कक्षाको परीक्षा हापेर उपन्यास लेखे

Punya-Prashad-Prashaiमेरो थातथलो तेह्रथुम । तर, जन्मचाहिँ झापाको कोहबरामा भएको हो । झापालाई सुगम जिल्ला मानिन्छ । जति नै सुगम मानिए पनि उसबेला स्कुल जान एक घन्टा हिँड्नुपथ्र्यो । टिफिनको चलनै थिएन, दिनभरि भोकै पढ्नुपर्ने बाध्यता । यसरी सुरु भएको अध्ययन यात्रामा विराटनगरको कलेज हुँदै काठमाडौं आइपुगेँ ।

तराईतिर हुर्के/बढेको मान्छे, नेपालीभन्दा हिन्दी उपन्यास बढी पाइन्थे । वेदप्रकाशका जासुसी उपन्यासदेखि गुलशन नन्दाका सामाजिक उपन्याससम्म भेटे जति पढियो र तिलस्मी कल्पना पनि गरियो । छानीछानी किताब पढ्ने क्रममा एक दिन ‘डाक बंगला’ र ‘गोदान’ फेला परे । जाँचको बेलामा पनि तिनै किताब छोडिनँ । यसरी छानीछानी पुस्तक पढ्दा मलाई उपन्यास आफँै पनि लेख्न सक्छुजस्तो लाग्यो । सात कक्षाको परीक्षा नै छोडेर उपन्यास लेख्न थालेँ । सानै उमेरदेखि लेख्न थालेकाले होला, पहिलो उपन्यास ‘कुमुदिनी’ १९ वर्षकै उमेरमा प्रकाशित गर्न सफल भएँ, लेटर प्रेसबाट ।
त्योबेला लेख्नुको खास कारण थिएन, लहडमै थालेँ । अरूभन्दा फरक देखिने चाहना मात्र कारण थियो सायद । तर, पछिल्लो समय मनभित्र गुम्सिएका कुरालाई साहित्यिक रूपमा अभिव्यक्त गर्ने बानी पर्दै गयो । मलाई अझै पनि मभित्र केही कुरा छ, जो बाहिर आउन खोजिरहेको छ जस्तो लाग्छ । वास्तवमै मभित्र अझै थुप्रै कुरा बाँकी छन्, जो व्यक्त हुन सकिरहेका छैनन् ।
विगत दुई दशकदेखि साहित्यिक लेखन र प्रकाशनमा छु । मेरा आधा दर्जन उपन्यास प्रकाशित छन् । ‘छापामार’ बीस हजार प्रति बिक्री भएको थियो भने ‘आइमाई मान्छे’ पुगनपुग दशहजार । सात रातमा खण्डकाव्य ‘बुद्धहरू युद्ध माग्दैनन्’ लेखेँ । यो पाठकको रोजाइमा पनि पर्‍यो । साहित्यिकवृत्तमा चर्चा भयो । ‘पिंगला’, ‘छापामार’, ‘मोक्षदा’ जस्ता उपन्यास पनि प्रकाशित भइसके । कवितासंग्रह ‘यी पसिना बगाउने बिम्व’ र दुई दर्जनबढी बालकृति पनि छन् । ०६२/०६३ को जनआन्दोलनमा कविताका पर्चा बनाएर छरेँ । कति साथीले यसलाई साहित्यिक आन्दोलन त कतिले अरू नै केके भने । जसले जे भने पनि केही ध्यान नदिई चार थान कविता पर्चा बनाएर बाँडिरहेँ ।

त्यसो त म प्रकाशक पनि हुँ । म अध्यक्ष रहेको डिकुरा प्रकाशनले लामो समयदेखि स्रष्टाका साहित्यिक कृति प्रकाशन गर्दै आएको छ । यसमार्फत तीनसय शीर्षकमा किताब प्रकाशन गरिसकेका छौँ । एक वर्षअगाडि केही साथी मिलेर बालसाहित्य प्रज्ञा प्रतिष्ठान बनाएका छौँ । यसमा म अध्यक्ष छु । नेपाली बालसाहित्यमा योगदान पुर्‍याउने यसको लक्ष्य हो । मलाई लाग्छ– आजका बालबालिका नै भोलिका पाठक, लेखक, शिक्षक, वैज्ञानिक सबै हुन् । त्यसैले उनीहरूको शिक्षादीक्षामा हरेक प्रकाशक तथा लेखक संवेदनशील हुनुपर्छ ।
