असारमा नभए मंसिरमा चुनाव पक्का : खनाल

Jhalanath-Khanalकाठमाडौं, १९ चैत । एमाले अध्यक्ष झलनाथ खनालले असारमा सम्भव नभए मंसिरमा पक्का हुनेगरी चुनावको मिति तोक्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले आइतबार काठमाडौंमा गरेको अन्तरसंवाद कार्यक्रममा उनले आºनो पार्टीले जेठमै चुनाव चाहेको तर असारमा नभए पनि मंसिरमा चुनाव पक्का गर्नुपर्ने बताए ।

‘चुनावको मितिका विषयमा हामी त्यति रिजिट छैनौँ, हाम्रो पार्टीको भनाइ जेठमै गर्नुपर्छ भन्ने हो,’ खनालले भने, ‘नभए असारमा हुन्छ, असारमा पनि नभए मंसिरमा चुनाव पक्का हुनुपर्छ ।’ असन्तुष्ट रहेका नेकपा–माओवादी र मधेसी जनअधिकार फोरमलगायत दललाई पनि उनले चुनावी अभियानमा सामेल हुन आह्वान गरे ।
अध्यक्ष खनालले चुनावी अभियानमा सामेल भए उच्चस्तरीय राजनीतिक संयन्त्रलगायत सबै ठाउँमा आन्दोलनरत दलहरूलाई पनि शक्ति सेयर गर्ने बताए । ‘वैद्य कमरेडहरूले वार्ता नै गर्नुहुन्न र चुनावमै भाग लिनुहुन्न भन्ने मलाई विश्वास छैन,’ खनालले भने, ‘त्यस्तो अलोकतान्त्रिक, अराजक र जडसूत्रवादी बाटोमा हिँड्नुहुन्न, वार्तामा आउनुहुन्छ ।’ यसअघि वैद्यले यथास्थितिमा सरकार र चार दलसँग वार्तामा नबस्ने बताएका थिए । माओवादीलगायत असन्तुष्ट दलहरूलाई चुनावमा आउन खनालले आह्वान गरे ।
अध्यक्ष खनालले यसअघिको चुनावमा एमाओवादी ठूलो पार्टी भएकाले संविधान नबनेको दाबी गर्दै आउने चुनावमा एमाले पहिलो पार्टी हुने ठोकुवा गरे । ‘अघिल्लो संविधानसभा चुनावमा एमाओवादी सबैभन्दा ठूलो पार्टी भएकैले संविधान बन्न सकेन,’ खनालले भने, ‘अब एमाले पहिलो पार्टी हुन्छ र आउने संविधानसभाले संविधान बनाउँछ । एमाले ठूलो पार्टी भएको भए यतिबेला संविधान बनिसकेको हुने थियो र मुलुक विकासको बाटोमा अघि बढिसकेको हुने थियो ।’
पहिलो पार्टी बन्ने पूर्वाधार र तयारी दुवै एमालेसँग भएको खनालको दाबी थियो । ‘पहिलो पार्टी हुने पूर्वाधार भएको पार्टी एमाले हो र तयारी पनि त्यस्तै गर्दै छौँ,’ खनालले भने, ‘यसअगाडि एमाले पहिलो नभएकैले संविधान बनेन र दुई/दुईपटक संविधानसभाको चुनाव गर्नुपर्‍यो ।’
उनले आगामी चुनावलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउँदै नमुना चुनाव गर्नुपर्ने बताए । मतदान केन्द्रमा सिसी क्यामेरा राख्ने र चुनावअघि पूर्ववर्ती बाबुराम भट्टराईको सरकारले गरेका विवादास्पद नियुक्ति खारेज हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया