कवितामा पोखिए कवि श्यामल

Symalबाग्लुङ, ११ चैत । चार दशक कविता लेखनमा गुजारेका कवि श्यामल शनिबार आफ्नो एकल कार्यक्रमका साथ बाग्लुङमा प्रस्तुत भए ।

श्यामलका प्रतिनिधि कविता वाचन तथा संवाद कार्यक्रममा सयौँ पाठक तथा दर्शक टिकट काटेर कार्यक्रम स्थलमा पुगेका थिए । नयाँ सांस्कृतिक आन्दोलन–२०६८, बाग्लुङले श्यामललाई बाग्लुङमा उतारेको हो ।
फागुनदेखि जेठसम्मलाई सांस्कृतिक यामका रूपमा मनाउने सिलसिलामा आन्दोलनले श्यामलको एकल कविता वाचन तथा संवाद कार्यक्रम आयोजना गरेको हो । करिब तीन सय बढी पाठक तथा दर्शकबीच श्यामलले आफ्ना नयाँ–पुराना गरी दुई दर्जन जति कविता वाचन गरे । पाँच सय रुपियाँको टिकट राखिएको कार्यक्रममा दर्शक हलमा खचाखच देखिन्थे ।
दैलेखमा जन्मिएका ५५ वर्षीय श्यामल चार दशकदेखि कविता लेखनमा क्रियाशील छन् । पाँच दशकयता नेपाली समाजको अवस्था झल्काउने कविता पाठ गरेका श्यामलले रचना गर्भ बारेमा बोलेका थिए । समयसामयिक रचनासमेत सुनाएका श्यामलका कवितामा नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक अवस्था चित्रित थियो । श्यामलसँगै बाग्लुङ आएका कवि बिमल निभा, राजव, पुरुषोत्तम सुवेदी, अभय श्रेष्ठ, विनोदविक्रम केसी, जोतारे धाइवा, सुको साइवरलगायतले श्यामलका छानिएका रचना पाठ गरे ।
यस्तै कवि निभा, राजवले श्यामलको रचना शिल्पमाथि टिप्पणी गरे । विद्यार्थीलाई दुई सय र अन्यलाई पाँच सय टिकट काटेर स:शुल्क कविता सुन्ने कार्यक्रम धवलागिरि अञ्चलमै पहिलोपटक आयोजना भएको हो । नयाँ पुस्तालाई कला र संस्कृतिसँग जोड्न फरक सोच र शैलीका साथ कार्यक्रम आयोजना गरिएको नयाँ सांस्कृतिक आन्दोलनका संयोजक मुकेशचन्द्र राजभण्डारीले बताए । ‘कविताको मूल्य स्थापित गर्न र कविहरूमा नयाँ ऊर्जा थप्नका लागि यस किसिमको कार्यक्रम गरेका हौँ,’ राजभण्डारीले भने, ‘स:शुुल्क सिर्जना सुन्ने संस्कृतिको विकास गर्न आवश्यक छ ।’ कार्यक्रममा कवि श्यामलका हत्याराको आत्मलाप शीर्षकको कवितालाई सौर्यकर्मी तथा कलाकार कृष्ण अधिकारी अक्रिनले क्यानभास चित्रमा उतारेका थिए ।
आन्दोलनले यसअघि मेरो गजल मेरो जिन्दगी (गजल गायन तथा गोष्ठी) मनमा शान्ति, मन्दिरमा शान्ति (प्रसिद्ध कालिका भगवती मन्दिरमा स्थलगत कविता लेखन) कार्यक्रम गरेको थियो । कवि श्यामलका तपाईंहरू मार्फत्, लय ब्रह्म र हतारमा यात्रा प्रकाशित कविता कृति हुन् । यस्तै आन्दोलनले आगामी वैशाखमा सडक फोटो प्रदर्शनी र जेठमा समाजवाद बारेको बहस कार्यक्रम आयोजना गर्ने जनाएको छ । श्यामलको एकल कार्यक्रमपछि पोखरा, पर्वत, बाग्लुङ, म्याग्दीलगायत ठाउँबाट सहभागी कवि/लेखकहरूले आफ्ना रचनासमेत पाठ गरेका थिए ।

प्रतिक्रिया