अन्तरकलेज फुटबल उपाधि वीरेन्द्र क्याम्पसलाई

Football-in-chitwanचितवन, १ चैत । पहिलोपटक आयोजित जिल्लाकै सर्वाधिक धनराशिको अन्तरकलेज नकआउट फुटबल प्रतियोगिताको उपाधि वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले जितेको छ । मोहन वैद्यको नेकपा–माओवादीनिकट अखिल क्रान्तिकारीले सहिद सप्ताहका अवसरमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा दोस्रो हाफको २९ मिनेटमा कृष्ण श्रेष्ठले गरेको गोल नै निर्णायक साबित भएको थियो ।

जितसँगै वीरेन्द्र बहुमुखी क्याम्पसले सिल्ड र मेडलका साथै नगद ५० हजार रुपियाँसमेत प्राप्त गर्‍यो । पहिलो हाफमा वीरेन्द्रका निर्मल दुराले नवौँ मिनेटमा अग्रता दिलाएका थिए भने प्रतिद्वन्द्वी सप्तगण्डकी बहुमुखी क्याम्पसका चतुर्धन चौधरीले दोस्रो हाफको पाँचौँ मिनेटमा गोल गर्दै म्याच बराबरीमा ल्याइपुर्‍याएका थिए ।
उपविजेता सप्तगण्डकीले नगद ३० हजार रुपियाँका साथै मेडल र प्रमाणपत्र हात पार्‍यो । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तामा वीरेन्द्रकै क्रमश: निर्मल दुरा, किरण नेपाली र कृष्ण श्रेष्ठ रहे । उनीहरूलाई नगद ५/५ हजारका साथै कार्बन मोबाइल प्रदान गरिएको थियो ।
अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सरद रसाइलीले विजेतालाई पुरस्कार वितरण गरेका थिए । सोही अवसरमा सहिदका परिवरहरूलाई पनि सम्माान गरिएको थियो । अखिल क्रान्तिकारी चितवनकी अध्यक्ष सरस्वती अधिकारीका अनुसार गत २० फागुनदेखि सुरु भएको प्रतियोगितामा १६ टिमले भाग लिएका थिए ।

प्रतिक्रिया