दलहरुले चाहे असारमै निर्वाचन : पूर्व आयूक्तहरु

imagesकाठमाडौ, ३ चैत । पूर्वनिर्वाचन आयूक्तहरुले असारको पहिलो साताभित्रमा संविधानसभाको निर्वाचन गर्न सकिने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व निर्वाचन आयुक्तहरुले दलहरुले निर्वाचनको वातावरण बनाए तोकिएको समयमै निर्वाचन गराउन कुनै अप्ठ्यारो नरहेको स्पष्ट पारे ।
पूर्व निर्वाचन आयूक्त प्राध्यापक विरेन्द्र मिश्रले द्धन्दकालको कठिन अवस्थामा समेत निर्वाचन गराएको स्मरण गर्दै अहिले मुलुकमा द्धन्द नभएको र दलहरु निर्वाचनको पक्षमा रहेको बेला निर्वाचन नहुने कुनै कारण नभएको तर्क गरे ।
मिश्रले भने, ‘सरकारको काम निर्वाचनको लागि शान्ति सुरक्षा कायम गर्ने काम मात्र भएकोले दलहरुले चाहे निर्वाचन गर्न कुनै बेला पनि सम्भव छ ।’
निवर्तमान निर्वाचन आयूक्त अयोधि प्रसाद यादवले यसअघि सरकारले घोषणा गरेको मंसिर र बैशाखको निर्वाचनको लागि निर्वाचन आयोगले तयारी गरिरहेकोले असार पहिलो साता भित्र निर्वाचन सम्भव रहेको बताए ।
उनले तत्काल निर्वाचन आयोगमा प्रमुख आयूक्त र आयूक्तहरु नियूक्त गर्नु पर्नेमा जोड दिदै त्यसपछि मतदाता नामावली संकलन, मतपत्र छपाई, अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई निम्तो गर्ने काम लाई अगाडि बढाउनु पर्ने बताए ।
पूर्व निर्वाचन आयूक्त सुर्य प्रसाद श्रेष्ठले दलहरुकै सहमतिमा सरकार गठन भएकोले असारमा निर्वाचन गर्न सम्भव रहेको बताए ।
निर्वाचनको लागि आवश्यक तयारी भएको भन्दै दलहरुले निर्वाचन चाहेको हो भने जसरी पनि निर्वाचन हुने श्रेष्ठले ठोकुवा गरे ।

प्रतिक्रिया