बोनस दर घोषणा गर्दै जीवन बिमा कम्पनी

काठमाडौं, २२ फागुन । बिमा ऐन ०४९ अनुसार हरेक तीन वर्षमा अनिवार्य रूपमा गर्नुपर्ने बिमांकीय मूल्यांकन (एक्चुरियल भ्यालुएसन) जीवन बिमा कम्पनीहरूले हरेक वर्ष गर्न थालेका छन् ।

तीन वर्षमा एकपटक मात्र मूल्यांकन गर्दा कम्पनीको नाफा–नोक्सान हिसाबमा ठूलो उतारचढाव देखिएपछि बिमा कम्पनीले वार्षिक रूपमा मूल्यांकन गर्न उत्सुक भएका हुन् । बिमा समितिका एक अधिकारीका अनुसार प्राय: बिमांकीय मूल्यांकन गरेको वर्ष संस्थाको मुनाफा उच्च देखिने हुँदा कम्पनीहरूले हरेक वर्ष नै मूल्यांकन गराउन बिमा समितिसँग अनुमति मागेका हुन् ।
बिमा समितिका अनुसार बिमा ऐन ०४९ बमोजिम प्रत्येक तीन वर्षमा मात्र मूल्यांकन गरे पुग्ने भए पनि समितिमा निवेदन दिएर वार्षिक रूपमा पनि मूल्यांकन गर्न सकिने निर्देशन जारी भइसकेको छ । ऐनमै व्यवस्था भएको हुँदा त्यसलाई परिवर्तन गर्न बिमा समितिलाई अप्ठ्यारो भए पनि वार्षिक रूपमा मूल्यांकन गरिसकेका कम्पनीहरूले भने पुन: त्रिवर्षीय मूल्यांकन गर्न नमिल्ने गरी निर्देशन जारी गरिएको उनले बताए ।
सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानसहित नौ जीवन बिमा कम्पनी भएकोमा दुई कम्पनीले वार्षिक मूल्यांंकन गरी बिमितलाई बोनस दरसमेत घोषणा गरिसकेका छन् । प्राइम लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०६७/६८ को बिमांकीय मूल्यांकन गराइसकेका छन् भने केही तयारीमा छन् । अन्तर्राष्ट्रिय जगतमा वार्षिक रूपमा बिमांकीय मूल्यांकन गरेर वार्षिक बोनस बाँड्ने गरिन्छ । समितिका अध्यक्ष प्राडा फत्तेबहादुर केसीले वार्षिक बिमांकीय मूल्यांकन गर्न सबै कम्पनी तयार भएको र सोही अनुरूप प्रक्रिया अघि बढिरहेको बताए ।
बिमा समिति सञ्चालक समितिले बिमा कम्पनीहरूले वार्षिक मूल्यांकनको प्रस्ताव ल्याए स्वीकृति दिने निर्णय गरेको थियो । ऐनमा वार्षिक रूपमा गर्ने भन्ने नभएकाले सम्बन्धित बिमा कम्पनीले अनुरोध गर्ने र समितिले स्वीकृति प्रदान गर्ने नीति लिइएको अध्यक्ष केसीले बताए । वार्षिक मूल्यांकनको सिधा फाइदा भने बिमित र कम्पनीमा लगानी गर्ने सेयरधनीहरूलाई हुने देखिन्छ । कम्पनीको वार्षिक मूल्यांकन हुँदा वास्तविक स्थिति कस्तो छ भन्ने कुराका लागि पनि लामो समय कुरिरहनुपर्दैन । एक लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले वार्षिक रूपमा बिमांकीय मूल्यांकन सुरु गरिनु बिमा क्षेत्रकै लागि राम्रो भएको बताए । ‘तीन वर्षसम्म कुनै कम्पनीको मूल्यांकन गर्दा कम्तीमा पाँच वर्ष समय कुनुपथ्र्यो’, उनले भने । हरेक आव सकिएसँगै बिमांकीय मूल्यांकनको काम सुरु हुने भएकाले कम्पनीको वास्तविक स्थिति छिट्टै थाहा हुन्छ ।

प्रतिक्रिया