मोतीराम भट्टको पालामा एक हजारको संख्यामा छापिन्थे नेपाली साहित्यका कृति । केहीलाई छाडेर आज सय वर्षपछाडि पनि धेरैको उही हबिगत छ । हजारै छापिन्छन् । यो समय मसँग पनि एउटा महत्त्वाकांक्षा छ– आफ्नै उपन्यास ‘युद्धका डोबहरू’ एक लाख प्रति बिक्री गर्ने । यो मेरो सपना पनि हो । त्यसो त यसले प्रकाशनपूर्व नै साहित्यिक बजार तताउन थालिसकेको छ, केही दिनमै आउँछ होला ।
अहिले नेपाली पाठक अलि विवेकपूर्ण भएका छन् । बल्ल बुक कल्चरको विकास भएको छ । सिटिङ रुमको शोभा टिभी मात्र नभएर राम्रा पुस्तकले सजिएको र्‍याक पनि हो भन्ने चेतना वितरित हुँदै छ ।
बेलाबेलामा सोच्छु, ‘म लेखक नभएको भए एउटा राम्रो पाठक हुन्थेँ होला ।’ अहिले पनि छु । किनभने पढ्नु मेरा लागि विलासिता हो । मेरो अवचेतनले मलाई यता डोर्‍यायो । सायद मभित्र एउटा लेखक आविष्कृत हुन चाहिरहेको थियो । यतिबेलाचाहिँ सारा ऊर्जा प्रकाशोन्मुख उपन्यास ‘युद्धका डोबहरू’मा लगाइरहेको छु । यसले पाठकको ध्यान खिचेको पाएको छु । पाठकका आशा र विश्वास बचाइराख्न सारा शक्ति खर्चिइरहेको छु ।
मानिसलाई केही कुराको खाँचो छ भने बस एक धाप र प्रेरणादायी एक वाक्यको । हरेक मानिस केही राम्रो काम गर्ने सोचमा हुन्छ । अलिकति उत्साहित गर्न सकियो भने उसले महान्् काम गर्न सक्छ पनि । एउटा मानिससँग वर्तमानमा जे छ त्योभन्दा कैयांै गुणा बढी गर्न सक्ने क्षमता उसभित्र हुन्छ । अकल्पनीय काम गर्न सक्छ, चाहनुचाहिँ पर्‍यो । ‘युद्धका डोबहरू’ ले मानिसलाई सफलताको शिखरमा टेक्न प्रेरणा दिनेछ । धाप मार्छ ।
साथीहरू सोध्नुहुन्छ, ‘यो पुस्तकको प्रेरक बीज के हो ?’ यसमा एउटा सुन्दर कथा छ । एकदिन म एउटा स्कुलको वार्षिकोत्सवमा अतिथि थिएँ । दौड प्रतियोगितामा एक विद्यार्थी दौडन मानेनन् । तर, उनका बाबु जो शारीरिक रूपमा अपांग थिए, आफ्नो छोरो दौडोस् भन्ने चाहन्थे । सानो केटो सधैँ हार्दै आएकाले दौडन नमानेको थियो । सबैले फकाउँदा पनि दौडन नमानेपछि मैले उसलाई धाप मारेर ‘आज तिम्रो जित्ने दिन हो, दौड्यौ भने तिमीले नै जित्नेछौ, आज तिमीलाई कसैले हराउन सक्दैन’ भनेँ । ऊ राजी भयो । दौडियो । र, अचम्म के भयो भने उसैले जित्यो । त्यसै दिनदेखि मैले बुभेँm– मानिसलाई एउटा धाप र प्रेरणादायी वाक्यले कति फरक पारिदिँदो
रहेछ † निर्णय पनि गरेँ– अब केही लेख्छु भने मानिसलाई प्रेरणा दिने कुरा मात्र लेख्छु ।
कुनै सफलताको अपेक्षा गर्नुपूर्व त्यसबारे कल्पनाशील हुन सिक्नुपर्छ । त्यो सपना पनि हो । सपना डेस्टिनेसन हो, लक्ष्य हो । कोही गरिब किन छ ? किनकि उसले कहिल्यै धनी बन्ने सपना देखेन । कोही Punya-Prashad-Prasainसाधारण कार्यकर्ता किन त्यस्तै रहन्छ ? किनकि उसले कहिल्यै महान् लिडर बन्ने सपना देखेन । त्यसकारण मानिसको पूरा भविष्य उसकै सपनामा आधारित हुन्छ ।
