राजधानी दिनभर अस्तव्यस्त

काठमाडौं : प्रधानन्यायाधीश खिलराज रेग्मीले अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्षको शपथ लिएकै दिन बिहीबार नेकपा–माओवादीलगायत १९ दलको मोर्चा सडकमा उत्रेको छ । प्रधानन्यायाधीश नेतृत्वको मन्त्रिपरिषद् गठनविरुद्ध मोर्चाले बुधबार दिउँसोदेखि नै विरोध सुरु गरेको हो ।
रेग्मीले मन्त्रिपरिषद् अध्यक्षमा शपथ गरेलगत्तै उनीहरूले १२ बजेदेखि ५ बजेसम्म उपत्यका बन्द गराएका थिए । बन्दले राजधानीको जनजीवन अस्तव्यस्त बनेको थियो । नेकपा–माओवादीको बुद्धनगरस्थित केन्द्रीय कार्यालयमा बसेको १९ दलको बैठकले प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठन गर्न सहमति जनाउने चार दलको प्रतिवाद गर्न आह्वान गरेको छ ।
बाधा–अड्काउ फुकाउने नाममा बाह्य शक्तिको आडधापमा प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठन गरिएको निष्कर्ष निकाल्दै उनीहरूले बहुदलीय लोकन्तत्रका मूल्य–मान्यताविपरीत कार्यकारी प्रमुखमा शक्ति केन्द्रित गरेको आरोप लगाएका छन् । ‘बहुदलीय लोकतन्त्रका मूलभूत मान्यताको धज्जी उडाउँदै कार्यकारी प्रमुखमा शक्ति केन्द्रित गर्नका निम्ति संविधानका मर्म र भावनालाई कुल्चँदै र सर्वाेच्च अदालतमा विचाराधीन मुद्दालाई समेत छलेर प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्रीको शपथ खुवाउने कार्यलाई बैठक दृढ विरोध गर्दछ,’ बैठकपछि संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो कार्यबाट राष्ट्रिय राजनीतिमा चौतर्फी रूपमा पर्ने दुश्प्रभावको आँकलन गर्दै तिनीहरूलाई प्रतिवाद गर्न देशवासीमा हार्दिक अपिल गर्दछ ।’
शुक्रबार बस्ने उनीहरूको बैठकले संघर्षका ठोस कार्यक्रम अगाडि ल्याउने बताएका छन् । संयुक्त विज्ञप्ति जारी गर्नेमा नेकपा–माओवादी, नेकपा माले, नेकपा एकीकृत, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, समाजवादी लोकतान्त्रिक पार्टीलगायत १९ दल छन् । यस्तै, विघटित संविधानसभामा प्रतिनिधित्व नगरेका ४३ राजनीतिक दलको मोर्चाले पनि प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी मन्त्रिपरिषद् गठन गर्ने दलहरूको निर्णय र राष्ट्रपतिको समर्थनप्रति आपत्ति प्रकट गरेको छ । बहुजातीय समावेशी पार्टी, राष्ट्रिय एकता मञ्च, नेपाल समावेशी पार्टीलगायत ४३ दलको गठबन्धनले बिहीबार एक विज्ञप्ति निकालेर प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर अन्तरिम संविधान ०६३ को औचित्य समाप्त पारेको दाबी गर्दै मुलुक चार दलको अधिनायकवादी सिन्डिकेटको बन्धक बनेको आरोप लगाएको छ ।

प्रतिक्रिया