समलिंगी खेलाडीलाई प्रतिबन्धको तयारी

Samlingiविश्वभरि समलिंगीअधिकारको नारा चर्कोसँग उर्लिरहेका बेला नाइजेरियाको राष्ट्रिय फुटबल संघले भने समलिंगी खेलाडीलाई टिममा प्रवेशै नगराउने तयारी सुरु गरेको छ । यस्तो खबर सार्वजनिक भएपछि फिफाले नाइजेरिया फुटबल संघलाई सोधपुछ गरेको छ ।
नाइजेरियाको महिला फुटबल लिगका अध्यक्ष दिलिचुकवु ओनेदिनले एक वक्तव्यमा भनेका थिए– ‘जोसुकै खेलाडी समलिंगी प्रवृत्तिमा फसेको पाइन्छ, उसलाई अयोग्य घोषित गरिनेछ ।’ फिफाको नियमअनुसार कुनै पनि खेलाडीलाई यसखाले भेदभाव गर्न पाइँदैन । तर, नाइजेरियाली समाजले समलैंगिकतालाई अपराध मान्छ । यस हिसाबले यो मामिला अझै गाँठो पर्दै जाने अनुमान गरिएको छ । अहिले नाइजेरियाली समाजमा समलिंगी विवाहमाथि रोक लगाउने एक विधेयक पारित हुने आशा गरिएको छ ।
विधेयकमा राष्ट्रपति गुडलक जोनाथनको हस्ताक्षर हुन मात्र बाँकी छ । यो विधेयक पारित भएको खण्डमा नाइजेरियाको कुनै पनि सार्वजनिक स्थलमा समलिंगीहरू जम्मा हुन तथा समलैंगिक क्लब, संस्था तथा युनियनमाथि प्रतिबन्ध लाग्नेछ । जसले समलिंगी विवाह गर्छ, उसमाथि १४ वर्ष कैदसम्मको सजाय हुन सक्छ ।
एनडब्ल्युएफएलको वार्षिक बैठकलाई सम्बोधन गर्दै ओनेदिनले भने, ‘समलिंगी महिलालाई अब नाइजेरियाली टोलीमा स्थान मिल्नेछैन, जोविरुद्ध यस्तो सबुत भेटिन्छ, उसलाई टिमबाट बाहिर फालिन्छ ।’ (एजेन्सी)

प्रतिक्रिया