श्रीमती समझदार छिन्

Dayahang-Raiबुबाआमाको कान्छो छोरो म । बुबाआमा, दाइ, दुई बहिनी, श्रीमती र भर्खर जन्मेको एउटा बच्चा अहिले मेरा परिवारका सदस्य हुन् । कलकलाकारिताप्रति परिवारको सकारात्मक सोच पहिले पनि थियो र अहिले पनि छ । म कलाकारिताको उचाइमा आइपुग्नुका पछाडि धेरै कारण छन् तीमध्ये परिवारको साथ र सहयोग पनि एक हो ।
परिवारको सबैभन्दा ठूलो सपोर्ट मेरो काममा छ । उहाँले मैले गरेका कामप्रति सधैँ सपोर्ट गर्नुहुन्छ । सुरुवातको समयदेखि अहिलेसम्म यसमा नलाग्न परिवारबाट दबाब आएको छैन । जुन क्षेत्रमा लागे पनि निरन्तरता दिनुपर्छ सफल भइन्छ अग्रजले मलाई भन्ने गर्छन् । कलाकारिताकै सुरुका समय म यो क्षेत्रमा सफल हुने हो कि होइन भन्ने उहाँहरूलाई चिन्ता थियो । मेरो कलाकारिताका सफल यात्रासँगै उहाहरूको यो चिन्ता हराउँदै गएको छ । परिवारको कान्छो छोरो भएकाले सबैको माया पाएर हुर्किएको हुँ । परिवारलाई सहयोग गर्ने बानी भने मेरो बच्चैदेखि थियो ।
बाबा(टीकाराम राई) र आमा (चन्द्रदेवी राई) को छोराछोरीलाई हर्ने दृष्टिकोण साँच्चिकै फराकिलो छ । बाबाआमाको फरासिलो सोचाइले होला साँघुरो बस्तीमा हुर्किएँ । म आफ्नो स्थान आफैँले बनाउन सफल छु । दु:ख यही कुरामा लाग्छ– बुबाआमाले मैले अभिनय गरेका सबै चलचित्र हेर्न पाउनुभएको छैन । त्यसो त आफैँले अभिनय गरेका सबै चलचित्र हेर्न नपाएका बेला बुबाआमाले हेरून् कसरी । उहाँहरूले त लुट पनि हेर्नुभएको छैन । तर, यस चलचित्रबाट अभिनयमा मैले धेरै सफलता पाएँ भन्नेचाहिँ थाहा छ ।
चलचित्र लुट हेर्न उहाँहरूको चाहाना भएको थाहा पाएको छु तर देखाउने अवसर मिलेको छैन । उहाँहरू मेरो जन्म गाउँ भोजपुरमै भएर पनि चलचित्र देखाउन नपाएको हुँ । रेडियो, पत्रपत्रिकामा मेरा समाचार आउँदा फोन गर्नुहुन्छ र भन्नुहुन्छ– तेरो समाचार सबै थाहा छ । मैले जति नै सफलता हात पारे पनि उहाँहरू भन्नुहुन्छ– अझै धेरै गर्नु छ ।
एउटा दाइ हुनुहुन्छ । मेरो सोच र कामको उहाँ सम्मान गर्नुहुन्छ । ‘जुन काममा लागेको छ त्यही कामलाई निरन्तरता दिनू, एक दिन लक्ष्यमा पुगिन्छ’ उहाँले दिने सल्लाह हो यो । राई जाति आफैँ कलाकारिता र आर्टले भरिएको जाति हो । त्यसैले हाम्रा हरेक संस्कृति कलासँग कहीँ न कहीँ जोडिएको छ । सायद यसैका कारण होला परिवारका सबै सदस्यले कलालाई पूजा गर्छन् तर यसलाई जीवन ठानेको जस्तो मलाई लाग्दैन ।
मेरी जीवन संगिनी अर्थात् श्रीमतीको नाम बेनुका हो । उनी साह्रै समाझदार छिन् । उनी पनि कलाकारितामा नै छिन् । यसमा मेरो सपोर्ट उनलाई त्यति नभए पनि उनको सपोर्ट मलाई धेरै छ । हामी दुवैले कलाकारितालाई जीवनको एउटा पाटोका रूपमा लिएका छौँ । कलाकारिताविना हामीलाई दिन काट्न गाह्रो पर्छ । मेरो बुझाइमा कलाकारिता नै मानिसको वास्तविक जीवन हो ।
घरभित्रको काममा म भरपुर सहयोग गर्छु । खाना बनाउनेदेखि घर सरसफाइसम्मको काम गर्दा आनन्द महसुस हुन्छ मलाई । पछिल्लो समयमा म चलचित्र र थिएटर दुवैमा व्यस्त भएका कारणले घरमा समय दिन पाएको छैन । चलचित्रमा व्यस्त भइयो भने घरपरिवारमा समय दिन गाह्रो हुँदोरहेछ ।
थिएटरको अभिनय प्रशिक्षण र चलचित्रको अभिनय परीक्षाजस्तो लाग्छ । यस कारण पनि दुवैलाई अगाडि बढाइरहेको छु । थिएटरमा नाटकको निर्देशनसमेत गर्छु भने चलचित्रमा अभिनय मात्र । पछि गएर चलचित्र निर्देशन गर्ने सोच छ । म यो स्थानमा आइपुग्न सफल हुनुको पछाडि परिवारको पनि हात छ । यही भन्न चाहान्छु । मेरा लागि परिवार सबै थोक हो ।

प्रस्तुति : विशाल राई

प्रतिक्रिया