पूर्वसभासद्लाई मधेस प्रवेश नदिइने

काठमाडौं, १३ चैत । मधेसी युवा विद्यार्थी जागरण अभियानले संविधानसभाबाट संविधान लेख्न नसकेकाले तलब–भत्ता फिर्ता नगरेसम्म ६ सय एक पूर्वसभासद्लाई मधेस प्रवेशमा रोक लगाउनेसहितका विरोध कार्यक्रम सार्वजनिक गरेको छ ।

राजधानीमा सोमबार अभियानले पत्रकार सम्मेलन गरी जनभावनाअनुरूप शीर्ष तीन दल र मधेसी मोर्चाले काम नगरेको भन्दै उनीहरूको भण्डार गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । चैत १३ गतेदेखि १५ गतेसम्म आन्दोलनको प्रचार, १६ देखि २० गतेसम्म तीन ठूला दल, मधेसी मोर्चा र अन्तरिम चुनावी मन्त्रिपरिषद्को भन्डाफोर गर्नेसहितका कार्यक्रम छन् ।
चैत २१ देखि २४ गतेसम्म ६ सय एक पूर्वसभासद्लाई मधेस प्रवेशमा रोक लगाउने भन्दै उनीहरूले आफ्ना माग पूरा नभए मधेस बन्दको कार्यक्रमसमेत गर्ने अभियानले जनाएको छ । आन्दोलनको पहिलो चरणअन्तर्गत १६ फागुनदेखि १२ चैतसम्म राजधानीको भद्रकालीमा रिले अनशन गरे पनि बेवास्ता गरेको उनीहरूको आरोप छ । अभियानका संयोजक गोपाल राय कुर्मीले आफूहरूले भद्र ढंगले गरेको रिले अनसनलाई अपमान गरिएको बताए । आफ्नो कार्यभार पूरा नगरी ६ सय एक सभासद्ले राज्यको ढुकुटी बर्बाद पारेको आरोप लगाउँदै कुर्मीले भत्ता फिर्ता नगरेसम्म मधेसबाट चुनाव लड्न नदिने चेतावनी दिए । मधेसी मोर्चाले पनि आफ्ना मागको सुनुवाइ नगरेको भन्दै यस्तो धोकाको कडा जवाफ दिने उनको भनाइ थियो ।

प्रतिक्रिया