पिता

Bimal-Nepalआमाले हिँड्ने बेलामा भनेकी थिइन्, ‘छोरा राम्रोसँग पढेस्, नखाने कुरा नखानू, नगर्ने काम नगर्नू, घरको दु:ख सम्झेस्, ठूलो मान्छे बनेस्, तँलाई तेरो आमाको आशीर्वाद लाग्नेछ ।’
बुबा घरपछाडिको बारीमा कोदोको बिउ गोड्दै हुनुहुन्थ्यो । भाइ मकै दोहोर्‍याउँदै थियो । बैनीहरू घाँस काट्न जाने अन्तिम तयारीमा जुट्दै थिए । म भने बुबाले बिहान सहकारीबाट ऋण ल्याएको दुई हजार रुपियाँ, एक पोको सिन्की, एक मुठो साग, एक पोको मासको दाल, बैनीले बिहान भुटिदिएकी तीन/चार घान मकै र आमाको आशीर्वाद बोकेर पढ्नका लागि सहरको यात्रामा निस्किएँ । मेरो यात्रासँगै बाआमाका सपना पनि थियो । अझ भनौँ एक भारी सपना बोकेर हिँडे । यात्राभर गह्रौँ सपनाले मलाई थिलथिल्याएको थियो । म बिए सक्न लागे पनि बुबाकै पसिना बोकेर सहर छिर्नुपर्दाको पीडालाई भुल्न मलाई कठिन थियो । धेरैपटक बुबाले ‘अब आफूले पढ्ने खर्चको जोहो आफैँले गर्’ भन्नुभएको कुरा सियो बनेर घोचिरहेको थियो– आफ्नै अक्षमताको बोधले । सहर अवतरण गरिसकेपछि पनि मलाई आमाको च्यातिएको चौबन्दी, कर्कटपाता भइसकेको बुबाको गाला, हिँड्ने बेलामा आमाको आँखामा छचल्किएको आँसुको सम्झना र उहाँहरूको सपनाको भारीले थलिएको मनलाई सान्त्वना दिन वा भनौँ थकाइ मेट्न एक पेग नलगाई चित्तै बुझेन । त्यही दुई हजार रुपियाँबाट तीन सय रुपियाँ छुट्याएँ । डेड पाउ कुखुराको मासु र एक क्वाटर खुकुरी रम र तीनवटा सूर्य चुरोट । बाआमाको सपना, दु:ख र आँसु सम्झेर एकैछिन खाएँ, पिएँ, रमाएँ र अन्त्यमा रुँदै खाना नै नखाई सुतेँ ।
धारिलो बनेका सपना पूरा गर्न सहरको कोलाहलभित्र व्यापक प्रयास भयो । सर्टिफिकेट र नागरिकताको फोटोकपी सिरान हालेर रत्नपार्कमा घन्टौँ बिताउँदाका पट्यारलाग्दा क्षण सम्झँदा अहिले पनि उदासीले गाँज्छ । चिनेजानेका नेता, गाउँले, नातेदार सबै सबैलाई कामको मौका मिलाइदिन बिन्ती बिसाएँ । सबैतिर असफल । कथित शुभचिन्तकको शुभचिन्ताले पनि काम गरेन । अभावका पहाड चुलिँदै जाँदा मातापिताका सपना चुहिँदै थिए । तर, चिन्ताबाट बचेको समयमा पढे पनि स्नातक तेस्रो वर्षको परीक्षा सकेर घर गएँ । एउटा गरुंगो मन बोकेर, उही नालायकको स्टिकर टाँसिएको अनुहार बोकेर ।
छोरो घर आएको मौका छोपेर पिताले गुनासाका पोकाहरू फुकाउन थाल्नुभयो । सुरुआतमा व्यावहारिक गुनासाहरू लैनो गाईले पनि दूध दुहुन बस्दा लात्ती बर्साउँछ, दूध लुकाउँछ, गामबेँसीको खेती काम गर्न दु:ख भयो, आमाको ढाड दुख्ने रोग फेरि बल्झियो, ऋणले डुब्यो आदि ।
बुबा मेरो प्रतिक्रिया सुन्न आतुर हुनुहुन्थ्यो, म भने शब्द साँचोको खोजिमा गमिरहेँ । सायद मेरो मौनताले उहाँलाई निराश बनायो ।
जुरुक्क उठेर गोजीभित्रको चौतारी चुरोट झिकेर अँगेनाको अगुल्टोमा सल्काउनुभयो । तनावी चुरुट तान्दै फेरि भन्नुभयो– नबोलेर व्यवहार नचल्ने कुरा, मबाट यस्तो अपेक्षा नगरेको कुरा, आदि आदि † गुनासोको दोस्रो खण्डमा मेरो अव्यावहारिकपनले आफू विक्षिप्त हुनुपरेको दयनीय अभिव्यक्ति । मानौँ, त्यो कुनै घाइतेको चित्कार थियो, पीडितको रोदन थियो, अन्तर्मनको क्रन्दन थियो † पिताको दुखाइले मलाई चहर्‍याइरहेको थियो । तर, म नाजवाफ थिएँ । पिताको दुखाइको कारण अथवा घाउको कारण म आफैँ हुनुपर्दाको ग्लानिले म विशाक्त थिएँ ।
गुनासोको तेस्रो खण्डमा उहाँले मलाई मेरा समकालीन साथीहरूसँग दाँज्नुभयो । फलानोले काठमाडौंमा घर बनायो, फलानो भटभटे चढेर हिँडछ, फलानोले बिहे गरेर काठमाडौंमा स्वास्नी र छोराछोरी पालेर बसेको छ । तँ भने पत्रकार बन्छु, साहित्यकार बन्छु भनेर हिँड्छस् । मैले त पहिल्यै ‘मास्टरी पढ जागिर पाइन्छ’ भनेथेँ, मेरो कुरो खाइनस् आदि ।
मैल मौन मूल्यांकन गरँे, पिताका तथ्यपरक तर्कहरूको ।
सोचेँ, कतै म अव्यावहारिक र अनुत्पादक क्षेत्रतिर हात लम्काइरहेको त छैन ? उत्तिनै खेर तर्कहरूको अर्थ खोतल्न थालेँ मनमनै । के काठमाडौंको माटोलाई सरकारी खातामा दर्ता गर्नु मात्रै जिन्दगीको प्रगति हो † बिहे गर्नु र बच्चा जन्माउनुलाई जीवनको उच्च व्यवस्थापन भन्न मिल्छ † यदि बच्चा जन्माउने कुरा नै प्रधान हो भने म पनि धेरै वर्ष पहिले नै बच्चा जन्माउन सक्ने क्षमता राख्दथेंँ । नमस्कारको पनि खरिद–बिक्री हुने यो समाजमा भटभटे चढ्नु र जग्गा जोर्नुलाई मात्रै प्रगति मानिँदोरहेछ । यही समाजमा अभ्यस्त भइसकेका मेरो पिताको यो मानसिकतालाई म हाँक दिँदै भन्न मन लाग्छ– बुबाले मलाई जस्तो मैले पनि उहाँलाई धनी, कार चढ्ने, अमेरिका बस्ने, सुटेडबुटेड अर्काका बाउहरूसँग दाँजेँ भने कति नरमाइलो लाग्ला † तर, मैले यो प्रतिक्रिया जनाइनँ । किनकि यसले उहाँको मर्ममा चोटभन्दा बढ्ता अरू केही दिँदैनथ्यो ।
तर, म एउटा यस्तो घेराभित्र थिएँ, बुबालाई मैले प्रतिक्रिया जनाउनै पथ्र्याे । शब्दको असली साँचो खोजेँ, ‘बुबा निराश नहुनुहोस्, पढाइ भर्खर सकिँदै छ, अब म जसरी पनि जागिर खान्छु ।’ पुलुक्क हेरेँ निराशा व्याप्त बुबाका आँखा । मझेरीमा प्युरी कात्दै गरेकी आमाको अनुहार । त्यतिबेला थाहै नपाई मेरो पनि आँखा रसाएछ । निराश अनि लाचार हँुदै बाहिर निस्कएँ । उन्मुक्तिको दीर्घ निश्वास तानेँ । मानौँ, भर्खर जेलबाट मुक्त कैदी हुँ म ।
कस्तो कमलो मन र खुकुलो आँखा मेरो, बरर.. आँसु पो झरेछ ।
बुबाको निष्कर्ष गुनासो मैले सुनिनँ वा सुन्न सकिनँ । यद्यपि, म सहज अनुमान गर्न सक्छु– उहाँको केन्द्रीय गुुनासोको निष्कर्ष र सुझावको । केन्द्रीय गुनासो वा सुझाव यही हुन सक्थ्यो– पैसा कमाउनु पर्छ, अब बिहे गर्नुपर्छ । तर, तत्काल यी दुवै सम्भावना दूर छन् मेरा लागि । म के गरौँ बा ?
पहिला विद्यालयका अतिरितm क्रियाकलापमा अघिल्लो स्थानको नतिजा आउँदा ‘ठूलो मान्छे बन्छस्’ भन्दै ढाडमा धाप मार्ने हातहरूले पनि व्यंग्य गरेझैँ लाग्छ । परिवार, आफन्त, समाजका बुज्रुकहरू र कथित शुभचिन्तकको ओठ लेब्य्राइँमा स्वाभिमानको अभावले कक्रन्छु ।
घाँटीसम्म आइसकेका यी स्वपीडनका सन्दर्भहरूले पनि म अझै उदास र निराश छैन । मेरो संघर्ष सार्थक हुनेमा म निश्चिन्त छु । यद्यपि, राजधानीको एक चोक्टो जग्गा आफ्नो नाममा पार्नुले मेरो संघर्ष सार्थक भएको ठहर्दैन । म बुर्जुवा विचारको पछि लाग्नु पनि त हँुदैन ।

प्रतिक्रिया