एनआरटीको लगातार दोस्रो हार

काठमाडौं, १६ चैत । सहिद स्मारक लिगअन्तर्गत सुपर लिगको उपविजेता दौडमा रहेका एनआरटी फ्रेन्ड्ससँग २–१ ले पराजित भएको छ । बिहीबार नै भएको आर्मी र आरसिटीबीचको खेलमा पनि गोलरहित बराबरी भयो । एक दिनअगाडि नै उपाधिको टुंगो लागिसकेको जारी लिगमा उपविजेताका लागि भने अझै छिनोफानो हुन सकेको छैन । यसका लागि अन्तिम खेल कुर्नुपर्ने हुन्छ । जारी लिगमा मनाङ ३८ अंकका साथ दोस्रो स्थानमा छ भने आर्मी बिहीबारको बराबरीपछि ३६ अंक बनाउँदै तेस्रो स्थानमा छ । एनआरटीको भने ३५ अंक रहेको छ । एनआरटी, आर्मी र मनाङ दुवैको दोस्रो हुने सम्भावना कायम छ ।

उपविजेताका लागि बलियो सम्भावना भएको मनाङले आफ्नो अन्तिम खेल उपविजेताको अर्को प्रत्यासी एनआरटीविरुद्ध खेल्नेछ । यदि एनआरटीलाई पराजित गरेमा वा बराबरी गरेमा मनाङ उपविजेता बन्नेछ । एनआरटीले जित्नैपर्ने बाध्यता छ । साथै एनआरटीले आर्मी र थ्री–स्टारबीचको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ । थ्री–स्टारले आर्मीलाई हराए या बराबरी गरे मात्र एनआरटी मनाङलाई हराएपछि हेड टु हेडको आधारमा दोस्रो स्थान प्राप्त गर्नेछ ।
आर्मीले थ्रीस्टारसँगको खेलमा जित हात पारे मनाङले एनआरटीविरुद्ध बराबरी खेलेमा समान ३९ अंक हुनेछ जसमा आर्मी हेड टु हेडमा पछि पर्नेछ । बिहीबार फ्रेन्ड्सलाई जित दिलाउने क्रममा डुडोज र प्रकाश बुढाथोकीले गोल गरे । पाँचै मिनेटमा नै डुडोजको गोलमा फ्रेन्ड्सले अग्रता लिएको थियो । पहिलो गोल भएको १० मिनेट बित्न नपाउँदै प्रकाश बुढाथोकीले गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएपछि एनआरटी २–० ले पछि पर्‍यो । एनआरटीका  लागि खेलको ४०औँ मिनेटमा २५ यार्डबाट विदेशी खेलाडी साहिद ओ अर्जेयले दोस्रो बार च्याप्दै  गरेको उत्कृष्ट फ्रिकिक प्रहार गोल भएपछि एनआरटीले खेलमा फर्कने आशा जगाएको थियो । दोस्रो हाफको ३० मिनेट निकै दबाबमा राख्न सफल भए पनि एनआरटीले गोल गर्न भने सकेन । ८८औँ मिनेटमा साहिदले फ्रेन्ड्सका डोडोजलाई फल प्रहरा गरेका कारण रातो कार्ड पाएपछि एनआरटी १० खेलाडीमा सीमित भएको थियो ।
बिहीबार नै भएको अर्काे खेलमा भरत खवासले निकालिदिएको पासलाई नवयुग श्रेष्ठले चुकाउँदा आर्मी बराबरीमा सीमित भयो ।
पुलिस र मनाङलाई जरिवाना
अखिल नेपाल फुटबल संघको अनुशासन समितिले थ्री–स्टार क्लबलाई ३८ हजार रुपियाँ जरिवाना तिराएको छ ।  सहिद स्मारक रेडबुल ए डिभिजन सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत ६ चैतमा थ्री–स्टार र लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबबीच भएको खेलको ९०औँ मिनेटमा विदेशी खेलाडी विले लियोनललाई रातो कार्ड देखाइएपछि पश्चिम प्याराफिटमा बसेका मनाङ समर्थकले कुर्सी तोडेका थिए ।
मनाङका विले लिओनलले सुलभ मास्केलाई अपशब्द प्रयोग गर्दै हातले मुक्का प्रहार गरेपछि  रातो कार्ड दिएको अनुशासन कमिटीले जनाएको छ । मनाङका  समर्थकबाट १९ वटा कुर्सीहरू तोडफोड गरी नष्ट गरेको हुँदा अनुशासन समितिको बैठकले ३८ हजार रुपियाँ जरिवाना गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया