सत्तारूढ र विपक्षी विभाजित

काठमाडौं, २१ फागुन । प्रमुख चार दलका शीर्ष नेता संवैधानिक बाधा फुकाउने र सरकार गठन एकै आदेशमा गर्ने वा फरक फरक आदेशमा गर्ने भन्नेमा विभाजित भएका छन् । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनमा एकमत भए पनि एकीकृत माओवादीलगायतका सत्तारूढ दलहरू पहिले बाधा अड्काउ फुकाउनुपर्ने पक्षमा छन् भने विपक्षी कांग्रेस र एमाले दुवै कुरा एकै पटकमा गर्नुपर्ने अडानमा छन् ।

प्रक्रियामा मतभेद देखिए पनि चारै दल २२ फागुनअगावै संवैधानिक अड्चन फुकाएर सरकार गठन गर्न भने सहमत भएका छन् । सबै विषयमा प्याकेजमै सहमति गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको प्रमुख चार दलका शीर्ष नेताहरूको बैठकमा बाधा अड्काउ फुकाएर २२ फागुनभित्रै सरकार गठन गर्ने सहमति भएको छ । बाँकी अन्य विषयमा सहमति जुटाउने कामलाई पनि निरन्तरता दिँदै २२ फागुनभित्र संवैधानिक बाधा फुकाएर सरकार गठन गर्ने सैद्धान्तिक सहमति उनीहरूले गरेका हुन् ।
प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठन गर्न यसअघि नै सहमतिमा पुगेका प्रमुख चार राजनीतिक शक्ति एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच नागरिकता, शान्ति प्रक्रियासँग सम्बन्धित आयोग गठन र मतदाता नामावलीलगायतका विषयमा सहमति हुन बाँकी छ । सहमतिमा पुग्न बाँकी रहेका विषयमा सहमति जुटाउँदै जाने तर संवैधानिक अड्चन फुकाउन आदेश जारी गरेर सरकार गठनका लागि बाटो खुलाएर प्रधानन्यायाधीशको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमतिमा उनीहरू पुगेका हुन् ।
सहमति हुन बाँकी रहेका नागरिकता, सत्य निरूपण तथा मेलमिलाप आयोग, समायोजनमा जाने लडाकुको दर्जा मिलानलगायतका विषयमा सहमति जुटाउँदै जाने र सबै विषयमा सहमतिको प्याकेज निर्माण गर्ने दलहरूको तयारी छ । ‘बाधा अड्काउ फुकाउने र प्रधानमन्त्री नियुक्त गर्ने आदेश एकैपटक गर्नुपर्छ’ एमाले अध्यक्ष झलनाथ खनालले सौर्यसँग भने, ‘नागरिकता, मतदाता र आयोगहरू गठनसम्बन्धी विषयमा छलफल हुँदै जान्छ तर यसै कुराले सरकार गठन अब रोक्नु हँुदैन ।’
सत्तारूढ एमाओवादी र मधेसी मोर्चा भने राष्ट्रपतिसमक्ष वर्तमान सरकारले पठाएका अध्यादेश स्वीकृत गरी पहिले बाधा अड्काउ फुकाउने अनि मात्र प्रधानन्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गर्ने पक्षमा छन् । पहिले बाधा अड्काउ फुकाएर सरकार आफ्नो संकट मात्रै टार्ने मनस्थितिमा रहेको आशंका विपक्षी दलले गरेका छन् । दुवै काम सँगसँगै गरेर सहमतिमा पुग्न सकिने उनीहरूको भनाइ छ ।
मधेसी मोर्चाका नेता महन्थ ठाकुरले भने बाधा अड्काउ फुकाएको २४ घन्टाभित्र सरकार गठन गर्ने सहमति भएको बताए । ‘सकेसम्म २२ फागुनभित्र सहमति गरिसक्ने र त्यसको २४ घन्टाभित्रै प्रधानमन्त्री नियुक्त गर्ने विषयमा छलफल भएको छ’ बैठकबाट बाहिरिएका तमलोपा अध्यक्ष ठाकुरले सञ्चारकर्मीसँग भने, ‘सहमति भएको २४ घन्टाभित्रै प्रधानन्यायाधीश खिलराज रेग्मीले प्रधानमन्त्रीको शपथ गर्नेछन् ।’
फागुन २२ भित्रै सहमति जुटाउने प्रतिबद्धता गरेका प्रमुख दलहरूबीच नागरिकता, मतदाता नामावली, सेना समायोजन, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोग निर्माणलगायतका विषयमा सहमति जुट्न सकेको छैन । प्रमुख दल सम्मिलित कार्यदलले टुंग्याउन नसकेका विषयका लागि शीर्ष नेतृत्वलाई जिम्मा दिइएको थियो । शीर्ष नेतृत्व तहमा सहमति कायम भएपछि मात्रै प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बन्ने निश्चित हुनेछ ।
यसैबीच, राजनीतिक निकासका लागि भइरहेको प्रयासबारे राष्ट्रपति डा. रामवरण यादवलाई जानकारी गराउन गएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरू सबै विषयमा सहमतिनजिक पुगेको र २४ फागुनअगावै मुलुकले निकास पाउने आश्वासन दिएर फर्केका छन् । ‘संवैधानिक अड्चन फुकाउने, सरकार गठन गर्नेलगायत सबै विषयमा सहमतिनजिक पुगिएको छ’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘छिट्टै त्यसले मूर्त रूप लिन्छ ।’

प्रतिक्रिया