‘युद्धका डोबहरू’लाई दाँज्नुपरे कुन उपन्याससँग दाँज्न मनपराउनु हुन्छ ?’ भनेर कसैले सोधे मेरो उत्तर हुन्छ– नेपालमा यस्तो किसिमको मोटिभेसनल उपन्यास लेखिएको छैन । यो प्रेरणादायी लेखनको सुरुआत हो, यद्यपि विदेशमा यसको सुरुआत निकै अघि भइसकेको छ । जस्तै– कामुको ‘फल’ एउटा लघु उपन्यास हो, जसमा लेखकको अद्भूत आशाको झलक छ । त्यस्तै हेमिङ्वेको ‘द ओल्ड म्यान एन्ड द सी’ मा पराजयभित्र पनि विजय देखाइएको छ र पाउलो कोएल्होको ‘अल्केमिस्ट’ मा एउटा साधारण गोठालोले आफ्नो महान् सपना साकार गर्छ । यी तीन कृति नै मेरो उपन्यासका प्रेरक बीउ हुन् । ‘युद्धका डोबहरू’ले भन्छ– हरेक व्यक्तिले माथि उठ्नलाई आपैँm जुर्मुराउनुपर्छ, आपैँm प्रयास गर्नुपर्छ । यो उपन्यासले चार करोडको व्यापार गर्ने विश्वास मैले लिएको छु ।
सपनाले मानिसलाई काम गर्न प्रेरित गर्छ । तपाईं काठमाडौंमा एउटा घर होस् भन्ने चाहनुहुन्छ भने पहिले तपाईंले आफ्नो मस्तिष्कमा एउटा सुन्दर घर बनाउनुपर्छ, अर्थात् घरको सपना देख्नुपर्छ । जब तपाईंको सपना मस्तिष्कमा अंकित हुन्छ तब त्यही सपनाले तपाईंलाई प्रेरित गर्न थाल्छ । त्यो बाटोमा हिँडाउन थाल्छ । ‘युद्धका डोबहरू’ ले पनि यसै भन्छ । त्यस कारण म एक लाख प्रति बिक्री गर्ने सपना देख्छु भने मैले त्योअनुसार लेखन पनि गरेको छु । मार्केटिङको रणनीति पनि यसमा हुने नै भयो ।
मलाई लाग्छ– मैले हारिसकेँ, म असफल भइसकेँ, अब सबै कुरा सकियो जस्ता निराशा र दु:खको क्षणमा कसैले ‘युद्धका डोबहरू’ पढ्छ भने ऊ फेरि जाग्नेछ । उसले थाहा पाउनेछ– सबै कुरा टुंगिएको छैन । अझ केही गर्न सकिन्छ । मेरो प्रयास पनि यही हो । सबै कुरा सकियो भन्ने ठानिएका बेला फेरि केही गर्न प्रेरित गर्छ । हिम्मत र विश्वास दिन्छ । असफलतादेखि डराएर भाग्न चाहनेहरूलाई यस उपन्यासले पुन: समाएर काममा फर्काउनेछ र विजेता बन्न प्रेरित गर्नेछ ।
म हरेक मानिसलाई भन्छु– सपना देख्ने हिम्मत गरौँ किनकि जो सपना देख्न डराउँछ उसका योग्यता मुर्झाउँदै जान्छन् । र, अन्त्यमा कस्तो लाग्छ भने उससँग कुनै योग्यता नै छैनन् । मलाई लाग्छ– हरेक मानिसमा सपना हुन जरुरी छ, एउटा ठूलो सपना । हामी जुन कुरा पाउने छनोट गर्छौं, जे प्राप्तिको लक्ष्य राख्छौँ, त्यो पाउन सक्छौँ । कुनै पनि कुरा जति नै ठूलो होस्, तपार्इं त्यसलाई पाउने सपना र हिम्मत राख्नुहुन्छ भने पक्कै पाउनु हुनेछ । यो सम्भव छ । ठूलो सपना देख्नुस् र आफ्नो सपनालाई सलाम गर्नुहोस् । यसले लक्ष्यमा पुर्‍याउँछ । एक दिन हेलेन केलरलाई कसैले सोध्यो– ‘अन्धो हुनुभन्दा नराम्रो के होला ?’ हेलेनको जवाफ थियो– ‘आँखा भएर पनि सपना नदेख्नु ।’
प्रस्तुति : कुवेर गिरी

प्रतिक्रिया