सरुवा भए पनि भन्सारमै बस्याबस्यै

bhairahwa-customभैरहवा, ६ चैत । दैनिक साढे चार करोडको हाराहारीमा राजस्व उठाउँदै आएको भन्सार कार्यालय भैरहवाका एक कर्मचारी सरुवा भएको वर्ष वितिसक्दा पनि सरुवा भएको कार्यालयमा गएका छैनन् ।

सामान्य प्रशासन मन्त्रालयले गत वर्षको १६ चैतमा चलानी नम्बर ४७५ अनुसार भैरहवा भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी विष्णुदत्त बडुलाई जिल्ला पशुसेवा कार्यालयमा सरुवा गरेको थियो । बडुसँगै भन्सारमा कार्यरत अर्का कर्मचारी रघुनाथ सुवेदीलाई पनि सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेकोमा उनी भने तत्कालै सरुवा भएका थिए ।
सामान्य प्रशासनले भैरहवा भन्सारबाट दुई जना कर्मचारीलाई जिल्ला पशु सेवा रूपन्देहीमा र पशुका दुई जनालाई भन्सारमा सरुवा गरेको थियो । सामान्यको सरुवासँगै पशुबाट भन्सारमा सरुवा भएकाहरू तत्काल रमाना बुझी भन्सार गएको तर भन्सारबाट पशुमा हाजिर हुन कोही नआएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. लक्ष्मणबहादुर ढकालले जनाए । सामान्य प्रशासनकै चलानी नम्बर ४ सय ३१ अनुसारको गत २८ चैतको पत्र अनुसार पशुका कार्यालय सहयोगी लहुरी काहार र विनोदकुमार झा रमाना बुझेर भन्सार गइसकेका छन् ।
यसरी भन्सारबाट सरुवा भई आउनुपर्ने कर्मचारी नआएपछि जिल्ला पशुसेवा कार्यालयको कामकाज प्रभावित भएको छ । लामो समयसम्म कार्यालयमा हाजिर हुन आउनुपर्ने कर्मचारी नआएपछि कार्यालय प्रमुख डा. ढकालले भैरहवा भन्सार कार्यालयलाई पत्राचारसमेत गरिसकेका छन् । २२ असार ०६९ को पशुको चलानी नम्बर ६ सय ४६ मा प्रमुख डा. ढकालद्वारा हस्ताक्षरित पत्रमा भैरहवा भन्सार कार्यलयलाई सम्बोधन गर्दै सरुवा भएका कर्मचारी हाजिरी हुन पठाइदिनु भन्ने विषय ‘यस कार्यालयबाट दुई जना कर्मचारी रमाना लिनुभई त्यहाँ गइसकेको तर त्यहाँबाट यस कार्यालयमा आउनुपर्ने कर्मचारी नआएकाले तुरुन्त रमाना दिई हाजिर हुन पठाइदिई सहयोग गर्नुहुन अनुरोध छ ।’
तर, पशु कार्यालयले लेखेको पत्र पछि न ती कर्मचारी हाजिर हुन आए न त भन्सारले जवाफ नै पठायो । पशुमा कर्मचारीको अभावका कारण जिल्लाको मानपकडी, मर्यादपुर, गजेडी पशुसेवा उपकेन्द्रको सेवा प्रभावित भएको पशु सेवा कार्यालय रूपन्देहीका प्रशासन प्रमुख शोभाकान्त नेपाल बताउँछन । भन्सार कार्यालयका प्रवक्ता ज्ञानेन्द्रराज ढकालले पशु कार्यालयले पनि नखोजेको र भन्सारलाई कर्मचारीको कमी भइरहेको बताए ।
एउटा विषयगत कार्यालयबाट अर्को कार्यालयमा सरुवा भएका कर्मचारी अटेर गरेर बसिरहेको सम्बन्धमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेलले यसबारेमा तत्काल बुझी कारबाही अगाडि बढाउने प्रतिक्रिया दिएका छन् । भैरहवा भन्सार कार्यालयमा २८ जना कार्यालय सहयोगीको दरबन्दी रहेता पनि हाल यहाँ ५६ जना कार्यरत छन् । कुनै कार्यालयमा काम गर्ने कर्मचारी छैन भने कुनैमा दरबन्दीभन्दा दोब्बर कर्मचारी कार्यरत हुँदा पनि सम्बन्धित निकाय भने मौन रहेको छ ।
भैरहवा भन्सार मातहत रूपन्देहीको लुम्बिनी र पक्लिहवा , नवलपरासीको भुजहा, महेशपुर, गुठी पर्सौनी र विष्णुपुरा छोटी भन्सार पर्छन् । भैरहवा भन्सारको बेरियल चेक र भित्र गरी दैनिक तीन कर्मचारी काममा खटिने गर्दछ । एउटा टोली विष्णुदत्त बडुको नेतृत्वमा, अर्को कमल जोशीको नेतृत्वमा र अर्को हरिशरण थापाको नेतृत्वमा रहेको स्रोतले बतायो ।

प्रतिक्रिया