सिप्रिङ खोलाबाट कम विद्युत् उत्पादन

sipringदोलखा, २० फागुन । सिप्रिङ खोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको तीन महिना बितिसक्दा पनि पूर्वअध्ययन बराबरको न्यूनतम विद्युत् समेत उत्पादन गर्न सकेको छैन ।

यो परियोजनाको क्षमता १० मेगावाट हो । यसले हिउँदको समयमा १ हजार ३ सय किलोवाट मात्रै विद्युत् उत्पादन गर्ने गरेको छ । पूर्वअध्ययन बराबरको न्यूनतम विद्युत् उत्पादन हुन नसक्दा प्राधिकरणको ग्रिडमा विद्युत् लाइन जोडिएको छैन । आयोजनाको हिउँदको सबैभन्दा सुख्खा समयमा साढे २ मेगावाट उत्पादन हुनुपर्ने भए पनि अहिले त्यसको आधा मात्र उत्पादन भइरहेको छ ।
खोलामा पानी कम भएकै कारण उत्पादन घटेको आयोजना प्रमुख प्रह्लाद चौधरी बताउँछन् । ‘लामो समयदेखि पानी परेको छैन’ उनले भने,‘ अलिअलि भएको पानी पनि अत्यधिक चिसोले जमेका कारण खोलामा पानी कम हुन सक्छ ।’ विगतको अध्ययनभन्दा पानी धेरै घटेकोमा आपैँmलाई अचम्म लागेको उनले बताए । यही अवस्था रहे उत्पादन अझ घट्न सक्ने उनको भनाइ छ ।
व्यावसायिक उत्पादन थालेपछि आयोजनाले खोलाबाट पानी छिरेको छ कि भनेर स्थलगत अध्ययन गर्दा पनि केही पत्ता नलागेको आयोजनाका कर्मचारी बताउँछन् । सिनर्जी पावर कम्पनीले निर्माण गरेको आयोजनाबाट प्राधिकरणसँग वर्षातमा ९ दशमलव ६ मेगावाट र न्यूनतम साढे दुई मेगावाट विद्युत् उत्पादन गर्ने पिपिए भएको छ । सम्झौताअनुसार विद्युत् प्राधिकरणलाई उपलब्ध गराउन नसके जरिवानासमेत तिर्नुपर्ने व्यवस्था छ । प्राधिकरणले सिंगटी लामोसाँघुसम्मको १ सय ३२ केभीको प्रसारण लाइन पूरा नगरेकाले अहिले त्यस्तो जरिवाना तिर्नु नपर्ने अधिकारीहरू बताउँछन् ।
क्षमताभन्दा कम उत्पादन भएपछि आयोजना प्रवद्र्धक र प्राधिकरणबीच छलफलसमेत भएको छ । साना विद्युत् उत्पादक संघका तर्फबाट प्रवद्र्धकले उत्पादन गरे बराबरको विद्युत् मात्र प्राधिकरणले खरिद गर्नुपर्ने विषयमा समेत छलफल भइरहेको आयोजनाका अधिकारीले बताए ।
गौरीशंकर र खारेको बीचबाट वहने सिप्रिङ खोलाबाट सो आयोजना निर्माण गरिएको हो । आयोजनाको विद्युत् गृहमा ५/५ मेगावाटका दुईवटा टर्वाइन राखिएको छ । सिंगटी सव स्टेसन पूरा नभएपछि सिप्रिङ खोलाबाट उत्पादन भएको विद्युत् माथिल्लो तामाकोसी आयोजनाको कन्ट्रक्सन पावरको रूपमा प्रयोग गर्ने प्राधिकरणले सम्झौता गरेको छ । सिप्रिङको वर्षातको विद्युत् माथिल्लो तामाकोसीमा पनि पूरै प्रयोग हुन सक्दैन । बाँकी विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत मकैबारी सव स्टेसनमा जोड्ने सम्झौता पनि भएको छ । खोलाको वहावमा आधारित सिप्रिङबाट हिउँदको समयमा एक तिहाइ मात्र विद्युत् उत्पादन हुनेछ ।
आयोजनाको गौरीशंकर ९ मूलखर्कदेखि सोही वडाको जोरखर्कसम्म सुुरुङको काम नेपाली कम्पनी हाइ हिमालयन हाइड्रोले गरेको हो । आयोजनाले लामाबगर गाविसको जगतबजारपारि गौरीशंकर गाविस–९ ताामाकोशी किनारमा विद्युत् गृह निर्माण गरेको छ ।
एक अर्ब ३२ करोड रुपियाँको लगानीमा सञ्चालित यो आयोजनामा सानिमा विकास बैंकको नेतृत्वमा ४ वटा बैंकले ऋण लगानी गरेका छन् । आयोजनाबाट प्रभावित गौरीशंकर र खारे गाविसका नागरिकलाई ५ प्रतिशत नि:शुल्क सेयर दिइएको छ ।

प्रतिक्रिया