पहिलो कवितालाई हजार डलर

Kabitaकाठमाडौं : नेपाल साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाद्वारा आयोजित अन्तर्राष्ट्रिय कविता महोत्सव–२०१२ का विजेतालाई राजधानीमा बुधबार एक कार्यक्रमबीच प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरियो । प्रतिष्ठानको नेपाल च्याप्टरका संयोजक विश्वविमोहन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँलाले महोत्सवमा प्रथम हुने भोजपुरका गणेश खड्कालाई प्रमाणपत्र र एक हजार अमेरिकी डलर, दोस्रा हुने रामेछापका जीवन खत्रीलाई प्रमाणपत्र र तीन सय अमेरिकी डलर र सान्त्वना पुरस्कारवापत नुवाकोटका कृष्णकिसु न्यौपानेलाई एक सय अमेरिकी डलर प्रदान गरे ।
महोत्सवमा तेस्रो स्थान हासिल गर्ने रूपन्देहीकी सिर्जना शर्माले दुई सय डलर र अर्को सान्त्वना पुरस्कार झापाकी मीरा थापाले एक सय डलर पाउने भए पनि उनीहरू दुवैजना हाल विदेश रहेकाले जुलाईमा अमेरिकामा हुने कार्यक्रममै पुरस्कृत हुने आयोजकले जानकारी गराए । महोत्सवमा संसारभर छरिएर रहेका उत्साही नेपालीहरूले दुईसयभन्दा बढी कविता प्रतियोगी बनाएका थिए ।
प्रतिष्ठानको नेपाल च्याप्टरका सचिव श्रीओम श्रेष्ठ रोदनले एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) र प्रतिष्ठानका अध्यक्षले पठाएका शुभकामना सन्देशहरू पढेर सुनाएका थिए । कार्यक्रममा पुरस्कृत तीनै कविले पनि आ–आफ्ना पुरस्कृत कविता वाचन गरेका थिए ।
प्रतिष्ठानले महोत्सवका तीसवटा उत्कृष्ट कविता र पहिलो स्थान प्राप्त गर्ने गोकुल खड्काका कविताहरूको संग्रह प्रकाशन गर्न लागेको पनि उक्त अवसरमा जानकारी गराइएको थियो । यसअघि दुईपटक आयोजित भइसकेको महोत्सवमा पहिलो संस्करणमा उमेश राई अकिञ्चन र दोस्रो संस्करणमा रामबहादुर तामाङ रावत प्रथम भएका थिए । (सौस)

प्रतिक्रिया