सिँचाइ नहरमा अतिक्रमण बढ्दो

इटहरी, २४ फागुन । सुनसरी र मोरङ जिल्लाको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउनका लागि कोसी नदीबाट निर्माण गरिएको सिँचाइ आयोजनाको मूल नहर तथा शाखा नहरहरूमा बढ्दो अतिक्रमणसँगै घरटहरा बनाउने कार्य अझै रोकिएको छैन । सुनसरीको बराहक्षेत्र गाविसको चतरादेखि मोरङ जिल्लाको बाहुनी गाविस पूर्वसम्म ५३ किलोमिटर लामो नहरको क्षेत्रमा जथाभावी सुकुम्बासीका नाममा घर–टहरा बनाएर बाक्लो बस्ती बसेका कारण नहरमा प्रत्येक वर्ष आउने बालुवा निकाल्नसमेत समस्या पर्ने गरेको छ ।

आयोजनाका प्रमुख गिरिजाप्रसाद कर्णका अनुसार अतिक्रमणका कारण आयोजनाले समयमा नै मर्मत गर्न नसक्दा किसानको खेतीमा पर्याप्त पानी प्रवाहमा पनि समस्या पर्दै आएको छ । झन्डै पाँच हजार घर–टहरा मुख्य नहर र शाखा नहरका दुवैतिरका डिलहरूमा बनाइसकिएको छ । नहरको दुवैतिरको जमिन अतिक्रणले नहर मर्मतमा अप्ठ्यारो, किसानका खेतमा पानी सहज आपूर्तिमा समस्या तथा विद्युत् चोरीको बढ्दो कारणले अरू धेरै समस्या थपिएको पनि आयोजनाका प्रमुख कर्णले बताए । दुवै जिल्लाको करिब एक लाख बिघा जमिनमा सिँचाइ सुविधा दिँदै आएको आयोजनाको कमान्ड क्षेत्रमा बसोवास गर्दै आएका दुई लाख मानिसले समयमा नै सिँचाइ सुविधा पाएकाले खेतीबाट राम्रो आम्दानी लिने कार्य गरिरहेको भए पनि पछिल्लो समयमा भने नहर अतिक्रमणका कारणले आयोजनाले धेरै समस्यासँग जुध्न बाध्य हुनु परेको आयोजना प्रमुख कर्णको भनाइ रहेको छ ।
विशेषगरी सुनसरीको झुम्का, खनार तथा मोरङ जिल्लाको सिसबनी बडहरा, नेताचोक क्षेत्रको मूल नहरमा बढी अतिक्रमण भएको र त्यस ठाउँमा बजार नै बनेकाले ती ठाउँका बस्ती हटाउनका लागि प्रशासन वा सरकारले नै पहल गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अर्बौं लगानीमा निर्माण भएको सुनसरी–मोरङ सिँचाइ आयोजनाको मूल नहरमात्र होइन अन्य शाखा नहरहरूमा पनि व्यापक रूपमा अतिक्रमण बढिरहेको छ ।

प्रतिक्रिया