पिन कोड परिवर्तन गर्न बैंकको अनुरोध

काठमाडौं, १८ चैत । नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक र एससिटी नेटवर्कको कार्डबाट गैरकानुनी रूपमा एटिएमबाट रकम झिकिएको सार्वजनिक भएपछि वाणिज्य बैंकहरूले आफ्ना ग्राहकलाई कार्डको पिन कोड परिवर्तन गर्न अनुरोध गरेका छन् । एमएमएस एलर्ट, फोन एवं सञ्चारमाध्यममा सार्वजनिक सूचना गरेर ग्राहकलाई सुसूचित गर्दै वाणिज्य बैंकहरूले एटिएम कार्डको पासवर्डको रूपमा प्रयोग गरिने पिन कोड परिवर्तन गर्न अनुरोध गरेका हुन् । सूचनामा कार्डको पिन नम्वर कसैलाई नदिन समेत ग्राहकलाई सावधान गराएका छन् । त्यसैगरी कार्ड हराएको, चोरी भएको वा आफ्नो साथमा नभएको जानकारी बैंकमा दिन पनि अनुरोध गरेका छन्

वाणिज्य बैंकहरूले एटीएम कार्डबाट झिक्ने र प्वाइन्ट अफ सेल्स (पिओएस)मा खरिद गर्ने रकमको सीमा समेत घटाएका
छन् । पछिल्लो समयमा नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, कुमारी बैंक र सिटिजन्स बैंकले रकम झिक्ने सीमा घटाएको हो ।
हिमालयन बैंकका सूचना प्रविधि क्षेत्रमा काम गर्ने
कर्मचारीले अनधिकृत रूपमा बैंकको रकम दुरुपयोग गरेपछि सुरु भएको एटिएम कार्डको दुरुपयोग पछिल्लो समय नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम दुरुपयोगसम्म पुग्दा उग्र रूप लिएको छ । प्राय: सूचना प्रविधिको दुरुपयोगमा बैंककै पूर्व कर्मचारीको संलनग्ता हुने गरेको छ । नेपाल राष्ट्र बैंकले यसलाई न्यूनीकरण गर्न हालै
कर्मचारीहरूको बारेमा समेत पूर्ण जानकारी राख्नु पर्ने गरी केवाइई जारी गरेको छ । ग्राहकको बारेमा विस्तृत जानकारी (केवाइसी)लाई कडाइका साथ लागू गरिरहेको राष्ट्र बैंकले कर्मचारी संलग्नता बढेपछि केवाइईलाई पनि कडाइका साथ लागू गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिइसकेको छ ।
हिमालयन बैंकले हालै मात्र पुराना एटिएम कार्ड फिर्ता लिएर एकदम सुरक्षित दाबी गरिएको नयाँ कार्ड प्रदान गरिसकेको छ । इन्भेस्टमेन्ट बैंकले पनि आफ्नो एटिएम कारोबारमा सुरक्षित गर्न प्रक्रिया अगाडि बढाइसकेको छ भने अन्य बैंकहरू पनि नेपालभर एवं भारतमा समेत एटिएमबाट रकम झिक्न कडाईमा लागेका छन् । प्राय: बैंकले एटिएमबाट डेविट वा क्रेडिट कार्ड प्रयोग गरी प्रति कारोवार दश हजार रुपियाँ र दैनिक ५० हजार रुपियाँ एवं मासिक एक लाख रुपियाँको सीमा तोकेका छन् । ती बैंकहरूले आफ्नो एटिएम प्रयोग गरी भारतबाट दैनिक पाँच हजार र मासिक ५० हजार भारु निकाल्न सक्ने मात्र सुविधा दिएका छन् । यसअघि भारतबाट दैनिक १० हजार भारुसम्म निकाल्न मिल्ने सुविधा नेपाली बैंकहरूले दिएका छन् । भारतीय बैंकको एटिएम प्रयोग गरेवापत नेपाली ग्राहकले प्रति कारोबार २ सय रुपियाँ नेपाली शुल्क तिर्नुपर्छ । १० हजार भारु निकाल्दा दुईपटक कारोबार गर्नुपर्ने हुँदा ग्राहकको खर्चमा समेत वृद्धि भएको छ ।
त्यस्तै ती बैंकहरूले प्वाइन्ट अफ सेल्समा खरिदका लागि एकपटकमा ५० हजार, दैनिक एक लाख र मासिक दुई लाख रुपियाँखर्च गर्न सक्ने सीमा तोकेका छन् । बैंकका कार्ड प्रयोग गरी भारतमा पनि नेपाली रुपियाँको यही सीमा भित्र भारुमा कारोवार गर्न पाउनेछन् । इन्भेस्टमेन्ट बैंकको पेमेन्ट नेटवर्क प्रयोग गर्दै आएका वाणिज्य बैंकहरू इन्भेस्टमेन्ट बैंककै ग्राहकको कार्ड प्रयोग गरी अवैध रकम झिकेपछि झस्केर सो कदम चालेका हुन् । बैंकहरूको नयाँ व्यवस्थाले सात लाखभन्दा बढी एटिएम कार्ड प्रभावित हुने बताइएको छ । इन्भेस्टेमन्ट बैंकले मात्रै तीन लाखभन्दा बढी कार्ड जारी गरेको छ । कार्डबाट रकम झिक्न गरिएको नयाँ व्यवस्थाले बैंकको काउन्टरमा भिड बढ्नेछ ।

प्रतिक्रिया