जलविद्युत् आयोजनामा ढिलाइ

चरिकोट १५ चैत । दोलखामा संचालित जलविद्युत् आयोजना निर्धारित समयमा पूरा हुन नसक्ने भएका छन् । गत असारसम्म तीनवटा आयोजना पूरा भएर १६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थप हुनुपर्नेमा अझसम्म पनि सो कार्य पूरा हुन सकेको छैन ।

निजी क्षेत्रबाट निर्माणाधीन २ आयोजना गत आर्थिक वर्षभित्रै पूरा गर्ने गरी निर्माण सुरु भएको थियो । १० मेगावाटका सिप्रिङ खोला जलविद्युत् आयोजनाले १ पुस ०६८ बाट विद्युत् उत्पादन गर्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरे पनि त्यो आयोजना पूरा हुन सकेको छैन ।
नेपाल हाइड्रो डेभलपर कम्पनीले निर्माण गरिरहेको ३ दशमलव ५२ मेगावाटको चर्नावती खोला ०६९ वैशाख १ र बोझिनी हाइड्रो पावरले निर्माण गरिरहेको २ दशमलव ४ मेगावाटको जिरी सिक्री साना जल विद्युत् आयोजना असार मसान्तमा पूरा गर्ने सम्झौता थियो ।
कुनै पनि आयोजना समयमा पूरा हुन नसके पनि अबको ४ महिनासम्म पूरा गर्ने सबैले दाबी गरेका छन् । सिप्रिङले कार्तिकदेखि व्यवसाहिक उत्पादन भए पनि क्षेमताअनुसार उत्पादन सकेको छैन् । चर्नावतीले ९८ प्रतिशतभन्दा बढी काम सकेको बताएका छन् भने जिरी सिक्रीले ९० प्रतिशत काम पूरा गरेको छ ।
सिप्रिङ खोला जलविद्युत् आयोजनाका प्रमुख प्रह्लाद चौधरीले कात्र्तिकदेखि परीक्षण उत्पादन सुरु पूर्णक्षमता उत्पादन दाबी गरेका छन् . वर्षाको समयमा पनि तीव्र रूपमा काम गरिरहेका छौँ , उनले भने, कुनै अप्रिय घटना भएन भने कात्र्तिकबाट परीक्षण उत्पादन सुरु गर्छौँ । दुई वर्षअघि पहिरोले आयोजनामा क्षति पुर्‍याएको र पुन: डिजाइन परिवर्तन गर्नुपरेकाले आयोजनाको काम ढिलाइ भएको उनले बताए । सिप्रिङको विद्युत् सिंगटी सब स्टेसनमा जोड्ने सम्झौता गरे तापनि विद्युत् प्राधिरकणले अहिलेसम्म सब स्टेसन पूरा गरेको छैन ।
जिरी सिक्रीको प्रबर्धक बोझिनी हाइड्रो पावरका निर्देशक यज्ञप्रसाद सुवेदीले आयोजनाको बीचमा डिजाइन परिवर्तन गर्नुपरेकाले काम केही ढिला हुन गएको बताए । काम गर्ने सिजनमा डिजाइन परिवर्तन गर्नुपर्‍यो,उनले भने, वर्षातमा काम गर्न सकिएन, त्यसैले काम ढिला भयो । जिरीको काम वर्षात् सुरु भएपछि बढी पानी पर्ने भएकाले स्थगित छ ।
चर्नावतीमा पनि गत असारमा बाढीले भौतिक संरचना र पेनस्टकमा क्षेती पुर्‍याएकाले आयोजनाको काम लम्बिएको आयोजना प्रमुख सूर्य अधिकारीले बताए । आयोजनाको काम अन्तिम चरणमा पुगेका बेला खोलामा बाढी आएर क्षति पुर्‍याएपछि ४ महिना आयोजनाको काम लम्बिएको उनले बताए ।
२५ मेगावाटको खानी खोला १८.५ मेगावाटको तल्लोखारे खोला, २.२ मेगावाटको माथिल्लो चर्नावती, १ मेगावाटको समेत नेपाल प्राधिकरणसँग खरिद सम्झौता गरेर विद्युत् विकास विभागबाट उत्पादन इजाजतसमेत लिएका छन् । तर, यिनीहरूले समेत औपचारिक रूपमा काम सुरु गरेका छन् । पिपिए गरेको १२ मेगावाटको उपल्लो खिम्ती २.३० मेगावाटको खानी खोला र १ मगावाटको तिनेखु खोलाले भने विद्युत् विकास विभागबाट उत्पादन इजाजतको पर्खाइमा रहेका छन् ।
