ठूलो पुरस्कार राशिको बास्केटबल हुँदै

काठमाडौं, ९ चैत । नेपाली बास्केटबलकै सर्वाधिक पुरस्कार राशिको बास्केटबल प्रतियोगिता वैशाखमा हुँदै छ । विश्वविद्यालय खेलकुद संघ नेपालको आयोजनामा हुने उक्त प्रतियोगिताको नाम ‘प्रथम विश्वविद्यालय बास्केटबल प्रतियोगिता’ दिइएको छ । ‘राष्ट्रको गौरव हाम्रो शान, विदेशमा नेपालको पहिचान’ नाराका साथ हुन लागेको प्रतियोगिताको कूल पुरस्कार राशि २ लाख २५ हजार रुपियाँ रहेको आयोजकका महासचिव पूर्णसिंह बोहोराले जनाएका छन् । त्यसमा शीर्ष तीन स्थान हासिल गर्नेले क्रमश: १ लाख १० हजार, ७० हजार र ३५ हजार नगद पुरस्कार हात पार्नेछन् । उत्कृष्ट खेलाडीलाई १० हजार नगद पुरस्कार दिइनेछ ।

प्रतियोगितामा ५ विश्वविद्यालयमा सम्बन्धन प्राप्त कलेजका करिब २ सय पुरुष टिमको सहभागिता रहने बताइएको छ । नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरू
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलसहित चार ठाउँमा हुनेछ । उक्त प्रतियोगिता जुलाईमा रसियामा हुने समर युनिभर्सियाड–२०१३ का लागि खेलाडी छनोटका रूपमा समेत रहेको महासचिव बोहोराले बताए । प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख खर्च हुनेछ । वैशाख २५ देखि सुरु हुने प्रतियोगिताको फाइनल जेठ १० मा हुनेछ ।

प्रतिक्रिया