साउनदेखि प्राधिकरणमा नयाँ संरचना

काठमाडौं, १९ चैत । नेपाल विद्युत् प्राधिकरणको नयाँ संरचना पूर्णरूपमा आगामी साउनदेखि लागू हुने भएको छ ।

विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य टेकनाथ आचार्यको संयोजकत्वमा रहेको समितिको प्रतिवेदनको आधारमा नयाँ संरचना बनाउने सञ्चालक समितिले निर्णय गरेको थियो । आगामी असारसम्म पूर्णरूपमा प्राधिकरणको संरचना परिवर्तन गरी आगामी साउनदेखि प्राधिकरणको नयाँ संरचना कायम हुने प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले बताए ।
‘अब प्राधिकरणमा खाली हुने पदमा नयाँ संरचना अनुसार राख्ने काम हुन्छ भने असारभित्र नयाँ संरचना अनुसार सबै व्यवस्था गरेर लागू गरिन्छ’ कार्यकारी निर्देशक यादवले भने । सञ्चालक समितिले समेत तत्कालबाट लागू हुने नयाँ संरचना आगामी असारभित्र सक्ने निर्णय गरेको छ । निर्णय कार्यान्वयनका लागि प्राधिकरणका कार्यकारी निर्देशकलाई निर्देशन दिएको छ । प्राधिकरण व्यवस्थापनले महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा प्राधिकरणका बद्रीनाथ रोक्का, अर्जुनकुमार चौहान र माधव लुइँटेल रहेको समितिसमेत गठन गरिएको छ ।
नयाँ संरचना परिवर्तनका लागि प्राधिकरणको विनियमावली परिवर्तन गर्नुपर्ने र हचुवाको भरमा गरिएको भन्दै आलोचना भए पनि कार्यकारी निर्देशक यादवले भने विनियमावली संशोधन गरेर नयाँ संरचनामा जाने बताए । ७ महाप्रबन्धक र तीन उपकार्यकारी निर्देशक रहने पुरानो व्यवस्थालाई परिवर्तन गरी उपकार्यकारी निर्देशकको नेतृत्वमा रहने गरी ६ मा झारिएको छ । अर्थ, प्रशासन र आन्तरिक लेखा परीक्षण (आलेप) अन्तर्गत ९ निर्देशकको नेतृत्वमा विभाग रहेकोमा ७ तथा प्राविधिकतर्फ २९ निर्देशकको नेतृत्वमा विभाग रहेकोमा २७ मा झारिएको छ ।

प्रतिक्रिया