रक्षाले पाएन पुजनाको साथ

Pujana Pradhanकाठमाडौं : छायांकनको समयमा अश्लील चलचित्र भन्दै प्रचारप्रसार गरेर चर्चा बटुल्न सफल बनेको चलचित्र ‘रक्षा’ प्रदर्शनको समय नजिकिँदै गर्दा अश्लील नभएको बताइएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा चलचित्र युनिटले ‘रक्षा’ अश्लील नभएको बताएको हो ।
चलचित्रमा छायांकनको समयमा अश्लील अभिनय गरेर आफूलाई खुबै चर्चामा ल्याउने पुजना प्रधान भने पत्रकार भेटघाटमा आइनन् । ‘आफ्नो नग्न तस्बिर पोस्टरमा राखेका भन्दै विरोध गर्दै आएकी पुजनाले हामीलाई चलचित्रको प्रमोसनमा सघाएकी छैनन्,’ निर्देशक राजु गिरीले भने, ‘चलचित्र छायांकनका बेला सहमति दिने अहिले अश्लील भनेर के गर्नु ।’
चलचित्र ९ चैतबाट देशव्यापी रिलिज हुँदै छ । आफ्नो सिनेमा अश्लील नभएको जानकारी गराउँदै अभिनेता तथा निर्माता पवन बस्नेतले कार्यक्रममा भने, ‘मुलुक हाँक्ने नेताहरू फटाए भएका कारण देशको अवस्था दिन प्रतिदिन बिग्रँदै गएको छ । यस्तो अवस्थामा आमनेपालीले मुलुकको रक्षा कसरी गर्ने त भन्ने प्रसंगलाई समेटेर हामीले चलचित्र बनाएका हौँ ।’ बजारमा हल्ला फैलाएको जस्तो अश्लील आफ्नो चलचित्र नभएको पनि उनले बताए ।
कार्यक्रममा चलचित्रको गीति दृश्य र प्रचार सामग्री सार्वजनिक गरियो । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीले पछिल्लो समय नेपाली चलचित्र अश्लील भएकै कारण परिवारसँग हलमा गएर सिनेमा हेर्ने परम्परा मासिन थालेको बताए । मुलुकप्रति जिम्मेवार भनिएको ‘रक्षा’ले दर्शकलाई सकारात्मक सन्देश दिने विश्वास आफूले लिएको बताए ।
‘रक्षा’मा प्रकाश धितालको लेखन, अर्जुन पोखरेलको संगीत निर्देशन, रामेश्वर कार्कीको छायांकन छ । जसमा राजेश हमाल, पुजना प्रधान, अशोक फुयाल, सारिका घिमिरे, सुशान्त कार्की, पवन बस्नेत, सुशील पोखरेल, उत्तम केसीसहितका कलाकारको अभिनय रहेको छ । (सौस)

प्रतिक्रिया