अभिनेता कार्की सगरमाथा चढ्ने

Kakarkiकाठमाडौं : अभिनेता अर्जुन कार्कीले सगरमाथामा कलाकार संघको झन्डा फहराउने भएका छन् । काठमाडौंको पशुपतिनाथदेखि पैदल हिँडेर सगरमाथा चढ्ने तयारी उनको छ । कार्कीले पशुपतिनाथको पवित्र जलले भरिएको घडा, राष्ट्रिय झन्डा र चलचित्र कलाकार संघको झन्डा बोकेर आमामी चैत्र ५ गतेबाट सगरमाथाको आरोहण थाल्ने भएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा आरोही कार्कीलाई कलाकार संघका अध्यक्ष नवल खड्काले संघको झन्डा हस्तान्तरण गरे ।
आरोही अर्जुनले सगरमाथा आरोहणका लागि आफूलाई ४० लाख लागत लाग्ने बताउँदै सबै पक्षबाट सहयोगको अपेक्षा गरेको बताए । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्माता प्रदीप उदय, कलाकार कृष्ण मल्ल, निर्माता अशोक शर्मा, कलाकार संघका निवर्तमान अध्यक्ष रमेश बुढाथोकीलगायतले कार्कीलाई शुभकामना दिएका थिए । अभिनेता कार्कीले विश्व कीर्तिमान कायम गर्ने उद्देश्यका साथ सगरमाथा चढ्न लागेको बताए । उनको आरोहण टोलीमा ३५ जना रहनेछन् । अर्जुन ‘बाल शोषण, महिला हिंसा, यौन दुराचारले कलंकित भो मानव जाति यसलाई रोकौँ सद्व्यवहारले’ भन्ने नारा बोकेर सगरमाथा चढ्न लागेका हुन् । चलचित्र ‘दिदीभाइ’मार्फत नेपाली रजतपटमा नायकको रूपमा देखिएका अर्जुनले लगभग डेढ दर्जन चलचित्र अभिनय गरेका छन् भने एक चलचित्र निर्माण पनि गरेका छन् । कार्की मार्सल आर्ट र रेसलिङका खेलाडीसमेत हुन् । (सौस)

प्रतिक्रिया