संजयदत्तलाई जेल

sanjay-duttमुम्बई : बलिउड चर्चित अभिनेता सञ्जय दत्तलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटमा सहयोग गरेको र हतियार राखेको आरोपमा उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको हो । बिहीबार भारतको सर्वोच्च अदातलले अभिनेता सञ्जयलाई सो सजाय सुनाएको हो । सञ्जयले यसभन्दा अघि नै १६ महिना जेल सजाय काटिसकेका उनले अब साढे तीन वर्ष जेलमा बस्नुपर्ने भएको छ । यस्तै सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटको आरोपमा याकुब मेननलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
सञ्जय दत्त जेल जानु भनेको बलिउड चलचित्रका लागि ठूलो झड्का पनि हो । उनको जेल सजायले बलिउड चलचित्र क्षेत्रलाई तीन सय पचास करोडको घाटा लाग्ने अनुमान गरिएको छ । सञ्जयका ‘पुलिसगिरी’, ‘जंजीर’, ‘उंगली’, ‘शेर’, ‘घनचक्कर’लगायतका आधा दर्जन चलचित्र निर्माण अधुरै छ । आगामी वर्ष ‘पिके’ र ‘मुन्नाभाई चले दिल्ली’ चलचित्र रिलिजको तयारीमा छ । चलचित्र ‘पिके’मा सञ्जयका साथै आमिर खान पनि प्रभुख भूमिकामा छन् । ठूला ब्यानरका र धेरै लगानीमा निर्माण भइरहेका केही चलचित्रमा अहिले सञ्जयले अभिनय गरिरहेका छन् ।
बलिउड चलचित्र क्षेत्रलाई धेरै नै नोक्सानी हुने देखिए पनि उनलाई सुनाइएको फैसलामा केही राहत मिल्न सक्ने अनुमान पनि गरिएको छ । मुद्दामा सञ्जयको पक्षमा तीन कुराहरू रहेको छ । सञ्जयलाई पहिले नै आतंक फैलाउने विषयमा मुक्ती दिइसकिएको छ । यस्तै सिबिआईले सञ्जयको विरुद्ध कुनै पनि अपिल जारी गरेको छैन र हाल सञ्जयको नाममा दुई सय करोड रुपियाँ बलिउडमा लगानी भइसकेको छ । यसैले पनि उनलाई केही राहत मिल्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया