हङकङसामु नेपाल निरिह

काठमाडौं, १५ चैत । साविक उपविजेता हङकङले उच्चस्तरको प्रदर्शन गरेपछि नेपालले चौथो एसियाली क्रिकेट परिषद् (एसिसी) टी–ट्वान्टी एलिट कपमा पहिलो हार बेहोरेको छ । समूहको दोस्रो खेलमा बुधबार चिरप्रतिद्वन्द्वी हङकङविरुद्ध नेपाल ६ विकेटले पराजित भएको हो ।

टस जिती पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ११५ रन जोडेको थियो । हङकङले १६.३ ओभरमा चार विकेट गुमाएर जित सहजै निश्चित गर्‍यो । पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेको हङकङ सानदार प्रदर्शन गर्दै खेलभर नेपाली बलरविरुद्ध हावी भयो । पहिलो विकेटका रूपमा आउट हुनुअघि प्रारम्भिक ब्याट्सम्यान इरफान अहमदले बिस्फोटक ब्याटिङ गरी १६ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै २९ रनको योगदान गर्दा हङकङले तेस्रो विकेटका लागि ७० रनको साझेदारी गरेको थियो । अर्का प्रारम्भिक ब्याट्सम्यान बाकस बर्कत ३९ रन जोडेर आउट भए भने निजाकत खान ४२ रनमा नटआउट रहे ।
हङकङले सुरुको तीन ओभरमा ३९ रन जोड्दा दोस्रो ओभरमा पारस खड्काले १४ र तेस्रो ओभरमा अमृत भट्टराईले २१ रन खर्चिएका थिए । यी दुवै फास्ट बलर महँगो सावित भएपछि नेपालले वसन्त रेग्मी र शक्ति गौचनलाई चौथो ओभरदेखि बलिङ आक्रमणको जिम्मा दिएको थियो र सोहीअनुसार पहिलो ओभरमै विकेट लिएर यी दुईले नेपालको आशा जगाएका पनि थिए । तर, निजाकत र बाकसले त्यसपछि स्तरीय ब्याटिङ प्रदर्शन गर्दै नेपाली बलरलाई ‘स्पेस’ दिएनन् । निजाकत, बाकस र इरफानले निकै स्तरीय सर्टहरू खुलेर खेले ।
यसअघि हङकङले सानदार बलिङ गर्दा उसको फिल्डिङ पनि उत्तिकै चुस्त रह्यो । नेपालको इनिङमा आठ चौका र दुई छक्का मात्र समावेश हँुदा ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रन जोडे भने प्रदीप ऐरीले २१ रन बनाए । सुवास खकुरेल ६, कप्तान पारस खड्का ४, शरद भेष्वाकर ५, वसन्त रेग्मी ५, मञ्जित श्रेष्ठ ७, शक्ति गौचन ११ र विनोद भण्डारी १५ रन जोडेर आउट भए । अलराउन्डरका रूपमा समावेश मञ्जितले यस खेलमा पनि कमजोर प्रदर्शन गरे ।
पहिलो र अन्तिम ओभरमा एक रन मात्र जोडिएको नेपाली इनिङमा पहिलो विकेटका लागि १६ रनको साझेदारी हँुदा तेस्रो ओभरमा प्रदीपमार्फत पहिलो चौका प्रहार भएको थियो भने पहिलो छक्का १०औँ ओभरमा विनोद भण्डारीले प्रहार गरेका थिए । उच्चस्तरको फिल्डिङ गरेको हङकङले धेरैपटक सम्भाव्य चौकालाई असफल बनाएर नेपाली ब्याट्सम्यानलाई निराश बनाएको थियो । बलिङतर्फ हङकङका नदिम अहमदले तीन तथा तन्विर अजमल र ऐजाज खानले समान दुई विकेट लिए । पाकिस्तानको मुल्तानमा जन्मिएका यी २५ वर्षीय स्लो लेफ्ट आर्म अर्थोडक्स नदिमले चार ओभरमा १८ रन खर्चिए । हङकङले सन २०१० को एसियन गेम्सपछि पहिलोपटक टी–ट्वान्टीमा नेपाललाई हराएको हो ।

प्रतिक्रिया