सिरहा, २६ फागुन । जिल्ला विकास समिति सिरहाका कर्मचारीको मिलेमतोमा बन्दै नबनेको पुल कागजमा बनेको देखाएर ३३ लाख रुपियाँ झ्वाम पारेको पाइएको छ । गत साता सम्पन्न जिविस सिरहाको जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी विजयराज सुवेदीले झोलुंगे पुल निर्माणमा ३३ लाख बजेट व्यय भएको फाँटबारी पेस गरेपछि राजनीतिक दलहरूका प्रतिनिधि र पत्रकार झस्किएका थिए ।
आर्थिक वर्ष ०६८/६९ मा मझौरा गाविसस्थित कल्याणदेही नदी र जानकीनगरस्थित डोरा नदीमा झोलुंगे पुल निर्माणका लागि ३३ लाख रुपियाँ विनियोजन गरिएको थियो । बजेट जति सबै निकासा भएको र पुल निर्माण सम्पन्न भएको जिविस सिरहाको प्रगति अभिलेखमा उल्लेख छ । तर, नदी किनारमा पुलका लागि निर्माण सुरु गरिएको पिलर पनि अधुरै छ ।
८ महिनादेखि दुवै नदीमा निर्माणकार्य रोकिएको छ । तर, जिविस सिरहाले उक्त दुवै पुलको निर्माणकार्य सम्पन्न भइसकेको भनी सम्पूर्ण रकम निकासा गरेको र पुल निर्माण सम्पन्न भएको प्रगति प्रतिवेदन पनि सार्वजनिक गरेको छ । जानकीनगरका अनरुद्ध साहले डोरा नदीमा झोलुंगे पुल निर्माणका लागि अधुरो पिलर बनाएको आठ महिना बितिसक्दा पनि थप काम सुरु हुन नसकेको बताए ।
मझौराका राजकुमार महतो भन्छन्, ‘कल्याणदेही नदीमा पनि पुल निर्माणकार्य रोकिएको झन्डै वर्ष दिन भयो । पुलका सामान थन्क्याइएकै स्थानमा खिया लागेर बर्बाद भइसक्यो ।’ थप कार्य सुरु हुन नसक्दा मझौरा र जानकीनगरवासी चिन्तित बनेका छन् ।
ढाकछोपको प्रयास
सञ्चारमाध्यमहरूमा झोलुंगे पुल निर्माणमा अनियमितता भएको समाचार आएपछि जिविस सिरहाले भने त्यसलाई ढाकछोप गर्ने प्रयत्न गरेको छ । जिविस सिरहाले केही पत्रकारलाई भत्ता उपलब्ध गराएर स्थलगत निरीक्षण गराएको र पुल निर्माणकार्य अन्तिम चरणमा भन्ने प्रायोजित रूपमा समाचार प्रकाशित गराएको छ । बन्दै नबनेको पुल बनेको भनेर पत्र पत्रिकामा समाचार आएपछि स्थानीय बासिन्दा भने क्रुद्ध बनेका छन् ।
मझौराका धनराज यादव भन्छन्, ‘पत्रकार पनि भ्रष्ट भए । बन्दै नबनेको पुललाई निर्माणकार्य अन्तिम चरणमा पुगेको भनेर समाचार दिनु सूचना बेचेर होइन, नैतिकता बेचेर खानु हो ।’ उनले पत्रकारलाई चुनौती दिँदै भने, ‘पुल बनेको हो भने तस्बिर छापेर देखाउनुस् ।’ जानकीनगर र मझौराका स्थानीय जनताले पुल निर्माणमा भएको अनियमितताबारे अख्तियारले छानबिन गर्नुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया