आमाको स्मृतिमा पुस्तकालय

बाबियाचौर : बाँसखर्क– ६ का दलबहादुर पुनले बाँसखर्कस्थित ज्योति मण्डल माविमा आफ्नी आमाको सम्झनामा लाखौँ खर्च गरेर पुस्तकालय र सङ्ग्रहालय स्थापना गरेका छन् । पुनले आफ्नी आमा स्वर्गीय दुदिमाया पुनको स्मृतिमा ‘दुमा’ पुस्तकालय र सङ्ग्रहालय स्थापना गरेका हुन् ।
पुस्तकालय र सङ्ग्रहालय स्थापना गर्न पुनले व्यक्तिगत लगानीमा दुई कोठे पक्की भवन निर्माण गराएका छन् । पुनको चार लाख ७८ हजार पाँच सय रुपियाँ लगानीमा पुस्तकालय र सङ्ग्रहालय स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर पुनले जानकारी दिए । पुस्तकालयमा पुनले विभिन्न विधाका ५ सयभन्दा बढी पुस्तकसमेत उपलब्ध गराएका छन् ।
सङ्ग्रहालयमा स्थानीय संस्कृति, जनजीवन, रहनसहन, शैक्षिक, आर्थिक र सामाजिक अवस्था झल्काउने लोपोन्मुख सामाग्री सङ्ग्रह गरिने विद्यालयले जनाएको छ । विद्यालयले पुनलाई एक कार्यक्रमको आयोजना गरी मंगलबार सम्मानसमेत गरेको छ ।

प्रतिक्रिया