वित्तीय सहकारीको ब्याजदर निर्धारण गरिने

काठमाडौं, १३ चैत । वित्तीय कारोबार गर्ने सहकारी (बचत तथा ऋण र बहुउद्देश्यीय) सहकारीको ब्याज निर्धारण गरिने भएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीभन्दा बढी व्याज लिने गरेकाले यसलाई नियन्त्रण गर्न सरकारले व्याजदर निर्धारण गर्ने भएको हो । सहकारीमा बैंक तथा वित्तीय संस्थाभन्दा बढी व्याजदरमा रकम जम्मा गर्ने र लगानीसमेत गरेकाले सदस्यहरूको निक्षेप जोखिममा पर्ने गरेको छ ।

व्याजदर निर्धारण नहुँदा वाणिज्य बैंकमा भन्दा सहकारीमा बचत गर्ने दबाब बढेको भन्दै यस्तो गर्न लागिएको हो । सहकारी संस्थाले बचत र ऋणमा दिने व्याजदरको सीमा निर्धारण गरी अन्य बैंक, फाइनान्स कम्पनीको हाराहारीमा राख्नुपर्ने सरकारद्वारा गठित समितिले सो सुझाव पेस गरेको छ । सहकारीले सदस्य उपर शोषण हुने गरी कर्जामा बढी ब्याज लिने साथै सेवा शुल्क उठाउने कामलाई तत्कालै रोक लगाउनुपर्ने कुरामा जोड दिएको छ । ब्याजदर नियन्त्रण गर्न बचत र कर्जाको ब्याजमा स्पेड दर निर्धारण गर्ने र लिने दिने ब्याजदरको स्ल्याब निर्धारण गर्ने कामलाई सहकारी विभागले कडाइका साथ निगरानी राख्नुपर्ने सुझाव पेस गरेको छ ।
सरकारले तीन भदौ ०६९ मा बसेको बैठकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्ने सम्बन्धमा अध्ययन गरी राय सुझाव पेस गर्ने गरी अर्थ मन्त्रालयका सह–सचिव अर्यालको संयोजकत्वमा गठीत सुझाव समितिले सो सम्बन्धि प्रतिवेदन पेस गरेको हो । बैंक तथा वित्तीय संस्थाभन्दा बढी व्याज सहकारीले दिने गरेको बताउँदै सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । ‘सहकारीले आर्कषक व्याज दिई निक्षेप संकलन गर्ने गरिरहेको छ’ उनले भने, ‘यसले गर्दा सर्वसाधारण नबुझी सहकारीतर्फ आकर्षित भएको र निक्षेप जोखिममा परेको हो ।’ निक्षेपको दर बनाई सोही अनुसार कार्यान्वयनमा लैजानुपर्ने उनले बताए ।
सहकारी संघ/संस्था दर्ता, सञ्चालन, लेखा परीक्षण, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड, ०६८ को व्याज दरसम्बन्धी व्यवस्थामा सहकारी संस्थाले व्याजदर निर्धारण गर्दा अन्यत्रबाट लिएको ऋणको रकम वा सदस्यहरूको वचत निक्षेपमा दिइने ब्याजदर र सदस्यहरूलाई प्रवाह गरिने कर्जामा लिइने औसत ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा बढी हुन नपाइने व्यवस्था गरेको छ । लिने/दिने व्याज दर सहकारी संस्थाहरूको बीचमा रहेको चलन चल्तीको दरभन्दा अधिक भएको पाइएमा बढी लिने/दिने गरेको व्याज वापतको रकम सम्बन्धित सदस्यलाई फिर्ता बुझाउनुपर्ने प्रावधानसमेत रहेको छ । त्यस्तै विभिन्न नामको निक्षेपमा दिइने व्याज दर र विभिन्न कर्जामा लिइने व्याज दरको अन्तर तीन प्रतिशतभित्र कायम राख्नुपर्नेछ, निक्षेप र कर्जाको ब्याजदर अनिवार्य रूपले सञ्चालक समितिबाट निर्णय गराई लागू गर्नुपर्ने लगायतका प्रावधान रहेको छ ।
हाल विशेष गरी बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाहरूले ठूलो कारोवार गर्न थालेका र संस्थागत सुशासन एवं पारदशिर्ताको कमिका कारण बचतको जोखिम बढ्दै गएको सहकारी विभागले जनाएको छ । सहकारीहरूले सञ्चालकहरूको निजी घरजग्गा व्यवसायमा समेत लगानी गरेकाले घरजग्गा व्यवसायमा देखा परेको मन्दीले बैंक तथा वित्तीय संस्थाहरूलाई पारेको नकारात्मक प्रभाव सहकारी संस्थाहरूमा पनि देखिन थालेको छ । देशभर बचत तथा ऋण सहकारी १२ हजार र बहुउद्देश्यीय सहकारी चार हजारभन्दा बढी रहेको ।

