२५ अर्बको विलासिताका वस्तु आयात

काठमाडौं, ८ चैत । चालु आर्थिक वर्षको पहिलो सात महिनामा विलासिताका वस्तुहरू मात्रै २५ अर्ब रुपियाँभन्दा बढीको आयात गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार नेपालले माघसम्म विलासिताका वस्तुहरू सुन, चाँदी, इनर्जी ड्रिक्स, रक्सीजन्य वस्तुहरू, सुर्तीजन्य पदार्थ र अन्य सौन्दर्य प्रशाधनका सामग्री खरिद गर्न मात्रै २५अर्ब ३३ करोड रुपियाँ खर्च गरेको छ ।

कुल ३ सय ४० अर्ब १६ करोड रुपियाँको सामान आयात गरेको नेपालले सुनचाँदी आयात गर्न मात्रै साढे २० अर्ब रुपियाँ नेपालबाहिर पठाएको छ । त्यसैगरी, सौन्दर्य सामग्री खरिद गर्न २ अर्ब ६ करोड र चुरोटजन्य पदार्थ खरिद गर्न १ अर्ब २४ करोड रुपियाँ नेपालबाहिर पठाएको छ । नेपालको ट्राफिक प्रहरीले जतिसुकै रक्सी सेवनमा कडाइ गरेर मापसे चेक जाँच गरे पनि रक्सी आयातमा भने गत वर्षको पहिलो ७ महिनाको तुलनामा करिब ४४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको सात महिनामा मात्रै विदेशी ब्रान्डका रक्सी १अर्ब ३ करोडको आयात भएको छ । गत वर्ष सोही अवधिमा ७१ करोड रुपियाँको मात्र रक्सी आयात भएको थियो ।
नेपालको आयातमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थले ओगट्ने गरेको छ । ७ महिनामा नेपालले पेट्रोलियम पदार्थ मात्रै ६० अर्ब ७८ करोड रुपियाँको आयात गर्‍यो भने १९ अर्ब ६९ करोडको सवारीसाधन र त्यसका पार्टस् तथा १७ अर्ब ९३ करोडको मेसिनरी सामान आयात गरेको छ । त्यस्तै, नेपालले सो अवधिमा १४ अर्ब ३२ करोड रुपियाँका विद्युतीय सामग्री आयात गरेको छ ।
नेपालको आयातको तुलनामा निर्यातको आयातन कम भए पनि छिमेकी मुलुक चीनसँगको निर्यात भने पछिल्लो समय केही वृद्धि भएको छ । केन्द्रको तथ्यांकअनुसार नेपालको चीन निर्यात व्यापार २ सय १९ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो सात महिनामा करिब ४७ करोड रुपियाँको सामान निर्यात गरेको नेपालले चालु आवको पहिलो ७ महिनामा करिब डेढ अर्बको सामान निर्यात गरेको छ । विशेषगरी, नेपाली सामग्रीहरूको भन्साररहित प्रवेश भएपछि चीनमा सामान निर्यातको मात्रा बढेको हो । त्यसैगरी, १३ करोडको सामान टर्की निर्यात गरेको नेपालले चालु आवको माघसम्म ५४ करोड रुपियाँमा सामान टर्की निर्यात गर्न सम्भव भएको छ । त्यस्तै, थाइल्यान्डसँगको निर्यात व्यापार पनि ९५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष थाइल्यान्डमा १९ करोड रुपियाँको सामान निर्यात भएकोमा चालु वर्षको पहिलो ७ महिनामा यो बढेर ३५ करोड रुपियाँ पुगेको छ । प्रतिशतमा धेरै ठूलो फड्को मारेको जस्तो देखिए पनि नेपालको निर्यात व्यापारको आयतन आयात व्यापारको तुलनामा धेरै सानो भएकाले नेपालले व्यापार घाटा भने हरेक वर्ष चुलिँदै गएको छ ।
नेपालले ७ महिनामा कुल ४४ अर्ब २० करोड रुपियाँमा सामान निर्यात गरेको छ भने करिब ३ सय ४० अर्ब रुपियाँको सामान आयात गरेको छ । नेपालले चालु आवको पहिलो ७ महिनामा करिब ३ सय ८४ अर्ब ३६ करोड रुपियाँको व्यापार गरेकोमा निर्यात अंश साढे ११ प्रतिशत र आयातको अंश साढे ८८ प्रतिशत रहेको छ । आव ०६८/६९ को प्रथम सात महिनाको अवधिमा आयात निर्यात अनुपात १:६.४ भएकोमा आव ०६९/७० को सोही अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १:७.७ पुगेको छ ।
उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादनहरू, हस्तकलाका सामानहरू, चाँदीका गरगहनाहरू, चाउचाउ, टुथपेस्ट, अलैँची, चिया, अदुवा, सुपारी, नेपाली हातेकागज, छाला, पस्मिना सल, जडिवुटी आदि प्रमुख रहेका छन् । समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैँचाको निर्यातमा १८.३ प्रतिशतले ह्रास आई ३.०० अर्ब, तयारी पोसाकको निर्यातमा २४.५ प्रतिशतले ह्रास आई २.०४ अर्ब हुन आएको छ । यसैगरी फलाम तथा स्टिल र तिनका उत्पादनको निर्यातमा ६.८ प्रतिशतले वृद्धि भई ६.९३ अर्ब, पोलिस्टर तथा अन्य धागोमा ६.४ प्रतिशतले ह्रास आई ३.३४ अर्ब, मुसुरोको दालमा ६१.१ प्रतिशतले वृद्धि भई २.२४ अर्ब रुपियाँ पुगेको छ । समीक्षा अवधिमा ७२.३७ करोडको छाला, २.११ अर्बको अलैँची, १.२१ अर्बको चिया, ८६.३४ करोडको अदुवा, ३२.०३ करोडको चाउचाउ, ९८.९८ करोडको जडीबुटी, ५१.५५ करोडको टुथपेस्ट, ३.०८ अर्ब टेक्सटाइल, २५.४९ करोडको हस्तकलाका सामान, २७.१८ करोडको नेपाली हातेकागज निकासी भएको देखिन्छ । साथै, समीक्षा अवधिमा १.६७ करोडको कफी, ९.०८ करोडको मैदा, ४०.०१ करोडको पीना तथा ५.१७ करोड रुपियाँको साबुन पनि निर्यात भएको देखिन्छ । नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, बंगलादेश, जर्मनी, चीन, युके, जापान, फ्रान्स, टर्की, थाइल्यान्ड, इटाली, क्यानडा, भुटान आदि प्रमुुख रूपमा रहेका छन् ।
आयात, आव ०६९/७० को प्रथम सात महिनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा २१.७ प्रतिशतले वृद्धि भई ३४.१३ अर्ब, पेट्रोलियम पदार्थमा २२.१ प्रतिशतले वृद्धि भई ६०.७९ अर्ब, यातायातका साधन र तिनका पार्टपुर्जामा ३९.९ प्रतिशतले वृद्धि भई १९.७० अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरूमा १९.१ प्रतिशतले वृद्धि भई १४.३३ अर्ब, औषधिमा १५.३ प्रतिशतले वृद्धि भई ९.०८ अर्ब, मसिनरी तथा पार्टस्मा २६.९ प्रतिशतले वृद्धि भई १७.९४ अर्ब, पोलिथिन ग्रेन्युल्समा १२.० प्रतिशतले वृद्धि भई ७.२६ अर्ब, कच्चा पाम आयलमा १२.२ प्रतिशतले ह्रास आई १.८४ अर्ब, दूरसञ्चारका सामग्रीहरूमा १४.३ प्रतिशतले वृद्धि भई ७.४४ अर्ब, रसायनमा १३.५ प्रतिशतले वृद्धि भई ३.९० अर्ब भएको छ । यसैगरी, समीक्षा अवधिमा १५.१३ अर्ब बराबरको सुन, ९.७२ अर्ब बराबरको रासायनिक मल तथा १.४५ अर्ब बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्टस् पैठारी भएको छ । साथै, सो अवधिमा सिमेन्ट क्लिंकर (३.१५ अर्ब), भटमासको कच्चातेल (६.६५ अर्ब), तयारी पोसाक (५.५४ अर्ब), अन्न (११.६२ अर्ब), ऊन (१.५२ अर्ब) पनि उल्लेख्य रूपमा पैठारी भएको देखिन्छ ।
नेपालको पैठारी व्यापारमा भारत, चीन, युएई, थाइल्यान्ड, इन्डोनेसिया, अर्जेन्टिना, मलेसिया, संयुक्त राज्य अमेरिका, जापान, दक्षिण कोरिया, ब्राजिल, साउदी अरब, जर्मनी आदि प्रमुुख रूपमा रहेका छन् ।
नेपालका परम्परागत निर्यातजन्य वस्तुहरू ऊनी गलैँचा, तयारी पोसाक आदिको निर्यातमा ह्रास आएको छ भने परम्परागत कृषिजन्य वस्तुहरूको निर्यातमा केही सुधार देखिएको छ । समीक्षा अवधिमा अधिकांश प्रमुख वस्तुहरूको आयातमा उल्लेख्य वृद्धि भएको देखिन्छ । परिणामत: आर्थिक वर्ष ०६९/७० को प्रथम सात महिनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८ दशमलव ५ प्रतिशतले वृद्धि भई नेपालको कुल व्यापार घाटा २९५.९६ अर्ब पुगेको छ ।

प्रतिक्रिया