वृद्धवृद्धा र अपांगलाई अस्पतालमा छुट्टै सेवा

Helth Ministryकाठमाडौं : सरकारले आठवटा अस्पतालमा वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई छुट्टै विशेषज्ञ ओपिडी सेवा उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वृद्धवृद्धा एवं अपांगले सहज उपचार पाउन् भनेर आठवटा अस्पतालमा ‘ज्येष्ठ नागरिक एवं अपांगता विशेषज्ञ ओपिडी’ स्थापना गर्न लागेको हो । सरकारी अस्पतालहरूले प्रदान गर्ने सेवा वृद्धवृद्धा एवं अपांग व्यक्तिका लागि प्रभावकारी नदेखिएपछि मन्त्रालयले सामाजिक सेवा कार्यक्रमअन्तर्गत यस्तो अवधारणा ल्याएको जनसंख्या महाशाखा प्रमुख डा. बद्री पोखरेलले बताए । डा. पोखरेलले महाशाखाले यससम्बन्धी निर्देशिका तयार पारिसकेको उल्लेख गर्दै केही महिनाभित्रै तोकिएका अस्पतालमा यस्ता युनिट स्थापना भइसक्ने बताए ।
उनका अनुसार मन्त्रालयले पहिलो चरणमा केन्द्रीय र क्षेत्रीय अस्पतालबाट यस्तो सेवा दिने तयारी गरेको छ । जसअन्र्तगत केन्द्रको वीर, प्रसूतिगृह र कान्ति बाल अस्पतालमा यस्तो युनिट स्थापना गरिनेछ । ती अस्पतालले सुरुमा युनिट स्थापनाका लागि एकमुष्ट १२ लाख र वार्षिक सञ्चालन खर्चस्वरूप ६ लाख थप पाउने डा. पोखरेलले बताए ।
महाशाखाका अनुसार काठमाडौंबाहिर कोसी अञ्चल अस्पताल, भरतपुर, पोखरा, बाँके र धनगढी अस्पतालमा यस्तो ओपिडी सेवा सञ्चालन हुनेछ । कान्ति बाल अस्पतालको ओपिडी अपांगता भएका बालबालिकाका लागि हुने उनले बताए । यस्तो सेवा विपन्न समुदायका लागि यस्तो सेवा नि:शुल्क हुनेछ । उनले त्यस्ता नागरिकलाई अस्पतालबाहेकका उपचारका लागि बिरामीको अवस्था हेरेर १० हजारसम्म आर्थिक सहयोगसमेत दिइने जानकारी दिए ।
सरकारले वृद्ध र बालबालिकाका लागि अन्य उपचारमा समेत सहुलियत दिँदै आएको छ । सरकारले ७५ वर्षमाथिका नागरिकलाई नि:शुल्क मुटुको भल्ब र मिर्गौलाको डाइलोसिस सेवा नि:शुल्क उपलब्ध गराउँदै आएको छ । ईश्वर सापकोटा/प्रशिक्षार्थी

प्रतिक्रिया