५६औ सहकारी दिवसको तयारी
ललितपुरका सहकारी संघ/संस्थाले ५६औँ राष्ट्रिय सहकारी दिवसको तयारी गरिरहेका छन् । जिल्लामा विभिन्न ११ उपसमिति गठन गरी कार्यविभाजनसमेत गरिएको र सहकारी प्रवद्र्धनका कार्यक्रमको आयोजना गरिएको सहकारी दिवस प्रचार समितिका संयोजक अमृतनाथ तिमल्सिनाले जानकारी दिए ।
सो अवसरमा सहकारी चेस प्रतियोगिता, सहकारी कविता वाचन प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, रक्तदान कार्यक्रम, मोटरसाइकल र्‍याली, प्रभातफेरि तथा उत्कृष्ट सहकारी संस्थालाई पुुरस्कृत गर्ने लगायतका कार्यक्रम रहेका तिमल्सिनाले बताए । जिल्लाका सात विषयगत सहकारी संघ, प्रारम्भिक सहकारी संस्था तथा डिभिजन सहकारी कार्यालय र सरकारी निकायको परिचालनसमेत गरिने जिल्ला सहकारी संघले जनाएको छ ।
२० चैत ०१३ मा चितवनको बखान ऋण सहकारी स्थापना गरिएको स्मरण गर्दै नेपालमा सहकारी दिवस मनाइँदै आएको छ । दिवस विभिन्न प्रारम्भिक संस्थाले समेत विभिन्न कार्यक्रमको आयोजना गरिने सहकारी दिवस मूल समारोह समितिका संयोजक माधव दुलालले बताए ।

अरनीको सहकारी उत्पादनमूलक क्षेत्रमा
काठमाडौं : थापाथलीस्थित अरनीको बहुउद्देश्य सहकारी संस्था लिमिटेडले उत्पादनमूलक कृषि परियोजना सञ्चालन गर्ने भएको छ । कृषिको उत्पादन बढाउन कृषि परियोजना सञ्चालन गर्न लागेको संस्थाको १४औँ वार्षिक साधारण सभाका अवसरमा अध्यक्ष नारायणप्रसाद अर्यालले बताए ।
कृषि तथा पशुपालनका विभिन्न क्षेत्रमा लगानी गरी स्वरोजगारको कार्यक्रम सञ्चालन गर्ने सोच रहेको उनले बताए । कार्यक्रममा नेपाल बहुउद्देश्यीय सहकारी केन्द्रीय संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय सहकारीले कृषि क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताए । कृषि उत्पादन बढाउन सके मात्र कृषि क्रान्ति संभव छ, उनले भने, त्यसकारण यसतर्फ लगानी बढाउन बहुउद्देश्यीय कर्मीहरूलाई अनुरोध गर्दछु उनले भने ।
सभामा संस्थाका सचिव तुलसीप्रसाद सापकोटाले चार करोड ९० लाख ५० हजार दुई सय ८० रुपियाँ निक्षेप संकलन गरेको बताए । संस्थाको चुक्तापुँजी १२ लाख २४ हजार ६ सय ९७ रुपियाँ रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया