कलाकारितामा लागेर, न पाएँ न गुमाएँ

Ramkaji-Ghimire०४५ तिर होला, गोरखापत्रमा एउटा विज्ञापन छापिएको थियो । त्यसमा प्रज्ञाप्रतिष्ठानले कलाकार आह्वान गरेको रहेछ । त्यही विज्ञापन पढेपछि म पनि कलाकार बन्न वीरगन्जबाट सिधै काठमाडौं हान्निएँ । सानैदेखि कलाकारितामा लगाब थियो मेरो । स्कुल तथा टोलका कार्यक्रमहरूमा नाटक देखाउथेँ । साथी, शिक्षक वा छरछिमेक सबै कलाकारितामा लाग्न हौस्याउँथे । सबैको प्रेरणा र विज्ञापनको त्यही कटिङ बोकेर म थानकोट उक्लिएको थिएँ ।

काठमाडौं टेकेको भोलिपल्टै एकेडेमीमा आवेदन दिन गएँ । तर, मेरो दुर्भाग्य, आवेदनको म्याद नै सकिइसकेछ । धोको अधुरै रह्यो । गाउँबाट कलाकार बन्न आएको मान्छे, त्यसै फर्कनु पनि भएन । यहीँ बसेर संघर्ष गर्ने अठोट गरेँ । त्यतिबेला बाघबजारमा अभिनय सिकाउने प्रतिभा कलामन्दिर थियो । यसका सञ्चालक सुभास गजुरेल थिए । म पनि त्यहाँ प्रशिक्षण लिन थालेँ ।
०४७ ताका पहिलोपटक एकेडेमीको ‘सहारा’ नामक नाटकमा अभिनय गर्ने अवसर पाएँ, राम्रै भूमिकामा । विजय श्रेष्ठ, रवि डंगोल, सारंगा श्रेष्ठको पनि अभिनय रहेको यो नाटक केही दिन चल्यो । फेरि अर्को नाटक हात पर्‍यो । हुँदै जाँदा महिनामै तीनचारवटा नाटकमा अभिनय गर्ने मौका पाउन थालेको थिएँ ।
नाटक थुप्रै रहे पनि मैले अभिनय गरेको पहिलो चलचित्रचाहिँ ‘बसाइँ’ हो, सुवास गजुरेलको निर्देशनमा । यसअघि विनोद प्रधानको ‘कस्तूरी’ चलचित्रमा डान्सर थिएँ । बिस्तारै संकल्पलगायत अरू केही चलचित्रमा पनि सानोतिनो भूमिकामा अभिनय गर्न पाएँ । हिसाब गर्दा अहिलेसम्म पुगनपुग दुई दर्जन भए होलान् ।

चलचित्रमा खुबीअनुसारको भूमिका नपाउने अवस्था देखेपछि म स्टेज नाटकहरूमै ध्यान दिन थालेँ । ५०/६० वटा नाटकमा मुख्य भूमिका निर्वाह गरेको छु । अब बिस्तारै मेरा पाइला सडकनाटकतिर पनि मोडिन थाले । विभिन्न महोत्सवलगायत अन्य सन्दर्भ पारेर अभिनय गरेका सडकनाटकबाट पुरस्कार पनि जितेँ ।
०४९ तिरबाट अभिनयसँगै नाटक लेखन पनि सुरु गरेँ । मेरो लेखनको पहिलो नाटक ‘संकल्प’ ले राष्ट्रिय नाचघरले आयोजना गरेको नाटक प्रतियोगितामा दोस्रो पुरस्कार जित्यो । नाटकसँगै भिडियो तथा टेलिचलचित्र पनि लेख्न थालेँ । लेखनकै क्रममा टेलिचलचित्र ‘वक्र’ निर्देशन गर्ने अवसर पाएँ । तर, यो प्रसारणै हुन पाएन । त्यसपछि भिडियो चलचित्रहरू ‘विधाता’, ‘त्रिदेव’, ‘अधिकार’ को को लेखन–निर्देशन गरेँ । मैले लेखननिर्देशन गरेका आधा दर्जनजति टेलिचलचित्रको पनि यही हालत भयो । तैपनि हरेस खाइनँ, केही न केही गरी नै रहेँ ।

‘सहारा’ नाटकमा कमेडी भूमिका गरेको थिएँ । मलाई निकै रमाइलो लाग्यो । अनि अभिनयमा थप अघि बढ्ने प्रेरणाा जाग्यो । लगत्तै ‘जिन्दगी’ नाटक गरेँ, सुरक्षाकर्मीका विषयमा थियो । यी दुवैमा राम्रो अभिनय गरेकाले प्रशंसा पनि निकै पाएँ । सबैले अभिनयमा अघि बढ्न हौस्याए । सबैको प्रशंसा पाएपछि ‘म एक दिन हिरो नै बन्छु कि के हो’ जस्तो लाग्न थाल्यो आफैँलाई । तैपनि हतारो भने गरिनँ । जति अभिनय गर्‍यो उति सिक्दै पनि गइरहेको थिएँ । बुझ्दै जाँदा आफू चलचित्र नायकका लागि फिट नरहेको अनुभूति मलाई हुन थाल्यो । बुझेँ– ‘म त स्टेजका लागि मात्र फिट रहेछु ।’ त्यसपछि पूरै नाटक लेखन अनि निर्देशनतिर ध्यान दिन थालेँ ।

मैले नाटकमा अभिनय सुरु गर्दाको अवस्था यस्तो थियो कि स्टेजको अभिनयलाई अभिनय नै मानिँदैनथ्यो । अनि स्टेजका कलाकारलाई पनि कलाकार भन्न गाह्रो मान्थे । तर, अहिले नाटकको अभिनयले अन्यलाई पछि पारिसकेको छ । हिजोका दिनसम्म नाट्यकर्मी र चलचित्रकर्मीलाई अलगअलग राखिन्थ्यो । अहिले त्यसरी हेर्ने दृष्टिकोण फेरिएको छ । यतिबेला चलचित्रचित्रमा हेर्ने हो भने जोजो रंगमञ्चबाट प्रवेश गरेका छन्, उनीहरूका तुलनामा अन्यको अभिनय फिका लाग्छ । रंगमञ्चको अभिनयमा रियालिटी पाइन्छ । रंगमञ्चका कलकारले दर्शकको मन छिट्टै जितिसकेका छन् । हुँदाहुँदा भन्न थालिएको छ– वास्तविक कलाकार त रंगमञ्चका नै पो रहेछन् ।
रंगमञ्चमा जस्तो अभिनयको भेराइटी पनि चलचित्र वा अन्यमा पाइँदैन । चलचित्र–टेलिचलचित्रमा त अभिनयका टुक्राटुक्रा जोडिने न हुन् । रंगमञ्चमा जस्तो यहाँ नवरसमा एकैचोटि अभिनय देखाउनुपर्दैन । रंगमञ्चको अभिनय आफैँमा धैर्य हो, अनि साधना । त्यसैले त विश्वकै कला अनुरागीले रंगमञ्चकै अभिनयलाई सबैभन्दा उत्कृष्ट मान्छन् ।
मैले दुई दशकभन्दा लामो समय कलाकारितामा बिताइसकेँ । तर, पनि अरूजत्तिको चिनिन सकेको छुइनँ । क्षमता मात्रैले पुग्दैन, भाग्य पनि चाहिन्छ । अगाडि बढ्ने चाहना सबैको हुन्छ, मेरो पनि थियो । एकपछि अर्काे अवसर नपाएको पनि होइन तर सबैले देख्ने गरी सफलता हासिल गर्न सकिनँ । तर, पनि म थाकेको छुइनँ । कलाकारितामा चर्चित हुने र सबैका सामु चिनिने चाहना अझै मरेको छैन । अभिनय, लेखन, निर्देशनमा अझै सक्रिय छु । आशा छ– एक न एक दिन कुनै न कुनै विधामा पक्कै सफल हुन्छु ।

वर्तमान समयमा रंगमञ्चले जति नै फड्को मारे पनि यसबाट कलाकारले आर्थिक उन्नति गर्न सकिने अवस्था भने अझै बनेको छैन । केही थिएटरले अलिअलि कमाइ गर्न थालेका छन् तर यो पर्याप्त छैन । मेरो लामो अनुभवले भन्छ– जीविकोपार्जन पनि यसैबाट चलाउँछु भन्नेहरूले रंगमञ्चमा नआएकै बेस अहिलेलाई † यस क्षेत्रमा लागे पनि अरू काम नगरी सुखै छैन । यहाँबाट त मनको चाहना मात्रै पूरा हुने हो, पेटको होइन । बरु चलचित्रमा बिक्न सक्ने हो भने त्यहाँको कमाइ राम्रो छ तुलनात्मक रूपमा । हुन त मैले अहिलेसम्म रंगमञ्चबाटै छोराछोरी, श्रीमती पालेको छु । तर, पनि यसमा आत्मनिर्भर बन्न सकिन्छ, जीविका सुरक्षित छ भन्ने मलाई अझै लाग्दैन ।
टेलिचलचित्र लेखन–निर्देशन गरे पनि मेरो हकमा यी सबैको आधार भनेको स्टेज नै हो । सफ हुनु नहुनु आफ्नो ठाउँमा छ । सफल हुन्थँे त अहिले कुनै धारावाहिक टेलिचलचित्र निर्देशन गरिरहेको हुन्थेँ होला । यी सबै कारणले गर्दा आफू सन्तुष्ट छु भन्न गाह्रो छ मलाई । सोचेअनुसारको सफलता अझै पाउन सकेको छुइनँ । पर्खिरहेछु– एक दिन त यस्तो समय किन नआउला, जसले मेरा लागि सफलता बोकेर आउला । यो क्षेत्रमा जतिले चिन्छन्, सबैले राम्रो भन्छन् । यही नै मेरो अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि । त्यसैले त केही नपाउँदा पनि यो क्षेत्रबाट भाग्न सकिनँ । यो लामो संघर्षमा कसैले ‘तैँले केही गरिनस्, तँ सफल भइनस्’ भनेर हतोत्साही गरिदिएका भए म परिवर्तन हुन्थेँ होला । सायद आज यो क्षेत्रमा हुन्नथेँ । तर, लेखन–निर्देशन र अभिनयमा जति काम गरेको छु, सबैले राम्रो भनेका छन् । आत्मादेखि प्रशंसा गरिदिएका छन् । त्यति मात्रैले पनि मलाई असीम आनन्द दिन्छ ।
मैले खोजेजस्तो सफलता पाइनँ होला, यो क्षेत्रमा लागेर गुमाएको पनि त केही छुइनँ नि । यत्ति हो, अरू क्षेत्रमा लागेको भए आर्थिक कलेक्सनचाहिँ अलि गतिलो गर्थें कि † कहिलेकाहीँ लाग्छ– ‘जीवनमा धन कमाउन, उन्नति गर्न सकिनँ । यति लामो समय बिताउँदा त केही भएन यो क्षेत्रबाट भने अब के होला र ?’ तर, आफूले अभिनयका ह्रस्वदीर्घ जानेको र लामो समय भिजेको क्षेत्रलाई चटक्कै छोडेर जान पनि कहाँ सकिन्छ र ? पहिलेपहिले परिवार पनि गुनासो गर्थे, अहिले त उनीहरू पनि यसैमा चित्त बुझाउन थालेका छन् । भन्छन्– ‘भइगो नि त अब यसैमा निरन्तर रहनुस्, अरू पनि के पो हुन्छ र ?’ केही गर्न नसक्दा पनि परिवारले मेरो कलाकारितालाई पूर्ण सपोर्ट गरेको छ । त्यसैले पनि होला, अर्काे क्षेत्रमा लागौं भन्ने सोच हाबी हुन पाएको छैन ।
अहिलेको समयमा आर्थिक रूपमा बलियो नभए जीवन कष्टकर बन्छ । यी सबै कुरा थाहा हुँदाहुँदै पनि म आफ्नै रुचिले यो क्षेत्रमा लागिरहेको छु, त्यसैले कसैसँग गुनासो पनि छैन । आफ्नो असफलतामा अरूलाई दोष लगाउन पनि त मिल्दैन । जे पाएको छु र जे पाएको छुइनँ, त्यो सबै आफ्नै कारणले हो । समयअनुसार सुधार पनि गरिरहेको छु । आफूले विश्लेषण गर्दा आफ्नो असफलताका पछाडि केही कारण पनि देख्छु । एउटा कारण त अरूलाई छिट्टै विश्वास गर्नु हो । अनि आफूभन्दा पहिले अरूलाई जोगाउन र सफल बनाउन खोज्नु अर्काे कारण हुन सक्छ ।
प्रस्तुति : कुवेर गिरी

प्रतिक्रिया