मुसुरोमा लाहीको प्रकोप

सप्तरी : नगदे बालीका रूपमा लगाइएको मुसुरो खेतीमा लाही किराको प्रकोप बढेपछि सिरहा र सप्तरीका किसान चिन्तित बनेका छन् ।

केही दिनअघि भएको वर्षासँगै मुसुरो दालमा लाही किराको सुहाउँदो वातावरण सिर्जना भएकाले सप्तरी र सिरहामा सो किराको प्रकोप बढेको हो । बाली भित्र्याउने समयमा आएर मुसुरो खेतीमा लागको लाही किराले लगानी र परिश्रम दुवै सखाप गर्न लागेको भन्दै कृषकहरू चिन्तामा परेका हुन् ।
मिहिनेत गरेर लगाएको मुसुरो खेतीमा लाही किराले बोटलाई समाप्त पार्न लागे पनि अहिलेसम्म आफूहरूलाई यस विषयमा थाहा नभएको बताउँदै सप्तरीको पन्सेरा गाविसस्थित राजाजी कृषक समूहका अध्यक्ष सबुरलाल चौधरीले भने, ‘मुसुरो दालमा पनि लाही किरा लाग्दो रहेछ भने थाहै थिएन्, अहिले बल्ल थाहा पायौँ कि मुसुरो खेतीमा समेत लाही किरा लाग्दो रहेछ ।’
चौधरीका अनुसार यसले हाम्रो लगानी र परिश्रम दुवैलाई समाप्त पार्ने छ । यसलाई कसरी नियन्त्रण गर्ने प्राविधिक ज्ञानसमेत आफूसँग नभएको उनले बताए । झट्ट हेर्दा केही पनि नदेखिने तर विरुवामा प्रशस्त लाही किरा लागेकोले मुसुरो समाप्त नै हुन लागेको दुखेसो सुनाउँदै सिरहा असनपुरस्थित सगरमाथा वहुद्देश्यीय कृषक समूहका अध्यक्ष मुक्तिनारायण यादवले मुसुरोमा लाही किरा लागेको देखेर आफू चिन्तामा परेको बताए ।
खेतमा मुसुरोको विरुवाको रङ हरियो हुने र मुसुरोमा लाग्ने लाही किराको रङ पनि हरियो हुने भएकाले झ्वाट्ट हेर्दा लाही किरा लागेको थाहा पाउन गार्‍हो हुने भएकाले नियन्त्रण गर्नसमेत समस्या हुने गरेको कृषकहरू बताउँछन् ।
लाही किरा लागेको लक्षण थाहा पाउन विरुवाको टुप्पाको वृद्धि विकास रोकिएको, फूलहरू सुकेर मरेको जस्तो देखिने, कोसाहरूमा दाना पुष्ट नदेखिने हुन्छ । लाही किरा लागेको कुरा थाहा पाउन एक हात थापेर अर्को हातले मुसुरोको विरुवा टक्टक्यायो भने हत्केलामा लाही किरा प्रशस्त मात्रामा झर्छ र मुसुरोमा लाही किरा कति लागेको छ भने कुराको अनुमान लगाउन सकिने फरवार्ड नेपालका कृषि प्राविधिक टंकप्रसाद आचार्यले बताउँछन् । ‘सुरुमा त मसुरोमा किरा लागेको थाहै हुँदैन’ विरुवालाई छामेर हेर्दा मात्र थाहा हुँदो रहेछ कृषि प्राविधिक आचार्य भन्छन्, ‘कृषकहरूलाई पहिचान गर्ने गाह्रो हुने लाही किराले कृषकलाई चिन्तामा डुबाएको छ ।’ (सौस)

प्रतिक्रिया