्रो सुरक्षा व्यवस्थाप्रति उनीहरूलाई विश्वास रहेनछ, त्यसैले योजनाबद्ध ढंगले उनीहरूले नै कारभित्र हतियार राखेका रहेछन् । त्यो कुरा हतियार समातिएपछि मात्रै पत्ता लाग्यो,’ त्यतिबेला अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सौर्यसँग भने । नेपालस्थित अमेरिकी दूतावासको आन्तरिक सुरक्षामा अमेरिकी सुरक्षाकर्मी नै खटिने गर्छन् । कार्टरको कारभित्र उनीहरूकै योजनामा हतियार राख्न लगाइएको स्रोतको दाबी छ ।
‘कार्टरको सुरक्षाका लागि खटाइएको कुनै एक गाडीमा हतियार छ’ भन्ने सूचना पाएपछि नेपाल प्रहरी सर्चमा खटिएका थिए । निकैबेरको खोजीपछि मात्रै कार्टर चढ्ने कारभित्र लुकाई राखिएको अवस्थामा कुकुरको माध्यमबाट हतियार फेला परेको थियो ।
निकै कडा र चुस्त सुरक्षाको बाबजुद पनि कार्टर चढ्ने कारभित्र रहस्यमय ढंगले हतियार फेला पारेपछि नेपाल प्रहरीले अनुसन्धानका लागि विशेष टोली नै खटायो । ‘घटना सामान्य थिएन, त्यसैले घटनास्थलको सुरक्षा व्यवस्था थप कडा पारेर
सबै स्थान घेराबन्दी गरियो । केस्रा–केस्रो केलाएर अनुसन्धान अघि बढाइयो । अन्तत: कारभित्र अमेरिकी सुरक्षाकर्मीले नै हतियार लुकाएको खुल्यो,’ स्रोतले भन्यो ।
त्यो घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार कार्टरको गाडीमा हतियार भेटिएपछि प्रहरीमाथि निकै दबाब सिर्जना हुनुका साथै तनाव उत्पन्न भयो । छोटो समयमा ‘गम्भीर र सफल’ अनुसन्धान त्यतिबेला प्रहरीले गर्‍यो । ‘त्यसबेला निकै तनावमा थियौँ हामी, कार्टरको कारभित्र हतियार भेटिएको घटनासँग सिंगो मुलुकको शान्ति–सुरक्षा जोडिएको थियो, किनकि उनी आमनागरिक थिएनन् । जेहोस् हामीले नेपालको सुरक्षा व्यवस्था संसारकै उत्कृष्ट छ भन्ने प्रमाणित गरेरै छाड्यौँ,’ ती अधिकृतले सौर्यसँग भने ।
नेपाल प्रहरीले कार्टरको कारमा लुकाएर राखेको हतियार फेला पारेपछि अमेरिकी सुरक्षाकर्मी चकित परेका थिए । चढ्न ठिक्क परेको कारभित्र प्रहरीले एकाएक अत्याधुनिक हतियार फेला पारेपछि कार्टरसमेत झस्किएको स्रोतले जनाएको छ । यो घटनापछि कार्टरले नेपाल प्रहरीको प्रशंसासमेत गरेका थिए ।
चार दिनको नेपाल बसाइपछि अमेरिका फर्किंदा कार्टरले प्रहरीको निकै प्रशंसा गरेका थिए । आºनो सुरक्षामा खटिएका महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन एसपी(अहिले एसएसपी) सर्वेन्द्र खनाललाई त कार्टरले धापै मारेका थिए । ‘त्यसबेला उहाँ(कार्टर)को सुरक्षामा म खटिएको थिएँ, काठमाडांैको सुरक्षा प्रमुखको हैसियतले उहाँको सुरक्षामा म खटिनु स्वाभाविक पनि थियो । जाने बेलामा उहाँले मलाई धाप मार्दै धन्यवाद दिनुभयो, सँगै नेपाल प्रहरीको पनि मुक्तकण्ठले प्रशंसा गर्नुभयो,’ खनालले भने ।
पाँच वर्षपछि कार्टर अहिले फेरि नेपाल भ्रमणमा छन् । शुक्रबार नेपाल आएका उनी चार दिनको भ्रमणपछि सोमबार(आज) म्यानमार जाँदै छन् । ‘कार्टर सेन्टर’ खोली विश्वभर शान्तिको पक्षमा वकालत गरिरहेका कार्टर २० नोभेम्बर २००७ मा पहिलोपटक नेपाल आएका थिए । त्यतिबेला चार दिनको भ्रमणपछि फर्किएका उनी ६ अप्रिल २००८ मा दोस्रोपटक नेपाल आएका थिए । १४ दिनसम्म नेपाल बसेका उनले त्यसबेला संविधानसभा चुनावको पर्यवेक्षण गरेका थिए । चुनाव धाँधलीरहित भएको रिपोर्ट सार्वजनिक गरेका कार्टरको त्यतिबेला विपक्षी दलहरूले भने आलोचना गरेका थिए ।
किन लुकाइयो घटना ?
सानातिना पाकेटमार पक्राउ गरेका घटनालाई पनि मिडियामा प्रचार गर्ने प्रहरी प्रशासनले त्यति ठूलो अनुसन्धान भने अहिलेसम्म लुकाउनु रहस्यमय बनेको छ । पाँच वर्षपछि पनि प्रहरी अधिकारीहरू सो घटनाबारे औपचारिक रूपमा बोल्न चाहँदैनन् ।
त्यतिबेला कार्टर चढ्ने कारबाट बरामद गरिएको अत्याधुनिक हतियार अहिले नेपाल प्रहरीसँगै छ वा अमेरिकी सुरक्षाकर्मीलाई बुझाइयो अझै खुल्न सकेको छैन । कुन कम्पनीको र कस्तो हतियार थियो भन्ने विषयमा प्रहरी अधिकारीहरू अनौपचारिक रूपमा पनि बोल्न चाहँदैनन् । उच्च प्रहरी स्रोत भन्छ, ‘यसो गरिनुको पछाडि ‘सुरक्षा प्रोटोकल’ र दुई मुलुकबीचको कूटनीतिक कारण हुनसक्छ ।’

प्रतिक्रिया