व्यापार मेलामा विरोधका कार्यक्रम नगर्न महासंघको आग्रह

काठमाडौं, २१ फागुन । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न राजनीतिक दलहरूले आयोजना गर्ने भन्दै आएको बन्द हड्तालका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । विशेषगरी महासंघको आयोजनामा यही फागुन २५ देखि २९ गतेसम्म काठमाडौंमा हुन लागेको दोस्रो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाका आसपासमा आएका यस्ता खबरबाट महासंघ चिन्तित बनेको विज्ञप्तीमा उल्लेख छ ।

महासंघले दैनिक कमाइ गरी जीवनयापन गर्नुपर्नेदेखि आम मानिसमा असर पार्ने बन्दलगायतका गतिविधि कहीकतैबाट हुन नहुने सम्बन्धमा बारम्बार आग्रह गर्दै आएको स्मरण गराउँदै अहिलेको जटिल परिस्थितिमा कुनै पनि प्रकारको विरोधका कार्यक्रम नराख्न आग्रह गरेको छ । महासंघले आफ्नो अपिलमा भनेको छ– मेलामा नेपालका उत्पादकको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा उपलव्ध गराउनु पनि हो र यसमा विदेशबाट विदेशी खरिदकर्ता पनि ल्याउने जमर्को महासंघले गरेको छ । अन्तर्राष्ट्रिय जगतमा मुलुकको पहिचान दिलाउने यस मेलाको आयोजनाका आसपासमा राजनीतिक दलहरू र तीनका भ्रातृ संगठनहरूबाट बन्द, जुलुस, आम हड्तालजस्ता विरोधका कार्यक्रमहरू भएमा नेपालको छबीमा नै नकारात्मक असर पर्ने बताएको छ ।
महासंघले सबै राजनीतिक दलहरू समक्ष अन्तर्राष्ट्रिय मेलाका समयमा यस प्रकारका बन्द विरोधका कार्यक्रमहरू राख्दा मेला आयोजनामा ठूलो असर पर्नुका साथै अन्तर्राष्ट्रियस्तरमा समेत यसको अत्यन्त नराम्रो सन्देश जानेतर्फ पनि ध्यानाकर्षण गराएको छ ।
यस वर्षको मेलामा भारत, चीन, बंगलादेश, पाकिस्तान, भुटान, अमेरिका, जर्मन, आदि देशहरूको प्रत्यक्ष सहभागिता रहने छ भने मेलामा स्वदेशी एवं विदेशी करिब तीन सयभन्दा बढी स्टलमार्फत विभिन्न स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी हुनेछ । नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा हुने यो मेलामा छिमेकी देश भारतसहित पाकिस्तान, बंगलादेश, भुटान, अमेरिकाको सहभागिता रहने छ भने मेला अवधिभर छिमेकी देश चीन तथा जर्मनबाट ठूलो संख्यामा व्यावसायिक प्रतिनिधिमण्डलबाट मेलाको अवलोकन हुने कार्यक्रम छ । मेलाकै समयमा सार्क उद्योग वाणिज्य संघको साधारण सभाका साथै सार्क मुलुकबाट व्यापारिक प्रतिनिधिमण्डले भाग लिँदै छ ।
मेलाका अवसरमा नेपाल व्यापार रणनीति–२०१०मा पहिचान गरिएका तीन क्षेत्र अन्तर्गत १९ वटा वस्तुहरूलाई मेलामा विशेष प्रवद्र्धन गरिनेछ ।
नेपालका प्रमुख निकासीमुलक उत्पादनका रूपमा पहिचान गरिएका तीन क्षेत्र अन्तर्गतका १९ वटा वस्तुहरूमा कृषि उत्पादनतर्फ अलैँची, अदुवा, मुसुरो दाल, चिया, मह, चाउचाउ, जडीबुटी तथा सुगन्धित तेलहरू, हस्तकला तथा औद्योगिक उत्पादनतर्फ हातेकागज, चाँदीका गहना, फलाम तथा स्टीलका उत्पादनहरू, पस्मिना तथा काठका उत्पादनहरू र सेवा क्षेत्रतर्फ पर्यटन, श्रमजन्य, सूचना, स्वास्थ्य सेवा, शिक्षा, इन्जिनियरिङ, जलविद्युत् रहेका छन् ।
दोस्रो अन्तर्राष्ट्रिय व्यापार मेलामा यी वस्तुहरूको प्रवद्र्धनमा विशेष जोड दिइने छ भने सहभागी बाह्य राष्ट्रका उद्यमी व्यवसायीहरूसँग यी विषयमा विशेष छलफल, बैठक तथा भेटघाटसमेत हुने कार्यक्रम छ । मेलाको सहआयोजकमा नेपाल हस्तकला महासंघ रहेको छ भने अहिलेसम्म मोटामोटी सबै स्टल बुकिङ भइसकेका छन् ।

प्रतिक्रिया