६० करोडको म्युचुएल फन्ड आउदै

काठमाडौं : नबिल इन्भेस्टमेन्ट बंैकिङ लिमिटेडले ६० करोड रुपियाँको म्युचुअल फन्ड निष्काशन गरेको छ । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले नबिल व्यालेन्स फन्ड एक सार्वजनिक गरेको हो । यो म्युचुअल फन्डको बिक्री खुला चैत सातदेखि सुरु भएर छिटोमा चैत ११ गते बन्द हुने जनाएको छ । प्रति इकाई १० रुपियाँ रहेको यो म्युचुअल फन्डका छ करोड इकाइमध्ये ९० लाख इकाइ कोष प्रवद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङलाई छुट्टाएको छ ।

सर्वसाधारणले न्यूनतम सय कित्ता र अधिकतम ६० लाख कित्ताका लागि आवेदन गर्न सक्ने आह्वान पत्रमा उल्लेख छ । प्रस्तावित ६० करोड रुपियाँभन्दा बढीका लागि आवेदन आए ७५ करोड रुपियाँसम्मको इकाइ बिक्री गर्ने योजना कम्पनीले बनाएको नविल इन्भेस्टले जनाएको छ । कम्पनीले पहिलो वर्ष १२ प्रतिशत, दोस्रो वर्ष १७ प्रतिशत, तेस्रो वर्ष १८ प्रतिशत, चौथो वर्ष २१ प्रतिशत र अन्तिम वर्ष २० प्रतिशतको प्रतिफल प्रक्षेपण गरेको छ । कम्पनीले लगानी गरेकै वर्ष कम्तीमा पनि सात प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । नबिल म्युचुअल फन्डका लागि नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, एनएमबी बैंक, कमर्ज एन्ड ट्रस्ट, नेपाल एसबिआई र बैंक अफ एसिया निष्काशन बैंकरका रूपमा रहेका छन् । नबिल व्यालेन्स फन्ड एकको बिक्री केन्द्र नबिल बैंक, नबिल इन्भेस्टमेन्ट बैंकिङ, नवदुर्गा फाइनान्स र समृद्धि विकास बैंक रहेको छ ।
यसअघि पहिलोपटक सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले पनि म्युचुयल फन्डको बिक्री गरिसकेको छ । म्युचुयल फन्डको कारोबार स्टक एक्सचेन्जमा सूचीकृत भएर प्रति इकाई १३ रुपियाँमा कारोबार भइरहेको छ । (सौस)

प्रतिक्रिया