फरार प्रहरी जवान पुनः प्रक्राउ

prazaaदोलखा, २४ फागुन । दुई साता अघि चोरी अभियोगमा पक्राउ पछि हिरासतबाटै फरार रहेका प्रहरी जवान खेमराज प्रजा पर्सामा पुनः पक्राउ परेका छन् ।
दोलखा जिल्लामा भएका श्रृंखलाबद्ध चोरीका घटनाहरुमा संलग्न रहेको आशंकामा प्रहरीले हिरासतमा लिएपनि प्रहरी जवान प्रजा हिरासत कक्षको भेन्टिलेटर फोडेर फरार भएका थिए । अभियुक्त प्रजाको खोजीका लागि जिल्लाका विभिन्न नाकाहरुमा प्रहरी टोली खटाइएको थियो । पर्सा जिल्लाको ठोरीमा लुकेर बसेको अबस्थामा प्रहरीको विशेष टोलीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो । उनलाई बुधबार नै अनुसन्धानका लागि दोलखा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गएको ७ गते प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको निवास सुरक्षार्थ खटिएका प्रजाको कोठाबाट एक ट्रक चोरीका सामान बरामत गरिएपछि अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको थियो । चोरी अभियोगमा पक्राउ परेका प्रजाकी श्रीमतीलाई समेत प्रहरीले एक हप्ता अगाडि हेटौडाबाट ठूलो परिणाममा चोरीका सामानसहित पक्राउ गरिएको थियो । प्रहरीले प्रजाका भतिजालाई समेत अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

प्रतिक्रिया