निर्वाचनका लागि नेकपा–माओवादीका सर्त

maobadi flagकाठमाडौं, ७ चैत । नेकपा–माओवादीले प्रमुख चार राजनीतिक शक्तिबीच भएको एघार बुँदेसहमति खारेज गर्न माग गरेको छ ।
नेपालस्थित विभिन्न मुलुकका राजदूत र कुटनीतिक नियोगका प्रमुखसँग आज राजधानीमा भएको छलफलका क्रममा नेकपा–माओवादीले दुई वटा माग पुरा भए मात्रै संविधानसभा निर्वाचन हुन सक्ने जनाएको हो । उसले एघार बुँदे र संविधानको बाधा अड्काउ फुकाउन बनेको २५ बुँदा खारेज तथा खिलराज रेग्मीलाई हटाएर राष्ट्रिय सहमतिको दलीय सरकार बनाउन प्रस्ताव गरेको छ ।
छलफलका क्रममा विदेश विभागका प्रमुख सीपी गजुरेलले अन्तरिम संविधानको बाधा अड्काउ फुकाउ सम्बन्धि २५ बुँदा पनि फिर्ता गर्न माग गरे । उनले खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकारलाई हटाएर गोलमेच सम्मेलन मार्फत राष्ट्रिय सहमतिको सरकार गठन गरेर निर्वाचनमा जान प्रस्ताव गरे । उनले नेकपा–माओवादीले अघि सारेका माग पुरा नहुँदा सम्म चिर्वाचन हुने सम्भावना नरहेको बताए ।
चार राजनीतिक शक्ति एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले सहमतिका नाममा अन्तरिम संविधान विपरितको काम गरेको आरोप नेकपा–माओवादीको छ ।
यथास्थितिमा निर्वाचनको नाटकमा आफूहरु सहभागी नहुँने जनाएका गजुरेलले सरकारमा पनि भागबण्डाका आधारमा मन्त्री बनाईएको आरोप लगाए ।
‘पुष्पकमल दाहालले दुई, सुशील कोइरालाले दुई, झलनाथ खनालले दुई, विजय गच्छेदारले एक र खिलराज रेग्मीले एक जना मन्त्री बनाएका छन्,’ गजुरेलले भने, ‘भागबण्डाका आधारमा गठन गरिएको सरकार स्वतन्त्र हुँनै सक्दैन ।’
प्रमुख चार राजनीतिक शक्ति र राष्ट्रपति, नेपाल र नेपाली जनता विरुद्ध गएको उनको आरोप थियो । उनले अन्तरिम संविधान विपरितका कार्य गर्ने अधिकार कसैलाई पनि नरहेको बताए ।
राजदूत र कुटनीतिक नियोगका प्रतिनिधिहरुले सहमतिका साथ निर्वाचन मार्फत नेपाललाई निकास दिँदा राम्रो हुने सुझाव दिए । उनीहरुले नेपाललाई आफूहरुको सहयोग जारी रहने आश्वासन समेत दिएका थिए ।
छलफलमा युरोपियन युनियन, अष्ट्रेलिया, चीन, फ्रान्सलगायतका मुलुकका राजदूत र नियोगका प्रमुखहरुको सहभागिता थियो । भारतीय राजदूत जयन्त प्रसाद भने छलफलमा सहभागी भएनन् ।

प्रतिक्रिया