पूर्वकर्मचारीको ११ सदस्यीय मन्त्रिपरिषद्

Cabinet-Sapathकाठमाडौं, ६ चैत । चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रमुख दलहरूको सिफारिसअनुसार रेग्मीले थप ८ मन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा सोमबार राति नवनियुक्त मन्त्रीहरूको शपथ गराइएपछि चुनावी मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ ।

प्रमुख चार दलको सहमतिमा बाधा–अड्काउ फुकाउबाट अन्तरिम संविधान संशोधन गरी गत बिहीबार प्रधानन्यायाधीश रेग्मीलाई चुनावी मन्त्रिपरिषद्को अध्यक्षको जिम्मेवारीसमेत दिइएको थियो । त्यही दिन उनले आफ्नो गृहजिल्ला पाल्पाका माधवप्रसाद घिमिरेलाई गृह र छिमेकी जिल्ला गुल्मीका हरिप्रसाद न्यौपानेलाई कानुनमन्त्री नियुक्त गरेका थिए ।
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले सोमबार नेपाल सरकारका पूर्वसचिवहरू शंकर कोइराला, माधव पौडेल, टेकबहादुर थापा घर्ती, विद्याधर मल्लिक, उमाकान्त झा, छविराज पन्त, रामकुमार श्रेष्ठ र ऋद्धिबाबा प्रधानलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूको कार्यविभाजनसमेत गरिएको छ ।
कोइरालालाई अर्थ, उद्योग र आपूर्ति, पौडेललाई शिक्षा, सञ्चार र सामान्य प्रशासन, पन्तलाई भौतिक पूर्वाधार तथा सहकारी, घर्तीलाई कृषि र वन, श्रेष्ठलाई शान्ति, युवा र पर्यटन, झालाई ऊर्जा, विज्ञान प्रविधि र सिँचाइ, प्रधानलाई महिला बालबालिका र भूमिसुधार तथा मल्लिकलाई स्वास्थ्य, संघीय मामिला र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । दलहरूबीचको सहमतिअनुसार मन्त्रिपरिषद्का सबै सदस्य पूर्ववरिष्ठ कर्मचारी हुन् ।
चार दलबीच भएको ११ बुँदे सहमतिमा मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय र पूर्ववरिष्ठ कर्मचारीहरूलाई बनाउने उल्लेख थियो । सोहीअनुसार प्रमुख दलहरूको सिफारिसमा रेग्मीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नेपाल सरकारका पूर्वविशिष्ट अधिकारीलाई मन्त्रिपरिषद्मा सहभागी गराउने सहमति भए पनि दलहरूले भागबन्डाका आधारमा मन्त्रीहरूको नाम सिफारिस गरेका थिए । स्रोतका अनुसार नवनियुक्त मन्त्रीहरूमा श्रेष्ठ र प्रधान एमाओवादीको
सिफारिसमा, कोइराला र पन्त कांग्रेसको सिफारिसमा, पौडेल र थापा एमालेको सिफारिसमा तथा झा र मल्लिक मधेसी मोर्चाको सिफारिसमा मन्त्री भएका हुन् । मल्लिकलाई मन्त्री बनाउन राष्ट्रपति डा. रामवरण यादवले पनि निकै ‘लबिङ’ गरेको स्रोतको दाबी छ ।
सानो आकारको मन्त्रिपरिषद् बनाइएकाले सबै मन्त्रीले दुईभन्दा बढी मन्त्रालयको जिम्मेवारी पाएका छन् । फेरि पनि मन्त्रिपरिषद् अध्यक्ष रेग्मीको भागमा रक्षा र सहरी विकास मन्त्रालयको जिम्मेवारी परेको छ ।

चुनावी मन्त्रिपरिषद्

खिलराज रेग्मी अध्यक्ष, रक्षा र सहरी विकास
माधवप्रसाद घिमिरे गृह र परराष्ट्र
हरिप्रसाद न्यौपाने कानुन, संसदीय मामिला र श्रम
शंकर कोइराला अर्थ, उद्योग र आपूर्ति
माधव पौडेल शिक्षा, सञ्चार र सामान्य प्रशासन
टेकबहादुर थापा घर्ती कृषि र वन
विद्याधर मल्लिक स्थानीय विकास, स्वास्थ्य र संघीय मामिला
उमाकान्त झा ऊर्जा, विज्ञान प्रविधि र सिँचाइ
छविराज पन्त भौतिक पूर्वाधार र सहकारी
रामकुमार श्रेष्ठ शान्ति, पर्यटन र युवा
ऋद्धिबाबा प्रधान भूमिसुधार र महिला बालबालिका

प्रतिक्रिया