पन्ध्र सय मेघावाट विद्युत् हुने
दोलाखा :  दोलखाको लामाबगर गाविसबाट मात्र १ हजार ५ सय मेघावाट विद्युत् उत्पादन हुने अवस्था देखिएको छ । जिल्लामा उत्पादित आधा विद्युत् सो क्षेत्रवाट मात्र उत्पादन हुने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । ४ सय ५६ मेगावाटको निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना यही गाविसमा पर्छ ।
माथिल्लो तामाकोसी निर्माण स्थलभन्दा माथि पनि अहिले ठूला आयोजनाको अध्ययन भइरहेको छ । नासा हाइड्रोपावर कम्पनीले ३ सय मेगावाटको लाप्चे खोला आयोजना र इनर्जी भेन्चर कम्पनीले २ सय मेगावाटको माथिल्लो लाप्चे खोला ठूला आयोजना अध्ययन गरिरहेका छन् । अध्ययनकर्ताले यी आयोजना पनि माथिल्लो तामाकोसीकै अनुपातमा सस्ता आयोजनाका रूपमा लिने गरेका छन् । दुवै आयोजनामा पछि ५०/५० मेगावाटसम्म क्षमता विस्तार गर्न सकिने प्रवद्र्धकले बताए ।
‘लामाबगर जलविद्युत्का लागि उर्वर थलो हो’ माथिल्लो लप्चेका प्रवद्र्धक इनर्जी भेन्चरका सञ्चालक युवराज बस्नेतले भने, ‘यहाँको भोटेकोसी र लप्चे खोलाबाट धेरै विद्युत् उत्पादन गर्न सकिन्छ । जलविद्युत् उत्पादनका लागि राम्रो भूगोल भएकाले पनि लामाबगरलाई जलविद्युत्का लागि उपयुक्त थलोको रूपमा लिइएको छ ।
पूर्वाधारका हिसाबले लामाबगरमा थप जलविद्युत् सजिलो हुने अनुमान गरिएको छ । लामाबगरसम्म माथिल्लो तामाकोसी आयोजनाले सडक निर्माण गरेको छ । त्यसभन्दा माथि तिब्बत सिमानासम्म डिभिजन सडक कार्यालयले ट्रयाक खोल्ने काम सुरु गरेको छ । जोमखोलासम्म सडकको ट्रयाक सरकारले खोलिदिए त्यसभन्दा माथि लप्चीमा बन्ने आयोजना आफैँले सडक निर्माण गर्न सक्ने बस्नेत बताउँछन् ।
तिब्बतबाट लामाबगरमै आइपुग्ने जोम खोला, ह्वाङ खोला, गोगर खोलामा समेत निजी कम्पनीले एक दर्जनभन्दा बढी आयोजना अध्ययनका लागि विद्युत् विकास विभागमा आवेदन दिएका छन् । केही कम्पनीले अध्ययनका लागि स्वीकृतिसमेत पाइसकेका छन् । अपर तामाकोसी हाइडोपावर कम्पनीले तामाकोसी आयोजनाको काम पूरा हुनेबित्तिकै ५० मेगावाटको अर्को आयोजना तामाकोसी ‘ए’ बनाउने बताएको छ । रोल्वालिङ खोलाको पानीलाई फर्काएर सो आयोजना निर्माण गर्ने र त्यो पानी माथिल्लो तामाकोसीको ड्याममा नै खसाल्ने योजना कम्पनीको छ ।
माथिल्लो तामाकोसीको टेलरेसबाट निस्केको पानीलाई पुन: ६ किलोमिटर सुरुङबाट सुरीदोभान नजिक ल्याएर १ सय ५० मेगावाट विद्युत् उत्पादनको सम्भावना पनि कम्पनीले  देखाएको छ । माथिल्लो तामाकोसीले सन् २०१८ सम्म तीनै आयोजनाबाट ६ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका साइड प्रतिनिधि विमल गुरुङले बताए । दोलखामा उत्पादन हुने विद्युत्मध्ये आधा विद्युत् लामाबगरबाटै निकाल्न सकिने अध्ययनले देखिएको छ ।

प्रतिक्रिया